Comments Add Comment

छापामा आज : जनआन्दोलनमा ४ छोरा गुमाएकी आमा बेसहारा

१५ जेठ, काठमाडौं । बजेट र गणतन्त्र दिवससँग सम्बन्धित सामग्री आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति र बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरुले उठाएका छन् ।

कान्तिपुरले आज गणतन्त्र आउनुअघिका जनआन्दोलनमा ४ छोरा गुमाएकी सुभद्रमाया दर्नालको लामो कथा–व्यथा छापेको छ । सुभद्राका जेठा छोरा काजी, माइला भक्त, काइला उद्धव र कान्छा अमृत जनआन्दोलनका क्रममा बेपत्ता भएका थिए ।  अर्का एक छोरा र पतिको पनि मृत्यु भइसकेको छ । कान्तिपुरका अनुसार, उनी अहिले हेटौंडास्थित सुकुम्बासी टोलमा बेसहारा जीवन बिताइरहेकी छन् ।

‘पिसाबबाट रगत जाने, एउटा किड्नी खरा भइसकेको र क्यान्सरको आंशका गरिएको उनको हालतले पनि हुनसक्छ, जति कुरा सम्झन खोज्थिन्, उति नै भक्कानिरहेकी पनि थिइन्’, सुभद्राको अवस्थाबारे पत्रकार देवेन्द्र भट्टराईले कान्तिपुरमा लेखेका छन् ।

कान्तिपुर अगाडि लेख्छ– दमले सताएका बेला सुघ्ने औषधि, रगत बढाउने औषधि देखि हेपाटम तथा गौ अर्क , अबिपत्तिकर, काञ्जना र गुलगुल, चन्द्रप्रभा वटी आदि एक दर्जनभन्दा बढी एलियोप्याथी होमियोप्याथी औषधिमूलो नित्य खाइरहन्छिन् । साथमा पैसा नभएर एक महिनादेखि यो तालिका छुटेको छ ।

साहुले दिएको चामल दालको पैसा तिर्न नसकेको गुनासो गर्दै उनी भक्कानिएको कान्तिपुर समाचारमा लेखिएको छ ।

आज सार्वजनिक हुन लागेको बजेटबारे पनि कान्तिपुरमा एक सामग्री छ । कान्तिपुरका अनुसार, बजेटको आकार १५ खर्ब हाराहारीको हुनेछ । र, यो वाम घोषणापत्रकै वरिपरि केन्द्रित हुनेछ ।

कान्तिपुर लेख्छ– वाम घोषणापत्रमा उल्ललेखित केही एजेन्डालाई बेवास्ता गर्दा सत्तारुढ दल नेकपाभित्रै आलोचित दबनेका अर्थमन्त्री युवराज खतिवडाले यसपटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका छन् ।

कान्तिपुरमा उल्लेख भएअनुसार सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब वृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरु बजेटमा घोषणा गरिँदै छन् ।

नयाँ पत्रिकाले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको लेखाजोखा गरेको छ । नयाँ पत्रिकाका अनुसार, अहिलेसम्म पुँजीगत खर्च मात्रै ४४ प्रतिशत भएको छ । बजेट कार्यान्वयनमा भूमिका खेल्नुपर्ने अर्थ मन्त्रालयकै पुँजीगत खर्च ८.२ प्रतिशत छ ।

नयाँ पत्रिकाका अनुसार, राजश्वमा पनि सरकारले यस वर्ष धक्का खाएको छ । सरकाको लक्ष्यभन्दा १ खर्ब कम राजश्व उठेको छ । यति मात्रै होइन, बजेटले अपेक्षा गरेको वैदेशिक अनुदान पनि यस वर्ष आएन र ऋण पनि उठेन । यसले सरकार दबावमा परेको छ । समाचार अनुसार, बजेटमा देखिएको यी समस्याले आगामी बजेटमा कसरी स्रोत जुटाउने भन्ने चिन्ता बढेको छ ।

गत ४ चैतमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय सुरक्षा नीति सरकारले लुकाएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा सरोकारवालासँग अन्तिमपटक सुझाव लिएर तयार भएको मस्यौदा मन्त्रिपरिषदले पारित गरे पनि अहिलेसम्म लुकाएको समाचारको सार छ ।

गणतन्त्रपछि राजनीतिक सोच र संस्कारबारे नागरिकले विश्लेषण छापेको छ । नागरिकको विश्लेषण अनुसार शासन फेरिए पनि प्रवृत्ति पुरानै छ ।

बजेटबारे पनि नागरिकले प्राथमिकताका साथ छापेको छ । नागरिकका अनुसार, बजेटमा यसपटक महत्त्वकांक्षी नयाँ आयोजना छैनन् ।

अन्नपूर्णले ७ संवैधानिक आयोगमा देखिएको गाडी खरीद गर्ने होडबाजीलाई मुख्य समाचार बनाएको छ ।

आयोगमा सदस्य आउने अहिलेसम्म पत्तो लागेको छैन । तर, गाडी खरीदका लागि धमाधम टेन्डर आह्वान गरिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अन्नपूर्णले भने बजेट लोकप्रिय बन्न लागेको लेखेको छ । २ न्यायाधीश निलम्बनमा परेकोसँगै सगरमाथा आरोहण असुरक्षाका कारण पनि अन्नपूर्णले केलाएको छ ।

राजधानीमा जानकी  मन्दिरको १ हजार बिघा जमीन बिक्रीबारे मुख्य समाचार छ भने सर्वसाधारणलाई महँगीको चिन्ता परेको खबर कारोबारमा छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment