Comments Add Comment

मोदीको सपथ ग्रहण आज, भाजपा अध्यक्ष शाह पनि मन्त्री बन्ने

१६ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् ।

हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली जाँदैछन् । सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ । यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सपथ ग्रहण समारोहमा नेपाल, भुटान, मोरिससका प्रधानमन्त्री तथा श्रीलंका, बंगलादेश, म्यानमारका राष्ट्रपति पनि सहभागी हुनेछन् । थाइल्याण्ड र कीर्गिस्तानका सरकार प्रमुखलाई पनि सपथग्रहण समारोहमा बोलाइएको छ ।

तर, यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन । अघिल्लो पटक सार्क देशका प्रमुखहरु सहभागी थिए ।

यस पटक ६५ जना मन्त्री हुनसक्ने अनुमान भारतीय मिडियाहरुले लगाएका छन् । सन् २०१४ मा ३५ मन्त्रीहरुले सपथ ग्रहण गरेका थिए । तर पछि बढेर मन्त्रीहरुको संख्या ७६ पुगेको थियो ।

सपथग्रहण समारोहमा सबै मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ, तर पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी भने सहभागी नहुने भएकी छन् । पश्चिम बंगालमा बनर्जी नेतृत्वको पार्टी तृणमुल कांग्रेसका कार्यकर्ताहरुले हत्या गरेका भनिएका भाजपाका कार्यकर्ताका परिवारलाई पनि सपथ ग्रहण समारोहमा विशेष पाहुनाको रुपमा निम्तो गरिएपछि बनर्जीले समारोह बहिस्कार गरेकी हुन् ।

यसपटक भाजपाका अध्यक्ष अमित शाह पनि मन्त्री बन्ने चर्चा छ । तर, मन्त्रालय टुंगो लागेको छैन । यद्यपि अमित शाह वित्त मन्त्री बन्ने चर्चा छ ।

अमित शाह २४ जनवरी २०१६ मा भाजपाको दोस्रो पटक अध्यक्ष बनेका थिए । उनको कार्यकाल २३ जनवरी २०१९ मा समाप्त भएको थियो । तर, चुनावसम्म कार्यकाल लम्बाइएको थियो । भाजपामा दोस्रो पटक अध्यक्ष बन्ने अमित शाह मात्रै हुन् ।

भाजपा सरकार दोस्रो कार्यकालमा विकासका एजेन्डामा केन्द्रित हुन चाहन्छ । यसका लागि वित्त मन्त्रालय यस्तो व्यक्तिलाई दिनुपर्छ जसले विकासको एजेण्डालाई सम्हाल्न सकोस् । त्यसका लागि प्रधानमन्त्रीको सबैभन्दा विश्वस्त र बलियो नेताको आवश्यकता पर्दछ । त्यसैले अमित शाह नै वित्त मन्त्री बन्ने भारतीय मिडियाहरुको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment