Comments Add Comment

नेकपाको पोलिटब्युरो बनाउन ओली र प्रचण्ड अनिच्छुक

बालुवाटारको ३ घण्टा छलफलमा निश्कर्ष निस्किएन

१० जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्व पोलिटब्यूरो कमिटी गठन गर्न अनिच्छुक देखिएको छ । अहिलेकै कमिटी ‘भारी भर्कम’ भएको र पोलिटब्यूरोमा नपर्नेहरुको असन्तुष्टि छताछुल्ल हुने देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठनमा रुची नदेखाएका हुन् ।

नेकपा स्रोतका अनुसार जेठ ३ गते नै १४७ सदस्यीय पोलिटव्यूरो घोषणा गर्ने तयारी थियो । तर, त्यसको अघिल्लो दिन बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पूर्वमाओवादीबाट दिनुपर्ने ६६ जनाको लिष्ट तत्काल बुझाउन नसक्ने बताएका थिए । उनले त्यसो भनेपछि ओलीलाई पनि पोलिटब्यूरोको एजेण्डा पन्छाउन सजिलो भएको नेकपाका एक नेताले बताए ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार पोलिटब्युरो गठन गर्नुपर्ने कुनै जरुरी अवस्था नदेखिएकाले पनि नेतृत्व अनिच्छुक देखिएको हो । पूर्वमाओवादीमा पोलिटव्यूरो सदस्य चयनमै समस्या छ । पूर्वएमालेमा साबिक ५९ जना बाहेक २३ जना नयाँ सदस्य थप्न ठूलो समस्या नभए पनि पोलिटव्यूरो गठन नगरी नहुने कुनै बाध्यता नभएको नेताहरु बताउँछन् ।

ती सचिवालय सदस्यले भने– अहिले भइरहेकै कमिटीले राम्रोसँग काम गर्न सकेका छैनन् । कम्युनिस्ट पार्टीमा कमिटीहरु कामकाजी हुनपर्ने हो । तर ४४१ सदस्यीय केन्द्रीय कमिटी र ४३ सदस्यीय स्थायी कमिटीकै बैठक बस्न सक्दैन । फेरि बीचमा अर्को पोलिटव्यूरो थपेर नदुःखेको टाउको किन दुःखाउने भन्ने कुरा पनि आएको छ ।

नेकपाका नेताहरुले हालको ९ सदस्यीय सचिवालय स्थायी कमिटी जस्तो र स्थायी कमिटी चाहिँ पोलिटब्यूरो जस्तो भएका बताउने गरेका छन् । केन्द्रीय कमिटी बिगतको राष्ट्रिय परिषद जस्तोमात्र रहेको भन्दै सचिवालयका कतिपय नेताले पोलिटब्यूरोको भारी थप्नेभन्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन चाँडो गर्न सुझाएका छन् ।

कार्यविभाजनपछि केन्द्रीय सदस्यहरुले कामको जिम्मेवारी पाउने र त्यसपछि पोलिटब्यूरोको आवश्यकता पनि नपर्ने कतिपय नेताको बुझाइ छ ।

कमिटीहरु भद्दा भएको र स्थायी कमिटी बैठक समेत ६ महिनामा एक पटक बस्न नसकेका बेला अरु कमिटी थपेर थप भद्रगोल पार्न आवश्यक नरहेको ओली र प्रचण्ड निकट नेताहरु बताउन थालेका छन् ।

प्रचण्डका लागि ६६ जना सदस्यको नाम तय गर्नै समस्या छ । रामवहादुर थापा बादलले पछिल्लो समयमा पूर्व माओवादीको कोटामा ३० प्रतिशत बढी हिस्सा दावी गर्न थालेपछि प्रचण्ड अप्ठेरोमा छन् । नारायणकाजी र बादलका मान्छे समेट्दा आफूलाई साथ दिनेहरु छुट्न थालेका छन् । त्यसैले पनि प्रचण्डले पोलिटव्यूरोको नाम दिन नसकेको स्रोत बताउँछ ।

पूर्वमाओवादीमा नारायणकाजी र बादलमात्र होइन प्रचण्ड गुटभित्रै पनि वर्षमान पुन र जनार्दन शर्माका अलग अलग सूची हुने गरेका छन् । एकता प्रक्रियामा आएका नेकपा संयुक्त तथा अन्य घटकका नेताहरुलाई समेत पूर्वमाओवादी कोटामै समेट्नुपर्ने बाध्यता प्रचण्डलाई छ । विगतमा केन्द्रीय सचिवालयमा रहेका नेताहरुलाई पोलिटव्यूरोमा समेट्ने मापदण्ड पनि काम नलागेको स्रोतले जनाएको छ ।

यता पूर्वएमालेमा साबिक पोलिटव्यूरोमा रहेका ५९ जना स्वतः समेटिने भएकाले २३ जना थप्न खासै समस्या छैन । नवौं महाधिवेशनअघि कम्तिमा दुईपटक केन्द्रीय सदस्य भइसकेका नेतालाई बरिष्ठताका आधारमा समेट्ने सहमति ओली र माधव नेपालबीच भएको छ । सोही मापदण्डबाट छान्दा ओली र नेपालका बराबरीकै संख्यामा पर्नेछन् ।

साबिक ५९ सदस्यीय पोलिटव्यूरोमा ओली निकट ३३ सदस्य छन् भने माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम निकट २४ जना छन् । यसबीचमा प्रदिप नेपाल निष्क्रिय छन् र पार्टी बैठकहरुमा जान छाडेका छन् । मुकुन्द न्यौपाने ओलीसँग अशन्तुष्ट भएर नेपाल समूहका बैठकमा भाग लिन थालेका छन् । उनीहरु दुईजनाले साथ नदिन ओलीको पक्षमा ३१ र नेपाल पक्षमा २६ सदस्य हुन्छन् ।

पोलिटव्यूरो गठन गर्नुपर्ने पक्षमा माधव नेपाल पक्षका नेताहरुको दबाब बढि छ भने ओली र प्रचण्ड हतारो गर्ने पक्षमा छैनन् । यद्यपी कार्यबिभाजन सँगै पोलिटव्यूरो पनि टुंगो लगाएर नेताहरुको मन बुझाउने कोणबाट समेत छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ । २ पटक केन्द्रीय सदस्य भइसकेकाबाट पोलिटव्यूरो बनाउँदा प्रदृेश कमिटीका कतिपय पदाधिकारी समेत छुट्ने भएकाले उनीहरुले समेत गठन नहोस भनेर लबिङ चलाएको बताइन्छ ।

ओल–प्रचण्ड छलफल

यसैबीच नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बुधवार विहान करीव तीन घण्टा पार्टी र सरकार सन्चालनका विषयमा अर्थपूर्ण छलफल भएको छ । दुई नेताबीच मात्र भएको छलफलपछि महासचिव बिष्णु पौडेललाई समेत प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । दुई अध्यक्ष र महासचिवबीचको छलफलका विषय गोप्य राखिएको छ ।

स्रोतका अनुसार बजेट आउनुअघि प्रधानमन्त्री ओलीले प्रचण्डसँग छलफल गरेका छन् । यसका साथै सरकारले राम्रा काम गर्दा पनि पार्टीको नेतृत्व पंक्तिबाटै असहयोग भएको तथा सरकार विरुद्ध सामाजिक सन्जाल र मिडियामा प्रतिपक्षी नेताभन्दा अघि सरेर सत्तारुढ दलका नेताले सरकार बिरोधी जनमत निर्माण गर्न खोजेको आरोप ओलीले लगाएका छन् ।

पछिल्लो समय प्रचण्डसहित सचिवालयका पाँचजना नेताको बैठकमा गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादललाई बोलाएर ओलीविरुद्ध मोर्चाबन्दीमा साथ दिन आग्रह गरेको सूचना बालुवाटारले तत्कालै पाएको थियो । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल,बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओली विरुद्ध अघि सार्न बादलको साथ माग्दा उनले अश्वीकार गरेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले यसबारेमा प्रचण्डसँग जानकारी मागेको समेत उनी निकट नेताहरु बताउछन् । तर प्रचण्डले यस्ता बैठकहरु चियागफमात्र हुने गरेको भन्दै पार्टीमा गुटबन्दी गर्न नचाहेको बताएका छन् । बुधवार दुई नेताबीचको छलफलबारे भने दुवै पक्षबाट कुनै जानकारी दिइएको छैन ।

महासचिव पौडेललाई समेत बोलाइएकाले केन्द्रीय सदस्यहरुको कार्य विभाजन र पार्टी एकताका बाँकी कामको बारेमा छलफल भएको हुनसक्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment