Comments Add Comment

‘टूरिजम स्याटलाइट अकाउन्ट’ बनाउन यूएनडीपीको साथ

७ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी) बीच टूरिजम स्याटालाइट अकाउन्ट (टीएसए) निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ । यसबाहेक नेपालको दीगो पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने सहमति भएको बोर्डले जानकारी दिएको छ । टीएसए तथ्यांकसम्बन्धी एक प्रकारको सर्वमान्य ढाँचा हो ।

अहिले नेपालसँग पर्यटन तथ्यांक सम्बन्धी विश्वव्यापी मापदण्डको ढाँचा छैन । जसका कारण पर्यटनबाट नेपालले प्राप्त गरिरहेको लाभको एकिन तथ्यांक प्राप्त हुन सकिरहेको छैन । नेपाल पर्यटन बोर्ड अहिले टीएसए विकासमा लागिरहेको छ । बोर्ड र यूएनडीपीबीचको समझदारीले विश्वसनीय पर्यटकीय तथ्यांक प्राप्त हुने आधार बन्ने र त्यसका माध्यमबाट नेपाली अर्थतन्त्रमा पर्यटनको योगदानको निश्चित गर्न सकिने बोर्डले उललेख गरेको छ ।

सम्झौता अनुसार अब टीएसए विकास गर्न यूएनडीपीले नेपाल पर्यटन बोर्डलाई प्राविधिक सहयोग पुर्‍याउने भएको छ । टीएसए विकासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तथ्यांक विभाग, नेपाल राष्ट्र बैंकलगायत निकायको समेत संलग्नता रहने बोर्डले उल्लेख गरेको छ । खासगरी पर्यटक आगमनको संख्या तथ्यांक विभागबाट प्राप्त हुन्छ भने उनीहरुले नेपालमा गर्ने खर्च नेपाल राष्ट्रबैंकका माध्यमबाट प्राप्त हुन्छ ।

सोमबार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र यूएनडीपीकी नेपाल प्रतिनिधि आयशानी लाबेबीच सम्झौता भएको बोर्डले जानकारी दिएको छ । पर्यटनसम्बन्धी एकिन तथ्यांकको अभावमा अहिले यस क्षेत्रले अर्थतन्त्रमा गरिरहेको योगदानको खास तथ्यांक आउन सकिरहेको छैन । सरकारले लामो समयदेखि स्याटलाइट अकाउन्ट निर्माण गर्ने नीति लिए पनि कार्यान्वयन गर्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment