News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा सहप्राध्यापक डा. डेभिड श्रेष्ठ र निर्देशकमा सहप्राध्यापक डा. झापेन्द्र पोखरेल नियुक्त भएका छन्।
- उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङले छनोट समितिको सिफारिसका आधारमा श्रेष्ठलाई दोहोर्याउँदै पोखरेललाई निर्देशकमा नियुक्त गरेका हुन्।
- श्रेष्ठले प्रतिस्पर्धाका आधारमा फेरि काम गरेर देखाउने बताएका छन्, भने पोखरेलले प्रशासन सम्हाल्ने मौका पाएका छन्।
४ असोज, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा सहप्राध्यापक डा. डेभिड श्रेष्ठ र निर्देशकमा सहप्राध्यापक डा. झापेन्द्र पोखरेल नियुक्त भएका छन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङले शनिबार छनोट समितिको सिफारिसका आधारमा डिनमा श्रेष्ठलाई नै दोहोर्याएका हुन् भने निर्देशकमा पोखरेललाई नियुक्त गरेका हुन् ।
प्रतिष्ठानमा २०८२ भदौ ३० गते उपकुलपति नियुक्त भएका प्रा.डा. भरतराज खत्रीले असोज ३ गते डिनमा श्रेष्ठ र निर्देशकमा सह प्रा.डा. प्रेमराज पंगेनी नियुक्त गरेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा उनीहरु नियुक्त भएका थिए ।
यसअघि एमाले कोटाबाट नियुक्त पाएको आरोप खेपेका श्रेष्ठले अहिले प्रतिस्पर्धाका आधारमा फेरि नियुक्ति पाएका हुन् । निर्देशकमा भने अरु प्रतिस्पर्धीलाई पछि पार्दै झापेन्द्रले प्रतिस्ष्ठानको प्रशासन सम्हाल्ने मौका पाएका हुन् ।
बालेन नेतृत्वको सरकारले यही वैशाखमा सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश ल्याएको थियो । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेर पुरानो सरकारले नियुक्त गरेका सबै राजनीतिक नियुक्ति खारेज गरिएको थियो ।
सोही व्यवस्थाअनुसार प्रतिष्ठानमा अघिल्लो उपकुलति खत्रीसहित सबै पदाधिकारीको पद खारेज भए पछि यही असार २५ गते उपकुलपतिमा नारायणसिंह गुरुङ नियुक्त भएका हुन् । गुरुङ प्रतिष्ठानको जनरल प्राक्टिस तथा इमर्जेन्सी विभागमा कार्यरत थिए ।
गुरुङ उपकुलपतिमा नियुक्त भएर कार्यभार सम्हालेपछि प्रतिस्पर्धाका आधारमा डिन र निर्देशक नियुक्तिका लागि सूचना जारी गरेका थिए । प्रा.डा. राजेश कुमार ठाकुरथाईको संयोजकत्वमा डा. सुनिता रानाभाट सदस्य र डा. प्रमिला गिरी पौडेल सदस्य–सचिव रहेको छनोट समिति गठन भएको थियो । यो समितिले सुरुमा ६ जनाको र दोस्रो पटकमा ३ जनाको नाम छानेर क्रमसहित पठाएको थियो । त्यही समितिको सिफारिसका आधारमा डिनमा फेरि डेभिडले नियुक्ति पाएका हुन् ।
डिन पदका लागि डेभिड श्रेष्ठ, दीपक काफ्ले, फणिन्द्र प्रसाद पौडेल, मदन प्रसाद बराल, यज्ञराज सिग्देल र सुरेश थापा गरी ६ जनाको नाम समावेश गरिएको थियो ।
यसैगरी निर्देशक पदका लागि डा. झापेन्द्र पोखरेल, कमला राना मगर, दीपकराज काफ्ले, पारश अधिकारी, प्रिती आचार्य र मार्कण्ड प्रसाद बराल गरी ६ जना उम्मेदवारहरूको नाम सर्टलिस्टमा राखिएको थियो ।
स्वार्थभन्दा माथि उठेर काम गरेर देखाउँछु : श्रेष्ठ
डिनमा नियुक्त श्रेष्ठले प्रतिष्ठानमा राजनीतिक नियुक्ति हुन्छ भन्ने कुरालाई चिर्दै प्रतिस्पर्धाका आधारमा फेरि काम गरेर देखाउने मौका पाएको बताए । ‘प्रतिस्पर्धाका आधारमा फेरि एक पटक सरकारी अस्पतालको सेवालाई जनताको हितमा थप विकास गर्ने अवसर प्राप्त भएको छ,’ श्रेष्ठले भने, ‘सबै स्वार्थभन्दा माथि उठेर काम गरेर देखाउने छु ।’
उनलाई एमाले नजिकको पात्रका रुपमा चर्चा गर्ने गरिएको थियो । तर, श्रेष्ठले आफू दलीय स्वार्थभन्दा बाहिर रहेर काम गरेको र फेरि पनि प्रतिस्पर्धाका आधारमा छनोटमा परेको बताए ।
डिनमा नियुक्त श्रेष्ठ को हुन् ?
श्रेष्ठले कम उमेरमै चिकित्सा शिक्षा, शल्यक्रिया सेवा र प्रशासनिक क्षेत्रमा अनुभव बटुलेका छन् । २०४० सालमा तनहुँको शुक्लागण्डकीमा जन्मिएका श्रेष्ठले चीनको ग्वान्जी मेडिकल युनिभर्सिटीबाट सन् २००९ मा एमबीबीएस र त्यसपछि चीनकै लिओनिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१५ मा जनरल सर्जरी विषयमा स्नातकोत्तर गर्दै विशेषज्ञता प्राप्त गरेका थिए ।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जनका रूपमा २०७२ सालदेखि सेवा दिन थालेका हुन् । २०७९ साल माघ २३ गते सहायक डिन तथा परीक्षा नियन्त्रक पदमा नियुक्त भएका श्रेष्ठले २०८२ साल भदौ १ गतेदेखि २०८३ साल वैशाख १८ गतेसम्म डिनको रुपमा सेवा गरेका थिए । अहिले फेरि एकपटक डिनका रुपमा प्रतिष्ठानमा काम गर्ने मौका पाएका हुन् ।
को हुन् निर्देशक पोखरेल ?
निर्देशकमा नियुक्त डा. वरिष्ठ अर्थोपेडिक्स तथा ट्रमा सर्जन हुन् । अस्पताल निर्देशक पदका लागि उपयुक्त ठानिएका डा. पोखरेल विगत लामो समयदेखि चिकित्सा सेवा, अध्यापन, अनुसन्धान र स्वास्थ्य प्रशासनको क्षेत्रमा सक्रिय रूपमा आबद्ध थिए ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बाट सन् २०१६ मा अर्थोपेडिक्स तथा ट्रमा सर्जरीमा एमएस र त्रिभुवन विश्वविद्यालयबाट सन् २००७ मा एमबीबीएस पूरा गरेका डा. पोखरेलले विभिन्न दुर्गम क्षेत्रमा पनि सेवा गरेका थिए ।
डिसेम्बर २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको मन्त्रिपरिषद् बैठकका क्रममा उच्च तुषारो चिकित्सक (हाई–अल्टीच्युड फिजिसियन) का रूपमा समेत उनले जिम्मेवारी सम्हालेका थिए ।
सन् २०२५ मा प्रतिष्ठानमा भएको ‘हिप केयर ट्रायल’ को प्रमुख अनुसन्धानकर्ताको रूपमा समेत नेतृत्व गरेका थिए । अहिले भने उनले गण्डकी प्रदेशकै प्रमुख स्वास्थ्यको मेरुदण्ड पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपतिको जिम्मेवारीमा आइपुगेका छन् ।
प्रतिक्रिया 4