Comments Add Comment

पौडीबाज शुुभम : सानो उमेरमा ठूलो सफलता

‘सागमा मेडल ल्याउँछु’

१२ जेठ, काठमाडौं । पौडी पोखरीमा डुबुल्की मारेको सुरुवाती दिनदेखि शुभम श्रेष्ठलाई लाग्यो, ‘पौडीमा अरुभन्दा राम्रो छु ।’ यही आत्मविश्वासले उनलाई घन्टौं पोखरीकै वरपर राखिरह्यो । तैरँदै वारपार गर्ने अभ्यास निरन्तर भयो । यसैले त आठौं राष्ट्रिय खेलकुदमा पाँच पदक जितेपछि उनको रहरमा मेहनत देखियो ।

नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको तयारी हुँदै गर्दा कक्षा १२ को अन्तिम परीक्षा पनि नजिकिँदै थियो । दुबै परीक्षाले शुभमलाई अझ परिपक्क बनायो । परीक्षाको मुखैमा नेपालगञ्ज हुइँकिएका १७ वर्षका शुभमले तीन स्वर्णसहित रजत र कास्य आफ्नो नाममा लेखाए ।

शसस्त्र प्रहरी बल (एपीएफ) बाट खेलेका उनले तीन वटा त राष्ट्रिय कीर्तिमान नै बनाए । उनले बे्रष्टस्ट्रोकको ५०, १०० र २०० मिटरमा गरी तीन स्वर्ण जित्दा आफ्नै नाममा रहेको कीर्तिमान भंग गरे ।

त्यस्तै, रिले ४ गुणा १०० मा रजत र फ्रिस्टाइल रिले ४ गुणा १०० मा कास्य पदक जिते । स्वर्णधारी शुभम भन्छन्, ‘मेरो अभ्यासअनुसार स्वर्ण पदक जित्छु जस्तो लागेको थियो । यसैले लक्ष्यमा पुग्दा निकै खुशी थिएँ ।’

पौडीमा पाएको सफलताले कक्षा १२ विज्ञान संकायको परीक्षा पनि राम्रो गरे । परीक्षा सकाएर अभ्यासमै केन्द्रित भएका शुभम भन्छन्, परीक्षाको नतिजा पनि राम्रो नै आउँछ ।’

फिना विश्व च्याम्पियनसिपको तयारी

शुभम यतिबेला अर्को ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेका छन् । युवाअवस्थामै चर्चा कमाएका उनले आउने जुलाईमा कोरियामा हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउँदैछन् ।

च्याम्पियनसिपमा नेपालबाट शुभमसँगै एलेक्सजेन्डर शाह, गौरिका सिंह र सोफिया शाहले भाग लिँदैछन् ।

शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनेट ८.१५ सेकेन्डको साथमा ५४३ फिना अंक ल्याउँदै विश्व फिना च्याम्पियनसिपमा भाग लिन लागेका हुन् ।

विश्व च्याम्पियनसिपका लागि शुभमले अहिले कालो पुलस्थित एउटा निजी स्वीमिङ पुलमा अभ्यास गरिरहेका छन् ।

दशरथ रंगशाला परिसरमा रहेको स्वीमिङ पुल भूकम्पले भत्काएपछि निर्माण भएको छैन । सातदोबाटोमा रहेको स्वीमिङ पुल पनि हिटिङ पुलको रुपमा सुधारिँदैछ । त्यहीकारण उनी कालोपुलमा अभ्यास गरिरहेका छन् । ‘अहिले म स्वीमिङ पुलको अभावमा २५ मिटरकै सट कोर्समा अभ्यास गरिरहेको छु । सातदोबाटोमा स्वीमिङ पुल बनेपछि अलि सजिलो होला’ शुभम भन्छन् ।

फिना विश्व च्याम्पियनसिपमा मेडल टाढाको कुरा भएपनि उनको लक्ष्य छ, आफ्नो राष्ट्रिय कीर्तिमान भंग गर्ने ।

आफ्नो रेकर्ड ब्रेक गर्छु भन्ने आत्मविश्वास बढेको उनले सुनाए । थप्छन्, ‘म हप्तामा चाहिँ ९ देखि १० सेसन जति अभ्यास गर्छु । त्यसमा जिम र अरु अभ्यास हुन्छ । एक सेसनमा करिब २ घण्टा हुन्छ ।’

सागमा मेडलको लक्ष्य

फिना विश्व च्याम्पियनसिपसँगै उनको अर्को प्राथमिकता हो, आउँदो १३ औं दक्षिण एसियाली खेलकुद । सागमा पदक जित्ने उनको सपना छ ।

उनले थपे, ‘मेरो लक्ष्य भनेकै सागमा पदक ल्याउने हो । सातदोबाटोकै स्वीमिङ पुलमा हुने भनिएको छ । त्यो स्वीमिङ पुल चाँडो बनेमा हामीले त्यहीँ अभ्यास गर्दा झनै फाइदा पुग्ने थियो ।’

सागमा पदकको लक्ष्य त्यति टाढा होइन तर, विनाअभ्यास र वर्षमा ६ महिना सिजनल अभ्यासले सहज पनि छैन । ‘मुख्य कुरा त अभ्यास हो । अभ्यास नहुँदा आत्मविश्वासको कमी हुन्छ’ उनल्े भने । अरु देशका खेलाडी बाह्रै महिना अभ्यास गर्दा आफूहरु भने ६ महिना खेल्ने र ६ महिना बस्ने गर्नु परेको सुनाए ।

डरले धैर्यता गुम्दा

५ फिट १० इन्च अग्ला शुभमले आफ्नो खेल जीवनमा अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) बाट गरेका थिए । त्यतिबेला उनी १४ वर्षका मात्रै थिए ।

सीमित प्रतियोगिता, थोरै स्रोत साधनमै अल्झिएका आफू एकै पटक ठूला प्रतियोगितामा सहभागिता जनाउँदा निकै ‘नर्भस’ भएको उनी सम्झिन्छन् । ‘गुरुहरुले नडराई खेल्नु भन्नु भएको थियो तर, डर लागेको थियो’ उनले भने । त्यही कारण प्रदर्शन राम्रो रहेन ।

उसो त नेपालमा हिटिङ स्वीमिङ पुल नहँुदा त्यसबेला सबै पौडीबाजले निकै दुःख पाएका थिए । कसैले राम्रोसँग अभ्यास गर्न पाएनन् त कसैले सागको लागि बाहिर गएर थोरै समय अभ्यास गरे ।

उनले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भारत चन्डीगढमा गएर अभ्यास गरेका थिए । ‘त्यो बेला नेपालमा हिटिङ पुल थिएन । तयारी पनि राम्रो गर्न पाइएन’ भन्छन्, ‘प्रतियोगिताकै लागि भनेर म चन्डीगढमा अभ्यास गर्न गएँ । परिवारबाट कहिले पनि छुटिएको थिइनँ । त्यसले गर्दा पनि गाह्रो भयो ।’

सागपछि क्यानाडामा भएको विश्व फिना च्याम्पियनसिपमा भाग लिएका उनले हंगेरीको बुडापेष्टमा भएको विश्व फिना च्याम्पियनसिपमा पनि भाग लिए । उनले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा राष्ट्रिय किर्तिमान कायम गरे । त्यतिबेला १३ वर्ष पुरानो रेकर्ड तोडेका उनले १ मिनेट ११.३४ सेकेन्ड लगाएका थिए ।

ओलम्पियन खेलाडी एलिस श्रेष्ठको १ मिनेट १२.२५ सेकेन्डको समय शुभमले भंग गरेका थिए । त्यसपछि उनी उदीयमान खेलाडीको रुपमा चिनिए ।

गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा भने आफ्नै कीर्तिमान सुधार्न चुके । भन्छन्, ‘मेरो खेल त राम्रो भयो तर, आफ्नै राष्ट्रिय रेकर्ड ब्रेक गर्न सकिनँ । २० मिलिसकेन्डले चुकेँ ।’

सफलतामा परिवारको साथ

गोरखा तीनधारेबाट आएको शुभमको परिवार पहिले बुद्धनगरमा बस्थ्यो । शुभम त्रिपुरेश्वरस्थित स्वीमिङ पुलमा अभ्यास गर्थे । तर भूकम्पले स्वीमिङ पुलमा पूर्णरुपमा क्षति पु¥याएपछि उनको अभ्यास सातदोबाटोमा स¥यो ।

छोराकै लागि भनेर बाबु प्रकाशले बसोबास नै सारे । अहिले सातदोबाटोमै बसोबास गर्दै आएका शुभम १० वर्षको हुँदा उनका बुबाले नै स्वीमिङ पुलसम्म पु¥याएका थिए । अहिले पनि छोरालाई आवश्यक पर्ने हरेक सामग्री बुबाले जुटाइदिन्छन् । यहाँसम्मको यात्रा तय गर्न आफ्नो परिवारकै ठूलो साथ रहेको शुभम बताउँछन् ।

शुभमका बुबा प्रकाश पनि छोराको सफलतामा खुशी छन् । छोराले पदक जितेको कुरा गर्दा उनको अनुहार निक्कै उज्यालिन्छ । ‘बाबुले अहिलेसम्म राम्रो गरिरहेको छ । यहाँ १२ महिना नै अभ्यास गर्ने वातावरण हुन सक्यो भने अझ राम्रो हुन्थ्यो’ छोरातिर हेर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment