
१२ जेठ, काठमाडौं । मेक्सिकोका वातावरणमन्त्रीले आफ्नो कारणले विमानको उडान ढिलो भएपछि शनिबार राजीनामा दिएका छन् । मेक्सिकोका वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरसमक्ष राजीनामा बुझाएकी हुन् ।
राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामा मन्त्री गोन्जारेज ब्लान्कोले शुक्रबार यात्राका क्रममा आफ्नो कारणले विमानको उडान ढिलो भएको उल्लेख गरेकी छन् । मेक्सिकोको रुपान्तरणका लागि समता र न्यायलाई महत्व दिनुपर्ने उनले उल्लेख गरेकी छन् । ‘कसैले पनि यस्तो सुविधा पाउनुहुन्न, एउटाको फाइदाका लागि धेरै मानिसलाई समस्यामा पार्नुहुन्न’ उनले भनेकी छन् ।
राष्ट्रपतिले ओबारले आफ्नो कारणले फ्लाइट डिले भएकोमा मन्त्रीले माफी मागेको उल्लेख गरेका छन् । ‘उनले राजीनामा दिनुको कारणबारे मलाई इमान्दारीपूर्वक भनेकी छन्, मैले यसलाई (राजीनामा) स्वीकार गरेको छु’ उनले भने ।
मन्त्रीका कारण फ्लाइट आधा घण्टा डिले हुँदा यात्रु र सञ्चार माध्यमबाट आलोचना भएको थियो ।
यसअघि गत मंगलबार मेक्सिकोको सामाजिक सुरक्षा प्रतिष्ठानका प्रमुख जर्मन मार्टिनेजले पनि राजीनामा दिएका थिए । उनले अर्थमन्त्रीले बजेट कटौती गरिदिँदा गरीब जनताको स्वास्थ्य प्रभावित हुने भन्दै राजीनामा दिएका थिए ।
प्रतिक्रिया 4