Comments Add Comment

पूर्व गर्लफ्रेन्डसँगको अन्तिम निसानी मेट्दै रणवीर कपूर

त्यसो त रणवीर कपूर सिंगल बस्दैनन् । उनी कसै न कसैसँग अफेयरमा हुन्छन् । लभ रोमान्स र डेटिङ त उनको जीवनको अभिन्न पाटो नै हो । सबैलाई थाहै छ, अहिले पनि उनी खाली हात छैनन् । आलिया भट्टसँग ‘इलु इलु’ चलिरहेकै छ ।

उनको प्रेम प्रसंग चाहि दीपिका पादुकोणसँग छँदा उत्कर्षमा पुगेको हो । दीपिकाले उनलाई कतिसम्म रुचाउँथिन् भने आफ्नो पाखुरामा ट्याटु नै खोपाएकी थिइन्, रणवीरको नाममा । हुन त त्यो ट्याटु खेरो गएन, अहिले पनि काम लाग्यो । अहिले दीपिका अर्का रणवीरसँग दाम्पत्य जीवनमा रमाइरहेकी छिन् । अर्थात रणवीर सिंहसँग । तर, उनीसँग जोडी बाँध्नुअघि चाहि रणवीर कपूरलाई प्रेम गर्थिन् ।

पछि उनीहरुको ब्रेकअप भयो । त्यही झोंकमा करण जोहरको टक शो ‘कफि विद करण’मा रणवीरबारे खरो टिप्पणी गरिन् । उनलाई सोधिएको थियो, ‘रणवीरलाई के गिफ्ट दिन चाहन्छौ ?’

दीपिकाले फ्याट्ट भनेकी थिइन्, ‘कन्डोम ।’

यो जवाफले रणवीरका पिता ऋषि कपुर निकै बिच्किएका थिए । खैर, यी वितेका कुरा भए । अब नयाँ प्रसंगतर्फ लागौं । नयाँ प्रसंग जोड्न पनि पुरानो लभस्टोरीमा चाहि र्फकनुपर्ने हुन्छ ।

जस्तो कि, यसअघि रणवीरसँग क्याटरिना कैफको प्रेम बसेको थियो । सलमान खानसँग अलग भएपछि क्याटरिनाले रणवीरलाई अंगालो हालेकी थिइन् । उनीहरुको प्रेम रोमान्सले बलिउडमा हंगामा मच्याइरह्यो । एकपटक दुवैलाई समुन्द्री किनारमा विन्दास अवस्थामा भेटिएको खबरले पनि तरंग ल्यायो ।

पछि उनीहरु विवाह गर्ने मुडमा पुगे । रणवीर र क्याटरिनाको प्रेमकथा विवाहमा रुपान्तरण हुन्छ भन्ने धेरैले अनुमान पनि गरेकै थिए । नगरोस पनि किन, क्याटरिनाकै लागि रणवीरले आफ्नो घर छाडेका थिए । एउटा अपार्टमेन्ट किनेर दुबै त्यहाँ बस्न थालेका थिए ।

क्याटरिना र रणवीरले सोही अपार्टमेन्टमा घरजाम गर्नेछन् भन्ने चर्चा व्यापक हुँदाहुँदै उनीहरुको सम्बन्ध पनि दुई चिरा पर्‍यो ।

पछिल्लो खबर के छ भने रणवीरले उक्त अपार्टमेन्ट बिक्री गरेका छन् । अर्थात आफ्नो पूर्व प्रेमिकासँगको अन्तिम निसानी मेटिदिएका छन् । रणवीरले केही महिनाअघि सो अपार्टमेन्ट बेचेका हुन् । रणवीरकी आमा नीतू कपूरले अहिले रणवीरलाई अल्टीमेटम पनि दिएको छ कि यदि उनले नयाँ अपार्टमेन्ट लिनेछन् भने आमाको अनुमति लिनुपर्नेछ ।

भनिहालौ, यतिबेला रणवीर आयन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’मा व्यस्त छन् । उक्त फिल्ममा रणवीरले आलियासँग स्क्रिन शेयर गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment