Comments Add Comment

१० महिनामा देशलाई ११ खर्ब घाटा, विलासिता वस्तु आयात मुख्य कारण

व्यापार घाटा, भारतीय चुनाव, सामाजिक अपराध, सांसदको पठन सस्कृतिलगायत विषय आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेको छ । शनिबारीय सामग्रीसहित छापिएका दैनिक पत्रिकाहरुले सहरको गरिबी, नेपाली नाम जुराउन निजी विद्यालयलाई परेको सकसमाथि पनि नजर लगाएका छन् ।

कान्तिपुरले देशको बढ्दो व्यापार घाटाबारे केलाएको छ । समाचार अनुसार, विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरता मुलुकको व्यापार घाटा वृद्धिको मुल कारण हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो । त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको समाचारमा उल्लेख छ ।

नेपाली नाम जुराउन निजी विद्यालयलाई परेको सकसबारे पनि कान्तिपुरमा सामग्री छ । कान्तिपुरका अनुसार सरकारले नेपाली नाम बनाउन नियमावली बनाएर निर्देशन दिएपछि निजी विद्यालयहरुलाई नाम जुराउनै मुस्किल परिरहेको छ ।

पाँचथरको आरुबोटे हत्याकाण्डलाई पनि कान्तिपुरले समेटेको छ । कान्तिपुरका अनुसार, हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि आफू पनि मर्छु र सबैलाई मार्छु भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

९ जनाको ज्यान जानेगरी पाँच दिनअघि पाँचथरको मिक्लाजु–३, आरुबोटेमा ९ जनाको हत्या भएको थियो ।

नयाँ पत्रिकाले संसद् लाइब्रेरी र सांसद्हरुको पठनसंस्कृतिबारे चासो राखेको छ । नयाँ पत्रिकाका अनुसार, सांसद्का लागि राजनीति, साहित्य, इतिहास, कूटनीति, कानूनलगायतका ४० हजार पुस्तक संसद् पुस्तकालयमा छ । तर सांसद्हरु अध्ययनका लागि पुस्तकालय छिर्ने गरेका छैनन् ।

पुस्तकालय नजानुको कारणबारे  नयाँ पत्रिकाले केही सांसद्सँग सोधनी गरेको छ । सबैजसोले पुस्तकालय व्यवस्थित नहुनुलाई नजानुको मुख्य कारण बताएका छन् ।

२ खर्बको सरकारी सम्पत्ति गुम्न लागेको भन्दै नागरिकले चिन्ता व्यक्त गरेको छ । नागरिकका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले ०७५ वैशाख १९ गते गरेको फैसला नसच्चिए करिब १२ सय ९८ रोपनी सरकारी जग्गा गुम्ने छ ।

सामाजिक अपराधको प्रवृत्तिसँगै भारतीय चुनावबारे पनि नागरिकले चर्चा गरेको छ ।

सहरी गरिबीबारेको पृथक विषय सरकारी मुखपत्र गोरखापत्रले उठाएको छ । सहरमा गरिबी बढेको र त्यसले विभिन्न झैझगडालगायतका समस्या सिर्जना हुन थालेको समाचारको सार छ । पर्यटकको भेषमा हुने अपराधलाई गोरखापत्रले एंकर बनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment