Comments Add Comment

किन हामी बेरोजगार भयौं ?

दृश्य एक

‘बेरोजगारलाई रोजगार दे’  प्ले कार्डमा यस्तै-यस्तै मागहरु लेखेर बेलाबखत सडकमा युवाहरुको लस्कर निस्कन्छ । यो लस्कार अशिक्षितहरुको होइन । शिक्षितहरु बेरोजगारहरुको हो । स्नातक वा स्नातकोत्तर गरेर पनि रोजगार नपाएको झोंकमा उनीहरु यसरी नै विरोध प्रदर्शन गरिरहेका हुन्छन् ।

उनीहरु काखीमा शैक्षिक योग्यताको प्रमाणपत्र च्यापेर दिनदिनै कामको खोजीमा भौतारिन्छन् । साँझ निरास भएर घर र्फकन्छन् । यो क्रम निरन्तर चलिरहन्छ । भनसुन गर्नुपर्ने हो कि, चाकडी गर्नुपर्ने हो कि, पार्टीको झन्डा ओड्नुपर्ने हो कि ?

आखिरमा विकल्पहरु खुम्चदै जान्छन् । र, एउटै बाटो खुला रहन्छ, बैदेशिक रोजगारको । श्रम भिषा च्यापेर त्रिभूवन अन्तर्राटि्रय विमानस्थल छाड्छन् ।

दृश्य दुई

अब अर्को परिदृश्य हेरौं । कुनै घरमा पानीको धारा बिग्रन्छ । नालीमा केही समस्या आउँछ । तब घरधनीहरु प्लम्बरको नम्बर खोज्न थाल्छन् । दैनिक जीवनमा कुनै समस्या आइलाग्छ कि भनेर प्लम्बरको मोबाइल नम्बर सुरक्षित राखेका हुन्छन् । प्लम्बरलाई फोन गर्छन्, ‘तुरुन्त आइदिनुपर्‍यो । यहाँ भान्साको धारा बिगि्रयो ।’

प्लम्बर भन्छन्, ‘अहिले भ्याइन्न, कामको चाप छ । तीन दिनपछि आएर बनाइदिन्छु ।’

घरधनीले आफ्नो बाध्यता र जटिलता सुनाउँछन् । यद्यपी प्लम्बर पग्लदैनन् । भन्छन्, ‘तपाईंको जस्तै समस्या अरुको पनि छ । अरुको काम सिध्याएर मात्र आउँछु ।’ फोन काटिन्छ ।

घरधनीसँग अरु विकल्प छैन । तीन दिनसम्म प्लम्बर कुर्नुपर्छ । उनी आउँछन् । १५-२० मिनेटमा आफ्नो काम फत्ते गर्छन् । हजार-पाँच सय खल्तीमा हाल्छन् । र, हतार-हतार अर्को घरतर्फ लाग्छन्, जहाँ उनलाई नै पर्खिबसेका छन् ।

यो कथा होइन

झट्ट सुन्दा यो मनगढन्ते कथा झै लाग्न सक्छ । तर, तपाईंले अहिलेको परिस्थितीलाई नियाल्नु भयो भने ठ्याक्कै यस्तै अवस्था पाउनुहुनेछ ।

तपाईंको घरमा बिद्युतको काम गराउनुपर्ने भयो, तुरुन्त इलेक्टि्रशियन पाउन मुश्किल छ । तपाईंको वाथरुमको पानीको नाली बिगि्रयो, तुरुन्त प्लम्बर पाउन मुश्किल छ । त्यती मात्र होइन, तपाईं उद्यम-व्यवसाय गर्नुहुन्छ । दक्ष कामदार खोज्नुहोस्, फेला पार्न मुश्किल छ ।

हुन त घर-घरमा पढेलेखेका सदस्य छन् । कसैले स्नातकोत्तर सकेका छन्, कसैले पिएचडी गरेका छन् । तर, तपाईंको दैनिक काम सम्पादन गर्न उनीहरुको शैक्षिक योग्यता काम लाग्नेछैन । किनभने हामीकहाँ शैक्षिक प्रणाली प्रयोगात्मक र व्यवहारिक छैन ।स्नातक वा स्नातकोत्तर सकेर पनि युवाहरुको हातमा सीप छैन । त्यही कारण उनीहरु प्रमाणपत्र भजाएर जागिर खानुपर्ने बाध्यतामा छन् ।

बेरोजगारलाई भत्ता कि सीप ?

युवाशक्ति बेरोजगार छन् । दिनभर उनीहरुको काम नै काम खोज्ने हो । उनीहरुले आफ्नो शैक्षिक योग्यता अनुसार काम पाएका छैनन् । यसको बाहिरी असर छँदैछ । भित्री रुपमा पनि यसले युवाहरुलाई चरम निरासातर्फ धकेल्दैछ । बेरोजगारकै पीडाले कतिपय मुलुक छाडिरहेका छन् भने कतिपय दूव्र्यसनमा फस्ने गरेका छन् ।

बेरोजगारी मुलुककै लागि टाउको दुखाईको विषय बन्दैछ । यसैबीच बेरोजगारी अन्त्य गर्ने उदेश्यसहित सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याएको छ । ‘नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यन्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारको अवसर दिन’ यो कार्यक्रम ल्याइएको बताइन्छ ।

कार्यक्रम अन्र्तगत बेरोजगार युवालाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गरिनेछ । यस्तै कतिपय अवस्थामा एक सय दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताको रुपमा प्रदान गरिने बताइएको छ ।

बेरोजगारी समस्या अन्त्य गर्न भत्ता बाढ्ने कि उपयुक्त अवसरको सिर्जना गर्ने ? भक्ता बाँढ्दैमा वा सरकारले रोजगारी खोजी गरिदिदैमा यो समस्याले दीर्घकालिन रुपमा बिट मार्छ होला ?

एउटा भनाई छ, ‘माछा दिने होइन, माछा मार्ने सीप देउ’ ।

अहिलेको युवाहरुमा भएको मूख्य समस्या नै सीपको अभाव हो । दक्षताको अभाव हो । कार्य-क्षमताको अभाव हो ।

काम गर्ने तत्परता भएका, हातमा सीप भएकाहरु भ्याइ-नभ्याई छन् । जताततै दक्ष कामदारको अभाव छ । पूर्वी पहाडमा सैयौं चिया कारखाना सञ्चालनमा छन् । तर, त्यहाँ काम गर्ने दक्ष जनशक्ति दार्जिलिङबाट झिकाउनुपर्ने अवस्था छ । त्यस क्षेत्रका युवाहरु त काम खोज्दै खाडी मुलुक भाँसिएका छन् ।

काठमाडौं लगायतका शहरी क्षेत्रमा निर्माणदेखि अरु थुप्रै क्षेत्रमा दक्ष जनशक्तिकै अभाव छ । यस्तो अभाव टार्न छिमेकी देशहरुबाट युवाहरु ल्याउनुपर्ने बाध्यता छ । जबकी हाम्रा शिक्षित जनशक्ति भने कामको खोजीमा नेताको चाकडी गरिरहेका छन् ।

त्यसो त सीप र जाँगर भएका युवाहरु यहीँ कुनै उद्यम-व्यवसाय गरेर मालामाल छन् । भ्याइ-नभ्याई छन् ।

पानीपुरी-चटपटे बेच्नेहरुको दैनिक आय हेर्नुहोस्, हजार, पन्ध्रसय सजिलै कमाउँछन् । अर्थात महिनाको चालिस हजार रुपैयाँ उनीहरुको चोखो आर्जन हो । मिस्त्री काम गर्नेहरुको दैनिकी नियाल्नुहोस्, सास फेर्ने फुर्सद छैन । बढई (कार्पेन्टर)को माग हेर्नुहोस्, जताततै छ । सीप र दक्षता भएकाहरु खाली हात बस्नुपरेको छैन । श्रमशक्ति मात्र होइन, बौद्धिक जनशक्तिको अभाव पनि उत्तिकै छ । आफुमा दक्षता र सीप विकास गर्ने हो भने, न नेता-मन्त्रीको चाकडी गर्नुपर्छ । न ‘बेरोजगारीलाई रोजगार दे’ भन्दै सडकमा उर्लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment