
म घर बाहिर निस्कँदा हतार छ भने ‘टुटल’ र ‘पठाओ’ एपमार्फत भेटिने मोटरसाइकलहरु प्रयोग गर्छु । यी दुवै ट्याक्सीको विकल्पमा आएका सस्तोमा सेवा दिने कम्पनीहरु हुन् । यो कुरा थाहा पाएपछि मेरा नजिकका मित्रहरुले भने, ‘यति साह्रो लोभी पनि हुनहुन्न । आफ्नो स्टाटसको ख्याल गर्नुपर्छ ।’ मेरो स्टाटसको ख्याल खासमा मैले नै राख्नुपर्छ । अरुको सुझाव कसरी आएको हो त्यो बुझ्ने जिम्मा पनि आफ्नै हो ।
केही अघि नेपालगञ्जबाट काठमाडौं फर्कदा मसँग ब्यागेजहरु थिएनन् । एउटा हाते झोलामा आफ्ना सबै आवश्यक सामान राखेकी थिएँ । हलुको सामग्री भएका कारण मैले ३५ रुपैयाँ बराबरको माइक्रो चढ्ने योजना बनाएँ । यति दूरी ट्याक्सीमा चढेको भए १ हजार १ सय जति लाग्ने थियो ।
एयरपोर्टबाट सातदोबाटोसम्म एउटा र सातदोबाटोबाट घरको छेऊसम्म अर्को । सातदोबाटो चोकमा आइसकेपछि ओर्लेर अर्को माइक्रोमा समात्न खोज्दा म थोरै चिप्लिएँ । यसो हेरेको मेरो कपडामा हिलो लागेको रहेछ । छेऊमा एउटा चिया पसल थियो । पानी मागेर पखाले पनि पहिले जस्तो सफा हुन सकेन । त्यही पाखालिन नसकेको लुगा लिएर बसमा चढेँ ।
बस रोकिएपछि ३–४ सय मिटर हिडेँर घर पुग्दा बाटोमा एक परिचितले सोधे, ‘कसरी लुगामा हिलो लाग्यो ?’
उनका लागि मेरो कपडामा हिलो लाग्नु असम्भव जस्तै थियो सायद ।
‘भर्खरै नेपाल गञ्जवाद आएको । हतारमा माइक्रो बस समात्न खोज्दा लडेँ ।’
मेरो उत्तर सुनेर उनले मुख खुम्चाएपछि भने, ‘तिमिलाई ट्याक्सी चढ्न किन यतिसाह्रो लोभ ? अरु केही नभए पनि आफ्नो ‘स्ट्याटसको’ त ख्याल गर । मानिसहरुले पनि के भन्दा हुन् ?’
माइक्रोबस, बस वा मोटरसाइकल चढ्दा मेरो स्ट्याटस कसरी खतम हुन्छ । मैले कसैगरी पनि बुझिनँ । तर त्यहाँ तर्क गर्नुको खासै अर्थ थिएन । ङिच्च हाँस्दै घर तर्फ लागेँ ।
यसअघि पनि मैले माइक्रोबस चढ्दा पैसाको लोभले, माइक्रोबस चढेको भनेर भनेको सुनेकी छु । घरमा भएको मोटर र ड्राइभर सधैँ,उपलब्ध हुँदैनन् । ट्याक्सीप्रति मेरो नराम्रो धारणा पटक्कै छैन । कुनै अत्यावश्यक मिटिङ परेको बेला, स्वास्थ्य नराम्रो भएमा म ट्याक्सी चढ्छु । नत्र कि माइक्रोमा वा हिडेँर नै काम चलाउँछु ।
मैले ट्याक्सी नचढेर माइक्रो, बस चढेको जरुरत नपरे पनि पैसा किन खर्च गर्नु भने धारणाबाट प्रभावित भएपछि यो चालिएको कदम हो । निश्चय नै माइक्रो वा बसमा चढ्दा सहज हुँदैन । कति चोटी त ठेलमठेल पनि गर्नुपर्छ बसका सहायकहरुको अपशब्द पनि सहनु पर्छ । बेस्सरी कुदाउँदा ड्राइभरसँग झगडा पनि गर्नुपर्छ, भीडमा कसैले खुट्टामा कुल्चियो भने कुल्चिनेलाई ठेल्नु पनि पर्छ । तर पनि बस चढ्दा मेरो स्ट्याटस कम भएको भन्ने पक्षमा म छैन । मेरो तर्क छ ,जसले मलाई चिन्छ उसले बसमा भलाकुसारी गर्छ, गफ गर्छ, रोकिए पछि “जाउँ है” भन्दै आफ्नो बाटो लाग्छ । “किन माइक्रो बस चढेर इज्जत फ्याकेको ?” भन्दैन । जसले मलाई चिन्दैन उसले म ट्याक्सी, माइक्रो, बस चढ्दा ठेलमठेल गरेको देखे पनि के वास्ता हुन्छ र ?
हो, मेरी ८० वर्षीया आमासँग हिँड्दा माइक्रोमा जान्न, कि त आफ्नो गाडीको प्रबन्ध गर्छु कि त ट्याक्सीमा नै जान्छु । किनभने मेरी ८० वर्षीया आमाले माइक्रोबस ठेलमठेल सहनु हुन्न । मेरी आमाले दु :ख पाएर यात्रा गर्नुपर्यो भने त म एक सक्षम छोरी भएर पनि आमाको सुविधाको ख्याल नगर्दा पो मेरो स्ट्याटसमा धक्का लाग्थ्यो होला । म आफू स्वस्थ हुँदा बस चढ्दा त किन इज्जत कम हुनु र ?
हाम्रो समाजमा मोटर र मोबाइलसँग यसरी स्ट्याटस गाँसिएको छ र धेरै जनालाई यसबाट मुक्त हुन गाह्रो हुन्छ । मानिसहरु अरुले के भन्छन् भनेरै जीवन बिताउने गर्छन् । खासमा ‘मैले लिएको कदम ठीक छ भने अरुले मेरो कुरा काटे पनि केही हुँदैन भन्ने मानसिकता हुँदासमस्या समस्या धेरै कम हुन्छ’ भनेर मानिलाई सम्झाउने पनि गरेको छु ।
केही अघि चाडपर्वको बेलामा कस्तो खाना खाने, खानालाई स्वस्थकर कसरी बनाउने भन्ने विषयमा लगातार केही टेलिभिजनमा पुगेँ । जानेरै त्यसो गर्न खोजेको त होइन, तर घुमिफिरी त्यही पहिरन लगाएको दिन अन्तरवार्ता पर्न गयो । म पहिरनका विषयमा कुरा गर्न टेलिभिजन गएको थिईंन, त्यसैले मैले एउटै पहिरन लगाएकोमा धेरै चिन्ता पनि गरिन । तर खै किन हो, हाम्रो समाजले भने यो कुरालाई पनि महत्व दिँदो रहेछ । केही परिचितले मलाई यो कुरा भनिहाले ।
‘अन्तरवार्ता ठीकै थियो, नयाँ कुरा नभए पनि स्वस्थकर खाना कसरी र किन खाने भन्ने जानकारी पाइयो । तर तिमिसँग अरु लुगा नभए जस्तै गरी एउटै मात्र लुगा लगाएकी थियो । टेलिभिजन जाने अवसर आउँदा त नयाँ लगाउनु नि ।’
यो कुराले मलाई मलाई हाँसाे उठ्यो । उनलाई भनेँ, ‘मलाई टीभीमा हरेक चोटि नयाँ लुगा लगाएर आउ कसैले भनेको छैन । मेरो लुगा हेर्न त टीभीमा बोलाइएको होइन, विचार सुन्न नै बोलाइएको हो । हरेक चोटि मैले किन नयाँ लुगा फेरी रहनु पर्यो ?’ मेरो कुरा सुनेर ती परिचित चुप लागे ।
केही समयपछिको कुरा हो, मेरा भतिजा पर्ने एक व्यक्तिले चाँहि मलाई दशैँमा एक नयाँ लुगा ल्याई दिए । नयाँ लुगा पाएकोमा भन्दा युवा पुस्ताको प्रेम देखेर खुसी लाग्यो । उनले भने, ‘आन्टी टेलिभिजनमा तपाईंलाई कालो लुगा सुहाउँछ ।’
उनले डिप्लोम्याटिक भाषामा भने, ‘अर्को चोटि टीभीमा जाँदा यही लुगा लगाएर जानू है ।’ त्यसपछि पो थाहा पाएँ, उनी पनि टेलिभिजनमा मेरो पहिरनको विषयमा चिन्तित रहेछन् ।
मैले कति चोटि विवाहमा साधारण पहिरन लगाएर जाँदा दिदी–बहिनी र आमाको ‘मायालु’ झपार खाएकी छु । उहाँहरु भन्नुहुन्थ्यो, ‘के हो विवाहमा जाँदा पनि सुतीको लुगा लगाएर आउने ? सुनको गहना पनि नलगाएकी । आफ्नो स्ट्याटसको त ख्याल गर्नुपर्छ । के भन्लान् मान्छेले ?” मेरो उत्तर भने सधैँ रेकर्ड गरेर दोहोर्याएझैं हुन्छ ‘मलाई विवाहमा बोलाएको हो, मेरो लुगा गहनालाई होइन ।’
म स्ट्याटस बढोस् भनेर हिँडेर जाने ठाउँमा ट्याक्सी चढेर, लुगा र गहना अरुसँग मागेर लगाउनेचाहिँ गर्दिनँ । यसले मेरो जीवनकोलाई धेरै सहज बनाएको छ । विवाह भोजमा जाँदा हरेक पल्ट नयाँ लुगा लगाउनु पर्दछ । हरेक पल्ट टीभीमा अन्तरवार्ता दिन जाँदा नयाँ लुगा लगाउन पर्दछ भन्ने तनाव हुँदैन ।
अहिले मोबाइलसंग जोडिएर पनि स्ट्याटस बन्न सुरु गरेको छ । केही दिन अघि मास्के थरका एक जना साथीले चार वर्ष पुरानो मेरो मोबाइल नोकिया देखेर भने, ‘म तपाइँलाई एउटा स्मार्टफोन उपहार दिन्छु । यस्तो पुरानो फोनले त तपाईंको स्ट्याटस पनि कम हुन्छ नि ।’
यस्तो कुराको सामना मैले बारम्बार गरेकी छु । यसमा पनि मेरो कुरा सधैँ एकैखाले हुनेगर्छ । भन्छु, ‘पत्रकार व्यापारी र टेक्निकल काम गर्नेहरुलाई आफ्नो कामको लागि नयाँ नयाँ मोडेलको फोनको जरुरत पर्न सक्छ । मलाई यही नोकियाले जीवन सहज भएको छ ।’
स्ट्याटसको ख्याल नगरेर साधारण मोबाइल लिँदाको फाइदा नै छ भन्ने कुरामा म केही दिन अघि झन विश्वस्त भएँ । एक पाँचतारे होटेलमा सेमिनारपछि घर जाँदा थाहा पाए कि मेरो मोबाइल त होटेलमा नै छुटेछ । घर आएपछि मात्र थाहा भयो । घरमा भनेँ, ‘मेरो मोबाइल त होटेलमै छुटेछ । अब कसैले लगीसक्यो होला ।” परिवारको सदस्यहरुले भने, ‘त्यो मोबाइल कसले प्रयोग गर्छ र ? ढुक्क भएर भोलि होटेलमा जाऊ । त्यहीँ हुन्छ ।’
नभन्दै भोलिपल्ट मोबाइल होटेलमा नै राखिदिएको पाएँ । अनि मलाई विचार आयो, मेरो मोबाइल पुरानो स्टाटसको भएकोले नै कसैले लिएन । यही कारणले मेरा सबै नम्बरहरु सुरक्षित रहे ।
अब झन मैले स्ट्याटस बढाउन अर्को मोबाइल किन्ने नै छैन किनभने चोरले पनि उच्च ‘स्टाटस’ भएको मोबाइलमा मात्र हात लामो पार्दा रहेछन् ।
प्रतिक्रिया 4