Comments Add Comment

…अनि ब्याटिङ अलराउण्डर भएँ

ब्याटिङ गर्न ब्याट समातिराख्दा होस्, बल समातेर बलिङमा तयार हुँदा होस् या फिल्डिङमा ध्यान लगाएर बस्दा खेलाडीको दिमागमा के आउँछ होला ? धेरैको मनमा यो प्रश्न आउन सक्छ ।

उत्तर एउटै छ, खेलको अवस्थाअनुसार नै सोचहरु भिन्न भिन्न आइरहेका हुन्छन् । कतिपय बेला त खेल सकाएर होटलमा पुगिसक्दा पनि खेलका क्षणले पछ्याइरहन्छन् । हारेका बेला मात्रै होइन, जितेका बेला पनि ।

एउटा खेलबाट यो कुरा सुनाउँछु ।

२०१६ को यू–१९ एसिया कपको बेला श्रीलंकासँगको खेलको क्षण पनि मेरा लागि त्यस्तै नै भयो । श्रीलंकाले २ सय २८ रनको लक्ष्य दिएको थियो । हाम्रो ओपनिङ ब्याटिङमा सन्दीप सुनार र आसिफ शेख चलेनन् । दोस्रो नम्बरमा आएर आदिल खानले ६९ बलमा ३९ रन बनाएका थिए ।

त्यसपछि भीम सार्कीको पनि राम्रो भएन । पाँचौ नम्बरमा आएर मैले ८४ रन बनाएर अन्तिम ओभरसम्म खेलिरहेको थिएँ । हामीलाई अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । एक विकेट मात्रै बाँकी थियो ।

क्रिजमा नन्दन यादव र म थियौं । त्यसअघि अभिनाश कर्णले ६४ बलमा ४० रन बनाएर राम्रो योगदान गरेका थिए । अन्तिम ओभरमा स्ट्राइकमा म टिकिरहेको भएर जित्ने आश थियो । मलाई मात्रै होइन, अरुलाई पनि ।

अन्तिम ओभरको पहिलो बल डट भयो । दोस्रो बलमा छक्का हानेँ । अब चार बलमा दुई रन बाँकी थियो । त्यस्तो अवस्थाबाट हार्ला भनेर कसले पो सोचेको थियो होला र ! मैले सोचेँ, एक रन लिँदा नन्दन आउट भयो भने हामी हारिन्छ त्यसैले बाउन्ड्री नै हान्छु । तर एलबीडब्लू आउट हुन पुगेँ, हामीले १ रनले खेल हार्‍यौं ।

त्यतिबेला राम्रो खेले पनि आफूलाई सम्हाल्न सक्ने क्षमता आएको थिएन भन्ने पछि बुझेँ । अब अर्को खेलमा त्यस्तो अवस्था आए के गर्नुपर्छ भन्ने पनि बुझेँ । त्यस्तै अप्ठ्यारो अवस्थामा डिभिजन टू मा क्यानडाविरुद्ध करण केसीले खेल जिताएको त हामी सबैलाई थाहै छ ।

अघि मैले भनेको खेलअनुसारको सोच यही नै हो । यसैले ‘खेल हो भन्न सकिन्न’ भनेर गरिने कुरा कहिले काहीँ हो जस्तो लाग्छ । भन्नै नसकिने भएपनि अवस्थाअनुसार सोचेर भने खेल्नैपर्छ ।

जितको आधार नै त्यही हो ।

****

पहिले त म फिल्डर थिएँ । गाउँघरमा दाइहरु फिल्डिङ मात्रै गराउँथे । ब्याट छुन मात्रै पाइयो भने त अहोभाग्य ।

खेल्दै जाँदा बलिङ अलराउण्डर भएँ, अहिले ब्याटिङ अलराउण्डर । यहाँसम्म कसरी अवस्था फेरियो तपाइँलाई सुनाउँछु ।

मेरो घर कञ्चनपुर महेन्द्रनगरको तिलाचौरमा क्रिकेटको माहोल मैले देखेदेखि नै थियो । दाइहरु जताजता खेल्न पुग्थे, म पनि उनीहरुको पछि लागेर त्यतै पुग्थेँ । खेल्न भने पाउँदैन थिएँ । उनीहरु खेलेको हेर्नु नै मेरो काम हुन्थ्यो । हुन त फुटबलहरु पनि खेलिन्थ्यो । मलाई भने क्रिकेट रमाइलो लाग्यो ।

अरु खेलेको हेरेर बस्दा नरमाइलो पनि लाग्थ्यो । हुँदै जाँदा विस्तारै अन्तिमतिर ब्याटिङ गर्ने र फिल्डिङ गर्ने काम पाउन थालेँ । बलिङ गर्न भने त्यो समय कहिल्यै पाइनँ । हुन त ब्याटहरु पनि पाउन सजिलो थिएन । काठहरु काटेर आफैंले मिलाएर ब्याट बनाउँथ्यौं र खेल्थ्यौं ।

यस्तै अवस्थाहरुले अहिलेसम्म पनि क्रिकेटमा मेरा लागि सबैभन्दा रमाइलो पक्ष फिल्डिङ नै हो । फिल्डिङ पनि कभरतिर, पोइन्टतिर बस्न रमाइलो लाग्छ । प्याब्सन कप क्रिकेट भनेर स्कूलस्तरीय प्रतियोगिताहरु हुन थालेपछि भने बल्लबल्ल मौका पाउन थालेँ । सानो कक्षामा भए पनि राम्रो छ भनेर सरले नै छानेपछि ड्युज बलले नै खेल्न पाएँ । त्यो बेला ७ कक्षामा पढ्थेँ ।

स्कूलबाट खेलेपछि अभ्यास पनि गर्न थालेँ । घरबाट अभ्यास गर्न जाँदा पढाइमा ध्यान दिएन भनेर घरमा कराउनु पनि हुन्थ्यो । आफूलाई भने अझ राम्रो खेल्नुपर्छ भन्ने लागिरहेको थियो ।

सुरुमा प्याब्सन कप खेलेको बेला नै चौथो नम्बरमा ब्याटिङ गर्न जाँदा ४५ बलमा १५ रन हानेको थिएँ । प्याड पनि ठूलोठूलो, खुट्टामा मिलेकै थिएन । दौडन पनि असाध्यै गाह्रो भएको थियो ।

त्यसरी पहिलो प्रतियोगिता नै झुर भएको थियो ।

त्यसपछि ८ कक्षामा हुँदा खेलेको प्याब्सन कप भने राम्रो भयो । त्यो बेला एउटा खेलमा ५१ बलमा १०१ रन हानेको थिएँ । त्यही समय म्यान अफ दि सिरिज नै भएँ । यो प्रतियोगितापछि दाइहरुले पनि राम्रो खेल्दोरहेछ भनेर देखे । अभ्यासमा बोलाए । नियमित अभ्यास गर्न थालेँ । दाइहरुले पनि राम्रो खेल्छस्, अभ्यास गर्दै जानुपर्छ भन्नुभयो । विस्तारै राम्रो हुँदै पनि गयो ।

****

उमेरसमूहका प्रतियोगिताहरु नै हाम्रो क्रिकेटको आधार हो । चाहे घरेलु प्रतिायोगितासम्म पुग्दा होस् या राष्ट्रिय टिमसम्म पुग्न । मेरो बाटो पनि त्यही नै हो । यू–१६ को क्षेत्रीय प्रतियोगिता हुन लागेको बेला एसएलसी परीक्षाका कारण मिलेन । लगतै यू–१९ को क्षेत्रीय प्रतियोगितामा अवसर पाएँ । त्यो बेला पनि राम्रो नै गरेँ । यू–१९ को क्षेत्रीय प्रतियोगिताका खेलहरुमा ७५, ६५, ४५ जति रन बनाएको थिएँ । त्यही प्रदर्शन यू–१९ को राष्ट्रिय टिमसम्म पुग्ने बाटो बन्यो ।

पहिलो पटक त क्याम्पमा परेको थिइनँ । दोस्रो पटक मात्रै परेँ । क्याम्पमा परे पनि त्यस्तो राम्रो भने भएन । क्याम्पबाट बाहिर भएँ । म किन टिममा परिनँ भनेर सोचेँ । त्यसले गर्दा मेहनत अझै बढाएँ । त्यसपछि नै २०१४ मा क्याम्पमा पनि राम्रो भएर यू–१९ राष्ट्रिय टिममा परेँ ।

यू–१९ राष्ट्रिय टिमबाट खेलेको पहिलो प्रतियोगिता २०१४ को एसीसी प्रिमियर लिग क्रिकेट हो । त्यसमा हामी अफगानिस्तानसँग मात्रै हारेका थियौं । युएई, मलेसिया, साउदी अरब र कुवेतलाई जितेका थियौं । दोस्रो भएर आउँदा पनि देशको जर्सी लगाएर खेल्दा असाध्यै खुशी लागेको थियो । हामी दोस्रो भयौं भन्ने भन्दा पनि मैले खेल देखाउन पाएँ भन्ने लागिरहेको थियो ।

यतिबेलासम्म पनि म बलिङ अलराउण्डर भनेरै चिनिएको थिएँ । मिडियम पेस बलिङ फाल्थेँ । ढाडमा चोट देखिन थालेपछि स्पिनर बनेँ ।

त्यसपछि विस्तारै ब्याटिङ अलराउण्डर भएँ । पहिले सातौं, आठौं नम्बरमा ब्याटिङ गर्ने म विस्तारै अगाडि आउँदै गएँ ।

२०१६ मा बंगलादेशमा भएको यू–१९ क्रिकेट विश्वकपको बेला नै ब्याटिङमा अझ राम्रो हुँदै गएको हो । त्यति बेला अघिल्लो क्रममा ब्याटिङ गर्ने अभ्यास गरेको थिएँ । त्यसपछि राम्रो भयो ।

****

२०१७ को मार्चमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग खेल्दा राष्ट्रिय टिममा नै स्थान बनाउन सफल भएँ । त्यो बेला काठमाडौं कीर्तिपुर मैदानमा नै खेल भएको थियो । हामी पाँच विकेटले हारेका थियौं । चौथो नम्बरमा ब्याटिङमा आएर मैले ५६ बलमा १९ रन मात्रै बनाउन सकेँ ।

नेपालमा नै भएको भएर पनि असाध्यै डर लागिरहेको थियो । खेल्न जाँदा पनि नर्भस नै भएँ । दर्शक यति धेरै थिए कि के गरौँ भनेर पहिलो बलमा नै प्रेसर भयो । त्यही भएर राम्रो हुन सकेन ।

राष्ट्रिय टिममा पुग्नुमा पनि रमाइलो पक्ष छ । २०१६ को डिसेम्बरमा यू–१९ एसिया कप खेलेर आएपछि केन्यासँग खेल्ने राष्ट्रिय टिमको लागि क्याम्प राखिएको थियो । श्रीलंकामा मेरो खेल राम्रो भएकाले राष्ट्रिय टिमको क्याम्पमा परेको थिएँ । श्रीलंकामा भएको खेल त अगाडि नै सुनाइहालेँ ।

राष्ट्रिय टिमको क्याम्पमा हुँदा पनि सुरुमा त नर्भस थिएँ । राम्ररी खेल्न सकिनँ । पारस दाइहरुले धेरै सम्झाउनुभएको थियो । तयारीका लागि भारतमा जाँदा भने राम्रो नै खेल्न सकेँ । त्यसले नै टिममा परेँ । हुन त टिममा पर्छु भनेर सोचेको पनि थिइनँ । तर मेहनतले साथ दिँदै गयो ।

राष्ट्रिय टिममा हुँदा पहिले त कसैसँग राम्ररी बोलेको पनि थिइनँ । म यसै पनि कम बोल्छु । सन्दीप, आरिफहरु पनि हुँदा क्याम्पमा भने माहोल राम्रो थियो । पारस दाइसँग पनि अलिअलि बोल्थेँ । अहिले त युवा खेलाडीहरु धेरै भएकाले कुराकानी भइरहेको हुन्छ । नबोल्ने मान्छे पनि बोल्ने भइसकेको हुन्छ ।

****

केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेपछि भने प्रेसर कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझ्दै गएँ । डिभिजन टू सम्म पुग्दा आफ्नो खेल राम्ररी बुझेँ जस्तो लाग्छ । अहिले एकदिवसीयसम्म पुग्दा हामीले सुरुदेखि गरेको मेहनत काम लागिरहेको छ जस्तो लाग्छ ।

अझ राम्रो गर्न हामीले नियमित अभ्यासको मौका पाउनुपर्छ । फिल्डिङ, ब्याटिङ, बलिङ सबैमा प्रशिक्षक राखेर हरेक सयमा खेलमा नै केन्द्रीत हुनुपर्छ । अरु एकदिवसीय टिमहरुसँग नियमित क्रिकेट खेलिरहनुपर्छ । नेपालमा नै एकदिवसीय खेलका प्रतियोगितालाई विशेष ध्यान दिएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।

हामीले इंग्ल्याण्डको लर्डस जस्तो मैदानमा खेलेर आएको भन्दै खुशी भएर बसिरहने भन्दा पनि अझ त्यस्ता ठाउँमा खेल्ने राम्रो टिम बन्न के गर्नुपर्छ भन्ने सोचेर जानुपर्छ । लर्डसमा खेलेको टी–२० पनि सम्झनलायक क्षण हो । त्यहाँ खेल्नु अलग्गै रमाइलो हुन्छ भन्ने थाहा थियो । त्यहाँ क्रिकेटको माहोल नै भिन्न थियो । मैदानदेखि हावासम्म नौलो अनुभव दिने थिए । नेपालमा त्यस्तै अनुभव कहिले पाउन सकिएला त ? प्रश्न खेलाडीदेखि दर्शकसम्मको मनमा छ ।

आश गरौँ कुनै दिन होला ।

क्रिकेट सम्झँदा नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय सिरिज पनि सधैँ याद हुने क्षण हो । त्यहो बेला हामी पहिलो सिरिज कसरी जित्ने भन्ने सोचमा थियौं । पहिलो खेल हारे पनि हामीले जित्यौं ।

पहिलो खेलमा मैले ४८ बलमा ३३ रन बनाएको थिएँ । दोस्रोमा १७ बलमा १९ रन बनाउँदा रन आउट भएँ । दोस्रो खेल १ रन जित्दा रमाइलो भएको थियो । एकदिवसीय खेलेको दोस्रो खेलमा जित्नु सानो कुरा पनि होइन । दोस्रो खेलमा ५ ओभर बलिङ गर्दा १९ रन दिएर १ विकेट पनि लिएको थिएँ ।

खेल्न जाने बेलामा अरु कुरा त मनमा केही पनि हुँदैन । बाहिर हुँदा धेरै सोचिँदैन पनि । भित्र गएपछि अवस्थाअनुसार खेल्दै जाने नै हो । कुन बलरले कस्तो गरिरहेको छ भन्ने चाहीँ बाहिर हुँदा पनि विचार गरिन्छ ।

****

मलाई धेरै राम्रो लाग्ने इनिङ २०१७ नोभेम्बरमा मलेसियामा भएको यू–१९ एसिया कपको बेला भारतलाई हराउँदा नै हो । टस हारेर पहिले ब्याटिङमा जाँदा हामीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएका थियौं । जसमा मैले १ सय १ बलमा ८८ रन बनाएको थिएँ ।

अगाडिबाट विकेट गइरहँदा आफू टिकेर खेलिरहन सकेको थिएँ । भारतलाई हामीले ४८ ओभरमा १ सय ६६ रनमा नै अलआउट गर्‍यौं । बलिङमा पनि मैले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिएको थिएँ । त्यसैले त्यो खेल सधैँ सम्झनामा रहिरहन्छ ।

२०१८ को मार्चमा विश्वकप छनोटमा पपुवा न्यूगिनीसँगको प्ले अफ खेलमा ४ ओभर २ बलमा १४ रन दिएर ४ विकेट लिग्दा पनि खुशी लागेको थियो । त्यो खेलले अगाडि बढाउन राम्रो योगदान गरेको हो जस्तो लाग्छ ।

पारस दाइले जति बेला पनि बलिङको लागि तयार बस भनेर सधैँ भन्नुहुन्थ्यो । त्यो खेलमा भने मौका नै दिनुभयो । पाएको मौकामा मैले पनि राम्रो गरेँ । रन रोक्नुपर्छ भन्ने सोचेर गर्दा विकेट पनि आएको थियो ।

ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा आफूले सक्दो मेहनत गर्नुपर्छ भन्ने हरेक खेलमा सोचिरहेको हुन्छु । त्यसैले जे अवसरमा पनि लागिपरि हाल्छु ।

****

नेपालमा क्रिकेट सुरु भएदेखि खेल्ने हरेकले नै मेहनत गरेका छन् । आजको उपलब्धीमा उहाँहरको देन छ । अब हामीले यसभन्दा अगाडि लैजान थप मेहनत गर्नैपर्छ । अहिलेको अवस्थामा खुशी छौं, यसलाई निरन्तर अगाडि बढाउने जिम्मेवारी र चुनौती पनि छ ।

नेपालको ब्याटिङमा उठिरहने प्रश्नमा हामीले पाउने अवसर र हाम्रो पिचको अवस्था नै मुख्य कुरा हो जस्तो लाग्छ । एक त हामीले धेरै खेल खेलिरहेका हुँदैनौं, अर्को हाम्रोमा हुने पिच र बाहिरको पिचमा धेरै नै फरक भइसकेको छ ।

डिभिजन फाइभदेखि एकदिवसीयसम्म पुग्दा मैदान र अन्य सुविधा के छन् त भनेर हेर्ने हो भने यस्ता धेरै प्रश्नको उत्तर पाइन्छ । अवस्था जे भए पनि हामीले कोहीभन्दा पछाडि पर्नु हुँदैन भन्ने सोचेरै मेहनत गरेका छौं ।

यसैले अब एकदिवसीय मान्यतालाई अगाडि बढाउने र टेष्ट क्रिकेट खेल्ने राष्ट्र बनाउने धोको पनि पूरा हुन्छ नै ।

क्रिकेटका कारण खुशी छु । पहिले यत्तिकै खेल्थेँ । घर जान्थेँ । गाली खान्थेँ । अहिले त सबैले राम्रो गरेको छस् भनिरहनुहुन्छ । सबै समय क्रिकेटमा नै दिइरहेको छु । अहिले घरबाट पनि अझै राम्रो गर भनिरहनुहुन्छ । क्रिकेटले हामीलाई खेल मात्रै होइन, त्यसबाहिरका नदेखिने अरु धेरै कुराहरु पनि सिकाएको छ । जसले शान्त भएर जीवन जिउन र असल मार्गमा लाग्न प्रेरित गर्छ ।

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को ३७ औँ श्रृङ्खलामा यो हप्ता राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment