Comments Add Comment

इटहरीका मेयरको अर्को चेतावनी- अब लात्तीले हान्छु !

'संकट आयो भने आवधिक निर्वाचन हुन सक्छ'

९ जेठ, इटहरी । उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी केटौले उमेरका नेता हैनन् । उनले आफैं भनिसकेका छन्- मेरो एउटा छोरो ३१ वर्षको छ, अर्को २४ वर्षको ।

करिब ३० वर्ष राजनीतिमा बिताइसकेका मेयर चौधरी गुण्डागर्दी गर्ने पृष्ठभूमिका व्यक्ति पनि हैनन् । चौधरीको विगत राजनीतिक रहँदै आएको छ । तर, अहिले उपमहानगरपाकिलाका कर्मचारी कुटेर पत्रकारलाई समेत लोपारिसकेका चौधरी बुढेसकालमा फौजदारी जोश निकाल्दै भन्छन्- पहिले हातमात्रै चलाएँ, अब लात चलाउँछु । अब लात्तैलात्ताले हान्छु ।’

आखिर मान्छे हो, आवेशमा कतिपय कमजोरीहरु हुन पनि सक्छन् । इटहरी उपमहानगरनगरपालिका कर्मचारी र एकजना पार्टी नेतालाई कुटपिट गरेकोमा आलोचना खेपिरहेका चौधरीले गल्ती पो महसुस गरे कि ? उनले क्षणिक आवेशमा आएर पो यस्तो व्यवहार देखाएका हुन् कि ? बुधबारको घटनापछि ठण्डा दिमागले सोचेर चौधरीले आफ्नो कमजोरी महसुस गर्न पनि त सक्लान् कि ?

हामीले यही मानवीय पक्षलाई विचार गर्दै बिहीबार दिउँसो मेयर चौधरीलाई सोध्यौं ‘आफ्नै कर्मचारी, पार्टी नेता र स्थानीय पत्रकारसँग तपाईको सम्बन्ध किन बिगि्रयो ? अनि यसरी हातै हाल्नु तपाईको गल्ती हो कि होइन ?’

अनलाइनखबरको अनुमान विपरीत मेयर चौधरी अझै आक्रामक रुपमा प्रस्तुत भए । कानूनको शासन रहने लोकतान्त्रिक एवं सभ्य समाजले नै नपचाउने खालको अराजनीतिक भाषामा प्रस्तुत भए मेयर चौधरी ।

युवावस्थामै भएको भए उनी आवेशमा आए भन्न सकिन्थ्यो । गुण्डागर्दीको छवि भएको भए पनि यस्तै हो भन्न सकिन्थ्यो । तर, पूर्वएमालेको जिल्ला प्रमुख भइसकेका र यसअघि १० वर्ष जनप्रतिनिधिको भूमिका निभाइसकेका यी नेताले ‘लात्ताले हान्ने’ र ‘ताजन दिने’ बाहेक तलको कुरै गरेनन् ।

उनले भ्रष्टाचार गर्ने कर्मचारीलाई लात्तले हानेरै तह लगाउने चेतावनी दिए । मेयर साहेबले अनलाइनखबरसँग भने- ‘एत्राको नियम कानून ! तिनीहरु नियम कानून मिलाएर भ्रष्टाचार गर्छन्, म लात्ताले हान्छु !’

उपमहानगरपालिकाको नेतृत्व गरिरहेका मेयर चौधरीले इटहरीका २० वटै वडाका वडाध्यक्ष, सचिव र नगरपालिकाका कर्मचारीलाई लात्तैलात्ताले हान्ने बताए । ‘इटहरी सरकार’ मा संकट आउन सक्ने र आवधिक निर्वाचनसमेत हुने सक्ने उनले बताए ।

आफूले पत्रकारलाई लोपारेको भिडियो भाइरल बनेको भन्दै चौधरीले खुशी प्रकट गरे ।

नेकपाका प्रदेश कमिटी सदस्यसमेत रहेका मेयर चौधरीले अनलाइनखबरसँग गरेको उग्रवादी कुराकानी उनकै शब्दमा-

‘भ्रष्ट कर्मचारीलाई ताजन दिने हो, अझै दिन्छु’

केको पत्रकार ? जब राँगो बम्किएर हिँड्न थाल्छ नि, माकुराको जालो सिङमा बेरिएर कहाँ पुग्छ ! यस्ता पत्रकार ! यस्ता कर्मचारी ! हामीले प्रतिगमनविरोधी आन्दोलन गरेकै हो । राजाको विरुद्ध, निरंकुशता पञ्चायतको विरुद्ध आन्दोलन गरेकै हो । अश्रुग्यास खाकै हो । लाठीमुंग्री खाकै हो । यस्ता नाथे थट् !

के चैं गर्छन् पत्रकारले ? पत्रकार मुला, जे कुरा सोध्नपर्ने हो, त्यो नसोध्ने । कार्यपालिकाको बैठकबाट निर्णय गरेर सीएफएलको भुक्तानी दियो भनेर आरोप लाउँछ वायस भएर । मैले त लोपारी नै दिएँ, भाइरल भइरहेछ त्यो भिडियो । लोपारेको हुँ पत्रकारलाई ।

एकपटक कर्मचारीले ट्याङ्करको तेल चोर्न पाउनुपर्छ भनेर आन्दोलन गरेकै हो । हामीले तेल चोर्न पाउँ भन्या हैन ? इटहरीका कर्मचारीले घुस खान पाउँ भनेको हडताल हो यो । यो हडतालको कसले समर्थन गर्छ ?

मैले हात नहाल्नु ? लात्तले दिन्छु ती भ्रष्टाचारीहरुलाई । हात नहाल्नु ? लात्तले कुट्छु । तपाई लेख्नुहोस्, अब हातले मात्रै होइन, लात्ताले हान्छ मेयरले । म थारुको छोरो हुँ, एत्राको नियम कानून ! तिनीहरु नियम कानुन मिलाएर भ्रष्टाचार गर्छन्, म लात्ताले हान्छु । भ्रष्टाचार उनीहरुले गर्ने, मैले वयान दिने ? चोरहरुलाई ! तपाईको केही भन्नु छ ? लात्तैलात्ताले दिन्छु म । २० सै वटा वार्डमा लात्तले दिन्छु वडाध्यक्ष र सचिवलाई ।

पत्रकार, त्यो २० वर्षको केटा ! मेरो छोरो ३१ वर्षको छ । कान्छो छोरो २४ वर्षको छ । लोकतन्त्र मलाई सिकाउने ? ३० वर्ष राजनीति मैले गरिसकें । लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको कुरा सिकाउने ?

जब मुलुक संकटमा हुन्छ, त्यतिखेर वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मौलिक हकका कतिपय संविधानका धारा पनि निलम्वन हुन्छन् । सुन्नुहोस् पत्रकारज्यु, त्यतिखेर आवधिक निर्वाचन, धेरै कुराहरु पनि हुन सक्छन् । यो पनि सरकारको त्यसकारण जब इटहरी सरकारमा संकट आयो, जनताको सुविधामा अवरोध भो, भ्रष्टाचार भो, त्यस्ता कर्मचारीलाई फूलमाला लाएर नगरभरि मैले रथारोहण गर्नु ? यस्तालाई ताजन दिने हो, अझै दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment