Comments Add Comment

मदन भण्डारी राजमार्गको बजेट पौने ५ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गलाई आगामी वर्षका लागि पौने ५ अर्ब बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खचिवडाले यो सडकका लागि ४ अर्ब ८२ करोड छुट्याएको हो ।

आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मदन भण्डारी राजमार्ग घोषणा गरिएको यो सडकका विभिन्न खण्डहरु हाल निर्माणाधीन अवस्थामा छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेल्धुरासँग जोड्छ । यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्छ ।

यो राजमार्ग झापाको पाटापुरबाट सुरु भएर सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्छ ।

यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, बुडर, जोगबुढा हुँदै रुपालसम्म पनि राजमार्गले छुन्छ ।

आर्थिक वर्ष ०७५/०७६ मा बिनियोजित ४ अर्बले धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा खण्डमा कालोपत्रे गरिएको थियो । झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइदैं छ । हाल धरान-चतरा-गाईघाट-सिन्धुलीमाडी-हेटौंडा सडकखण्ड तथा दाङबाट सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अहिले पनि जारी छ ।

राजमार्गको ३०० किमी खण्ड निर्माण सकिन लागे पनि राजमार्गमा जोडिने अन्य खण्डको भने सम्भाव्यता अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) समेत बनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment