Comments Add Comment

भारतमा चुनावको मैझारो, नेपालमा बहस सुरु !

नेपाल र भारतको विशेषता के मिल्छ, के मिल्दैन ?

९ जेठ, काठमाडौं । भारतीय आम चुनावमा बीजेपीको जीतसँगै नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतमा मोदीको जीतसँगै नेपालमा जबरजस्त केही प्रश्नहरु उठाउन थालिएको छ ।

भारतीय जनता पार्टीको जीतलाई लिएर नेपालमा मुख्यतः दुईवटा प्रश्नहरु उठेका/उठाइएका छन्ः

एक- भारतमा मोदीको पुनरागमनले नेपालको भावी राजनीतिमा कस्तो असर पार्ला ?

दुई- भारतीय चुनावको परिणाम नेपालका प्रमुख राजनीतिक राजनीतिक दलहरुले के-कस्तो पाठ सिक्न सक्छन् ?

आ-आफ्नै दाबी

भारतमा बीजेपीको जीत र मोदीको पुनरागमनलाई लिएर नेपालमा विभिन्न प्रकारका तर्कनाहरु प्रारम्भ भएका छन् । विभिन्न राजनीतिक विचारधाराका व्यक्तिहरुले आ-आफ्नै किसिमका दाबीहरु प्रस्तुत गर्न थालेका छन् ।

केही दाबीहरु यस्ता छन्ः

– मोदीको जीतसँगै अब नेपाल र भारतवीचको सम्बन्ध प्रगाढ बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी छ । कतिपय विश्लेषकहरु पनि मोदीको जीतले नेपाल-भारत सम्बन्ध राम्रो हुने विश्लेषण गर्छन् ।

– खासगरी नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रको पुनस्र्थापना हुनुपर्छ भन्नेहरु चाहिँ भारतमा मोदीको जीतले नेपालका कांग्रेस र कम्युनिष्टहरु अत्तालिएको दाबी गर्छन् । उनीहरु अब भारतले १२ बूँदे समझदारीको कोर्ष करेक्सन हुन सक्ने दाबीसमेत गर्छन्् ।

– भारतमा कांग्रेस आईको दुखद पराजय र दक्षिणपन्थी दलको बढोत्तरीले अब नेपालमा पनि विपक्षी नेपाली कांग्रेसको पुनरुत्थान सहज छैन भन्ने संकेत दिएको दाबी सत्तारुढ दलका नेता कार्यकर्ताहरुले गर्न थालेका छन् । र, भारतमा जस्तै नेपालमा पनि राष्ट्रवादी र संघीयताविरोधी फोर्सको भविश्य राम्रो रहेको अर्थमा छिमेकीको चुनावलाई व्याख्या गर्न थालिएको छ ।

– भारतमा नयाँ शक्तिका रुपमा लिने गरिएको केजरीवालको आम आदमी पार्टीको अवस्था दयनीय देखिएकाले नेपालमा पनि दक्षिणपन्थी शक्तिका सामु नयाँ शक्तिहरुको उदय कठीन रहेको अर्थमा पनि भारतको चुनावलाई हेर्न थालिएको छ । दिल्लीको केजरीवालको जस्तै हालत नेपालको साझा विवेकशील र संघीय माजवादीको पनि हुने त हैन ? यस्ता प्रश्नहरु पनि उठ्न थालेका छन् काठमाडौंमा ।

हाल अमेरिका भ्रमणमा रहेका बरिष्ठ पत्रकार तीर्थ कोइराला लेख्छन्- ‘अमेरिकामा निर्वाचन हुँदा ट्रम्प हार्छन्, भारतमा मोदी हार्छन् भनेर नेपालमा हावादारी विश्लेषण गर्ने र चिया पसलमा उफ्रिएर र नेपालको चुनावमा विदेश बस्नेले यो र त्योभन्दा नहुने रहेछ कि जस्तो लाग्यो । चुनावमा बाहिरी प्रशंसा र श्राप भन्दा उसको काम र मतदातामाथिको प्रभाव नै प्रमुख ठहर भो ।’

नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्दै आएका अर्का पत्रकार देवप्रकाश त्रिपाठीको चाहिँ तर्क यस्तो छ- ‘नेपाली कांग्रेस र नेकपाको नेतृत्व, जसलाई भारतीय जनता पार्टी र नरेन्द्र मोदीको सरकार ‘खहरेझैँ उर्लिएको एक चरणको भेल’ मात्रै भएको विश्वास थियो, मोदीको पुनरागमन उनीहरूको छटपटीको विषय बनेको छ ।’

त्रिपाठी अगाडि लेख्छन्- ‘आगामी दिनमा नेपालको आन्तरिक राजनीतिक अवस्था यथावत् रहने देखिँदैन । कुनै न कुनै प्रकारले यहाँको आन्तरिक राजनीतिमा परिवर्तन आउन सम्भव छ । तर, अबको परिवर्तन कम्युनिस्ट र कांग्रेेसको नेतृत्वलाई ठीक ठाउँमा ल्याउने हदसम्म मात्रै सीमित हुने हो या राजनीतिक संरचनाकै आधारभूत बदलावसम्म पुगेर टुङ्गनिे हो, त्यसको अनुमानमात्र गर्न सकिन्छ । वर्ष दिनभित्रै नेपालमा ठूलो परिवर्तन हुनेमा चाहिँ अब शंका गरिरहनुनपर्ने भएको छ ।’

केही समय पहिले फरक सन्दर्भमा अनलाइनखबरसँगको कुराकानीका क्रममा राप्रपा अध्यक्ष कमल थापाले पनि भारतको चुनावपछि नेपालको राजनीतिमा उथल-पुथल आउन सक्ने दाबी गरेका थिए । बीजेपीले एकल बहुमत पाएर मोदी दोस्रोपटक प्रधानमन्त्री बनेमा ‘१२ बुँदे समझदारीको कोर्ष करेक्सन हुन सक्ने कमल थापाले आशा गरेका हुन सक्छन् ।’

तर, हिन्दुवादी र राजावादीहरुले बीजेपीको जीतबाट उत्साह प्रकट गरिरहेका बेला सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पनि कमल थापा र देवप्रकाश त्रिपाठीहरुभन्दा कम उत्साहित देखिएका छैनन् ।

प्रधानमन्त्री ओलीले विहीबार भारतीय प्रधानमन्त्री मोदीलाई बधाई मात्रै दिएका छैनन्, मोदीको जीतले नेपाल र भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् ।

मोदी र ओलीवीचको कुराकानीपछि प्रधानमन्त्री ओलीको सचिवालयबाट जारी सूचनामा भनिएको छ- ‘आज अपरान्ह साढे बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समधुर हुँदै जाने विश्वास दुबै प्रधानमन्त्रीहरुले व्यक्त गर्नुभएको छ ।’

भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भारत सम्बन्धलाई अरु उचाईमा लैजानका लागि तपाईसँग मिलेर कामलाई निरन्तरता दिनेछु भन्ने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

नेपालमा केपी ओलीको लोकपि्रयता खस्केको भन्दै विपक्षीहरुले खुशी प्रकट गरिरहेको भए पनि भारतको चुनावले केपी ओलीको दोस्रो जीतलाई सम्भाव्य बनाएको संकेत पत्रकार कोइरालाले गर्न खोजेका छन् ।

पत्रकार त्रिपाठी र राप्रपा नेता थापाको अपेक्षामिश्रति विश्लेषणलाई पत्याउने हो भने नेपालको राजनीतिक संरचना नै भारतले उलट-पुलट पार्न सक्छ भनेर मान्नुपर्ने हुन्छ ।
तर, प्रधानमन्त्री केपी ओलीको विश्वासलाई मान्ने हो भने भारतको राजनीतिक परिणामले नेपालमा दबाव हैन, स्थायित्वलाई फाइदा पुर्‍याउनेमा ढुक्न हुनुपर्ने हुन्छ ।

हिन्दु राष्ट्र चाहनेले एक अर्थमा र कांग्रेस कम्युनिष्टले अर्कै अर्थमा गरिरहेको व्याख्यालाई हेर्दाखेरि उनीहरुको विश्लेषण वस्तुसम्मत भन्दा पनि मनोगत प्रकारको देखिन्छ ।
तथापि नेपाल-भारत सम्बन्धमा मामिलामा केही प्रश्नहरु निरुत्तरित छन् । ती निरुत्तरित प्रश्नको समाधान कसरी हुन्छ भन्ने अहिले नै ठोकुवा गर्नु हतारो हुनेछ ।

त्यस्ता निरुत्तरित प्रश्नहरु यस्ता छन्:

-भारतले अहिलेसम्म इपीजीको प्रतिवेदन सार्वजनिक गर्न तथा कार्यान्वयन गर्न मानेको छैन, यसमा अब के होला ?

-भारतीयहरुले ओली सरकार चीनतर्फ ढल्केको गुनासो गर्दै आइरहेका छन्, यसले नेपाल भारत सम्बन्धमा आगामी दिनमा कस्तो असर पार्ला ? तर, यहाँ यो पनि तर्क स्मरणीय छ कि मोदी सरकार आफैं चीनसँग राम्रो सम्बन्ध बनाउन चाहिरहेको छ ।

– भारतमा आदिवासी, अल्पसंख्यक एवं गैरहिन्दुहरुप्रति असहिष्णु मानिँदै आएको बीजेपीले अब नेपालमा पनि दक्षिणपन्थी शक्तिलाई पुठ दिन्छ या संस्थापन पक्षसँग औपचारिक सम्बन्ध राखेर अहस्तक्षेपको नीति लिन्छ ? अर्थात भारतले ओली सरकारलाई नै साथ दिन्छ या यसको विकल्पमा ‘माइक्रो म्यानेजमेन्ट’ नीति लिन्छ ? नेपालप्रति भारतले नरम नीति लिन्छ या गरम ?

– प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा सरकारले पहिलोजस्तै राष्ट्रवादी अडान लिन्छ या भारतप्रति झुकाव बढाउँदै लैजान्छ ? प्रधानमन्त्री ओलीले चीन र भारतसँग सन्तुलित भूमिका खेल्छन् या भारतको स्वार्थसँग झुक्छन् ?

मूलतः यी प्रश्नहरु अहिलेसम्म रहस्यमै छन् ।

नेपाली राजनीतिको मौलिकता

भारतमा जे भए पनि नेपालको मामिलामा यतिचाहिँ अहिले नै भन्न सकिन्छ कि भीमकाय भारतमा देखापरेको दक्षिणपन्थी धारको उदयलाई आधार मानेर नेपालमा पनि त्यस्तै हुन्छ भन्नचाहिँ सकिँदैन । किनभने, भारतमा कम्युनिष्टहरु सकिँदै जाँदा नेपालमा त्यस्तो भएन । भारतमा हिन्दुवादीहरु बलियो हुँदा नेपालका राजावादी र हिन्दुवादी पार्टीहरु खिइँदै गएका छन् ।

थोरै जनसंख्या रहेको नेपालमा क्षेत्रीय दलको उत्थान भारतमा जस्तो दुरह र जटिल विषय होइन भन्ने प्रमाण फोरम र राजपाको उपस्थितिले पनि दिएकै छ ।

त्यसर्थ, कांग्रेस र कम्युनिष्ट बाहेकका शक्तिहरुको धु्रवीकरणले राष्ट्रिय पार्टीलाई खुम्च्याउने सम्भावना भारतमा भन्दा नेपालमा बढी देखिन्छ । अर्को तथ्य के पनि छ भने भारतमा भन्दा नेपालमा छिटो-छिटो मतदाताहरुको मन परिवर्तन हुने गरेको छ । भारतमा मतदाताको मन परिवर्तन हुन १० वषर्च लाग्छ भने नेपालमा ५ वर्षमै उथल-पुथल हुँदै आएको छ ।

यो पनि पढ्नुस्ः 

भारतमा राहुलको हार, नेपाली कांग्रेसलाई पाठ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment