Comments Add Comment

हत्याको धम्की दिएर फिरौती माग्ने प्रेमी-प्रेमिका पक्राउ

१० जेठ, काठमाडौं । अपरहणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका २४ वर्षीय लोकेन्द्रबहादुर शाही र २० वर्षीया रुबी ठाकुर छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ परेका दुई जना प्रेमी-प्रेमिका हुन् ।

ठाकुरको योजनामा उनका प्रेमी शाहीले काठमाडौंको बुद्धनगरका औषधी व्यवसायी सीताराम कार्कीलाई धम्क्याएका थिए । ‘शाहीले कार्कीसँग ५ लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरेर गोली हानी हत्या गर्ने धम्की दिएको उजुरी परेको थियो’, महाशाखाका एसपी केदार ढकाल भन्छन् ।

कार्कीले दिएको उजुरीको आधारमा अनुसन्धान गरेर दुवैलाई गौशालाबाट पक्राउ गरिएको ढकालको भनाइ छ ।

अनुसन्धान अधिकारीका अनुसार ठाकुरको कार्कीसँग पहिल्यैदेखि चिनजान थियो । उनले रकम हात पार्न प्रेमीलाई प्रयोग गरेकी थिइन् ।

प्रहरीले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीम कार्ड पनि बरामाद गरेको छ । थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment