Comments Add Comment

वादी महिलालाई आवास, हरेक स्थानीय तहमा बालउद्यान

१५ जेठ, काठमाडौं । सरकारले महिला, बालबालिका र जेष्ठ नागरिकका लागि ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गर्भवती र सुत्केरी महिलाको हवाई उद्दार, मानसिक रोगी, टुहुरा बालबालिका, असहाय, वृद्ध र अपांगता भएका व्यक्तिको सुरक्षालगायतका कार्यक्रमका लागि सो बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको बजेटमा विपन्न र वञ्चितीमा परेका महिलाको आर्थिक, सामाजिक उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई देशब्यापी बनाउने उल्लेख छ ।

हिंसापीडित महिलाको उद्दार, राहत, मनोसामाजिक परामर्श र कानूनी उपचारका लागि पुनर्स्थापना केन्द्रहरु विस्तार गर्ने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । त्यस्तै दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारलाई पनि निरन्तरता दिइएको छ । यी सबै कार्यक्रमका लागि २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वादी महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि आवास विकास योजना सञ्चालन गर्ने पनि बजेटमा छ । अर्थमन्त्री खतिवडाले सबै प्रकारको बालश्रमको अन्त्य गर्ने र देशभरका बालमन्दिरहरुको सुधार गर्ने पनि बजेटमा उल्लेख गरेका छन् । त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि प्रत्येक स्थानीय तहमा बालउद्यान निर्माण गर्ने पनि बजेटमा उल्लेख छ ।

मानसिक रोगी, टुहुरा, बालबालिका, असहाय, वृद्ध, अपांगता र अटिजम भएका व्यक्तिको सुरक्षा र हेरचाह गर्ने संस्थाहरुलाई अनुदान दिने पनि अर्थमन्त्री खतिवडाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment