+
+
Shares

रास्वपाले भन्यो- सञ्चारकर्मीमाथिको धरपकड विधिको शासनको ठाडो उल्लङ्घन

पत्रकारहरू पक्राउबारे रास्वपाले नै माग्यो सरकारसँग जवाफ

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो धारणा सार्वजनिक गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २०:१७

१३ कात्तिक, काठमाडौं ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको जनाएको छ।

पार्टीले स्थापित कानुनी तथा संस्थागत प्रक्रियालाई छलेर पत्रकारलाई नियन्त्रणमा लिने कार्य कुनै पनि अर्थमा न्यायोचित हुन नसक्ने स्पष्ट पारेको छ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो धारणा सार्वजनिक गरेको हो।

पार्टीले प्रकाशित समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायहरू रहेको उल्लेख गरेको छ।

‘सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो। यस्ता कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन,’ रास्वपा प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा छ ।

रास्वपाले कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणअनुकूल हुन नसक्ने जनाएको छ।

रास्वपाका अनुसार प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात हो।

समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्मसमेत रहेको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले पत्रकारहरूलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको घटनाबारे निष्पक्ष, पारदर्शी तथा यथार्थ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

त्यस्तै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि पार्टीले जोडदार माग गरेको छ।

कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता जारी राख्न सञ्चारकर्मीहरूलाई आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता प्रकट गरेको छ।

सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने जनाएको छ।

यस्तो छ रास्वपाको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?