Comments Add Comment

भारतमा राहुलको हार, नेपाली कांग्रेसलाई पाठ ?

सरकार कमजोर हुँदैमा विपक्षी दल स्वतः बलियो नहुने

९ जेठ, काठमाडौं । भारतीय लोकसभाको चुनावमा विपक्षी दल कांग्रेसले सफलता हात पार्न नसकेपछि त्यो परिघटनालाई नेपाली कांग्रेस र ओली सरकारसँग जवरजस्त दाँजेर हेर्न थालिएको छ ।

ओली सरकार अलोकप्रिय बन्दै जान थालेको भनेर भित्रभित्रै खुशी मनाइरहेको नेपाली कांग्रेसले अब सोच्नुपर्ने भएको छ कि भारतमा बीजेपीको जति नै विरोध भए पनि विपक्षी दलप्रति किन जनमत बढेन ? कतै यही भवितव्य आगामी चुनावमा नेपाली कांग्रेसले पनि भोग्नुपर्ने स्थिति त आउँदैन ? यो प्रश्न स्वाभाविक छ ।

किनभने, नेपालमा ओली सरकारको लोकप्रियता घटे पनि कांग्रेसको लोकप्रियता बढेको छैन । अर्थात यसो भन्न सकिन्छ, सत्तापक्षको लोकप्रियता घट्नु नै विपक्षी दलको लोकप्रियता बढ्नु होइन रहेछ ।

राहुललाई गम्भीर धक्का

प्रारम्भिक विवरणहरु हेर्दा भारतको लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक जित हात पारेको छ । यो मोदीको जित मात्रै होइन, प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीको अहिलेसम्मकै ठूलो हार पनि हो ।

सन् २००४ मार्चमा कांग्रेसका महासचिव मनोनित भएका राहुलकै नेतृत्वमा योपटक विपक्षी गठबन्धनले चुनाव लडेको थियो । राहुललाई बहिनी प्रियंका गान्धीले समेत साथ दिएकी थिइन् ।

तर, ५ वर्ष सत्ता चलाएका मोदी भारतीय राजनीतिमा अझै बलियो बनेर आएका छन् । गठबन्धन ३५० नजिक हुँदा भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३०० सिट जित्ने सम्भावना बलियो बन्दै गएको छ । जबकि सरकार निर्माणमा बहुमतका लागि २७८ सीट पर्याप्त हुन्छ ।

राहुलको पार्टी कांग्रेस भने मात्र ५० सिटमा मात्रै अगाडि छ भने उसको नेतृत्वमा रहेको यूपीए गठबन्धनले १०० को आँकडा भेट्टाउने सम्भावना टर्दै गएको छ ।

लोकसभामा कांग्रेस चार वर्षअघिको भन्दा केही सिटले ठूलो त भएको छ तर, यो राहुलको ठूलो हार हो ।

नेपाली कांग्रेसले के सिक्ने ?

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुलले यो पटक चुनावमा नोटबन्दीदेखि मोदी सरकारका असफलताहरुलाई मुख्य एजेण्डा बनाएका थिए । उनले आफ्नै लोकप्रिय नाराहरु पनि अघि सारेका थिए । तर, राहुलको यो एजेण्डालाई भारतीय जनताले अस्वीकार गरे ।

त्यसो त अहिले नेपालमा पनि प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारका कमजोरीहरुलाई नै मुख्य अस्त्र बनाउँदैछ । ०७४ को आम चुनावमा व्यहोरेको लज्जास्पद हारपछि दबावमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले सिंगो पार्टीलाई सरकारविरुद्ध केन्द्रित गराएका छन् । तर, देउवाप्रति जनतामा कुनै आकर्षण बढ्न सकेको छैन ।

केपी ओली नेतृत्वको नेकपा सरकार जति बदनाम हुँदै जान्छ, त्यति आफ्नो पक्षमा जनमत बन्ने कांग्रेस नेतृत्वको बुझाइ देखिन्छ । तर, भारतको लोकसभा चुनावले यस्तो सोचाई र रणनीति सही सावित नहुने सन्देश प्रवाह गरेको छ ।

यो सन्देशलाई स्वीकार गर्दै नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘जनता सरकारसँग जति रिसाएका छन्, त्यति नै प्रतिपक्षसँग पनि रिसाएका छन् ।’

जनताले सरकारसँगै कांग्रेसको नेतृत्वलाई पनि हेर्ने भएकाले आगामी निर्वाचनमा जीत हासिल गर्न पार्टीलाई रुपान्तरण गर्नुपर्ने उनको जोड छ ।

परिवारवाद पनि अस्वीकृत

भारतीय कांग्रेसले यो चुनावमा राहुललाई मात्र होइन, प्रियंकालाई पनि चुनावी मोर्चामा होमेको थियो । तर, उनीहरुले मोदीको विजय रथ रोक्न सकेनन् ।

यसलाई पनि नेपालको कांग्रेससँग जोडेर हेर्न सकिन्छ । भारतको गान्धी परिवारजस्तै नेपाली कांग्रेसमा कोइराला परिवार हाबी छ । वीपीपुत्र शशांक कोइराला पार्टीको महामन्त्री छन् र उनलाई कांग्रेसको सभापतिका दावेदारका रुपमा समेत हेरिएको छ । तर, भारतको लोकसभा चुनावले पार्टीमा जति नै लोकप्रिय भए पनि जनताले परिवारवादलाई स्वीकार नगर्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment