Comments Add Comment

विहान १० बजे अपहरण, १२ बजे हत्या, राति फिरौती माग

१५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ३ प्रगतिनगरमा पानी ट्याङ्कीको केही परको एक तले घरमा बुधबार मानिसहरु ८ बर्षका करण साहको सद्गत गर्न जुटेका थिए । सिर्सिया नदी किनारमा अन्त्येष्टि गरिएका करणको शवसँगै उनको परिवारको सपना पुरिएको छ ।

शम्भु साहका चार सन्तानमध्ये सबभन्दा कान्छो थिए, करण । दुई दाजु र एक दिदी पछि जन्मिएका करण सबैको लाडप्यारमा थिए । उनकी अर्धचेत आमालाई सदगत अगाडि मात्र अस्पतालबाट घर ल्याइएको थियो । भेला भएका स्तब्ध गाउँलेहरुहरु ‘सँगै खाने, खेल्ने मान्छे कसरी यस्तो पापी भएर निस्कन्छ ?’ भन्दै छक्क परिरहेका थिए ।

शम्भु साहको घर अगाडीको घुम्ती पसलमा सधैं खाजा खान आउने भारतीय नागरिक विकास शर्मालाई गाउँका सबैले चिन्थे । छिमेकमै डेरा गरी बसेको ऊ टोलका बालबच्चा जम्मा पारेर क्रिकेट पनि खेल्थ्यो । बालबालिकाले उसलाई भैया भनेर बोलाउँथे ।

शम्भु साहका अनुसार, शुक्रबार विहानको स्कुल विदा भएर आएका करण खाना खाएर घर बाहिर हावा खाँदै थियो । आमा कपडाहरु धुने धुनमा लागिन् । तीन बजेतिर पनि करणलाई नदेखेपछि आमाले शम्भुलाई छोरो अझै नआएको बताइन् । ‘आँपको सिजन छ, कतै आँप तोड्न गयो होला भनेर वास्ता गरिन, सात बजेतिर मात्रै घर गएँ’, शम्भु भन्छन्, ‘के गर्ने, कता खोज्ने भन्ने भईरहेको बेला विकास शर्मा आएर एउटा नम्बरमा फोन गर्न लगायो ।’

फोनमा म करणको पापा बोल्दैछु, तपाईको नाम के हो ? भनेर सोध्दा उताबाट ‘नामसँग के मतलब, छोरा चाहिन्छ भने ३० लाख रुपैयाँ ठिक पार्, त्योभन्दा एक रुपैयाँ पनि कम हुँदैन’ भनेको शम्भु बताउँछन् ।

त्यसपछि तुरुन्त प्रहरीलाई जानकारी गराएको उनले बताए । ‘प्रहरी आएर वरपरका सबैलाई सोध्न थालेपछि सूचना दिएर गल्ति गरिएछ कि भने डर बढ्न थाल्यो’, शम्भु भन्छन्, ‘शनिबार बिहान ६ बजे फेरि फोन गरेर पैसाबारे सोधे । मैले यति चाँडै कसरी गर्नु भनेँ ।’

उनका अनुसार, त्यसपछि फरक नेपाली नम्बरबाट पटक पटक फोन आईरह्यो । शम्भुले ती सबै नम्बर प्रहरीलाई दिए । ‘प्रहरीहरुले एक हातले पैसा दिने अर्को हातले बाबुलाई लिएर आउने भन्थे, तर छदिनमा छोराको शव आयो’, उनी भन्छन् ।

उनका अनुसार, अपहरणकारीले आइतबारबाट फोन गर्न बन्द गरेको थियो । बिचमा भएको मोलमोलाईमा पाँचलाखमा सहमति भएको थियो । त्यो सब रस्साकस्सिमा प्रहरी संलग्न थियो । ‘रकम प्रहरी–प्रशासनले जुटाएर बाबुलाई सकुसल छुटाउने आश्वासन समेत प्रहरीले दिएको थियो’, शम्भु भन्छन्, ‘तर, परिणाम यस्तो दिए, म कसलाई भन्न जाउँ ?’

तीन जना पक्राउ

वीरगञ्ज महानगरपालिका– ३ प्रगतिनगर वस्ने शम्भु साहको छोरा करण साह (८) लाई अपहरण गरी मारेको अभियोगमा भारत घर बताउने वीरगञ्ज, प्रगतिनगर डेरा गरी बस्ने २० बर्षका विकाश शर्मा, कलैया उप–महानगरपालिका ११ खपरताता बस्ने अन्दाजी २२ वर्षका सिकिन्द्र साह तेली र बाराका २० बर्षका राम विनेश महतो पक्राउ परेका छन् ।

करणको शव बाराको कलैया उप–महानगरपालिका– २५ स्थित खौराही खोलामा जेठ १५ गते बिहान २ बजे फेला परेको थियो । अभियुक्तहरु भने जेठ १४ गते नै पक्राउ गरेका थिए । बच्चाको लाश देखाउन जाँने क्रममा भाग्न खोज्दा उनीहरुलाई गोली हानेर समातेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

उनका अनुसार, चारराउन्ड गोली हान्दा भारतीय नागरिक विकाश र सिकिन्द्रको दाहिने खुट्टामा गोली लागेको छ । उनीहरुको उपचार नारायणी अस्पतालमा भईरहेको एसपी ढकाल बताउँछन् ।

उनका अनुसार, फिरौती उठाउन शर्माको योजनामा अपहरण र हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विहान अपहरण गरेर राति पौने १० बजेतिर फिरौती मागे पनि मध्यान्ह १२ बजेतिरै बालकको हत्या गरेर फालिसकेको प्रहरीको भनाइ छ ।

‘प्रहरीलाई राति सवा १० बजेतिर खबर भयो । त्योभन्दा १० घण्टा अगाडि नै बालकको हत्या भएको देखिन्छ’, एसपी ढकालले भने, ‘यसबीचमा मिनेट–मिनेट प्रहरी सक्रिय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment