Comments Add Comment

४५ करोड खर्चेर बनाइएको गणतन्त्र स्मारकमा खास के छ ? (फोटोसहित)

१६ जेठ, काठमाडौं । करिब ४५ करोड खर्च गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको दिन स्मारक अनावरण गरिन् ।

मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याउनेहरुको सम्झनामा सरकारले स्मारक बनाउने निर्णय गरेको थियो । ३५ रोपनी जग्गामा फैलिएको स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको सम्झना गराउने तस्वीर, वस्तु र कलाकृति राखिएका छन् ।

यस्ता छन् विशेषता

आठ वर्ष लगाएर अपांगमैत्री स्मारक बनाइएको छ । आकर्षक बगैंचा, वाटर फाउन्टेन र विशेष बत्तीले स्मारक सजाइएको छ ।

स्मारकको अग्रभागमा ५ टनको ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपाल संविधान २०७२’ लेखिएको छ ।

गणतन्त्र स्मारकमा १२ मिटर उचाइका चार स्तम्भहरु छन् । यी चारवटै स्तम्भका अलग-अलग विम्व रहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल बताउँछन् ।

पहिलो स्तम्भले गणतन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने सहिदहरु तथा दोस्रोले राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको विम्व बोकेको छ । तेस्रो र चौथो स्तम्भ अंगभंग भएकाहरुको स्मरणमा तयार पारिएको छ ।

स्तम्भहरुलाई कलात्मक रुपमा एक आपसमा जोडेर रातो रङले सजाइएको छ । उक्त रङले देशका लागि बलिदान गर्नेहरुको रगत खेर नगएको सन्देश दिने गेलालले बताए ।

मुख्य स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी, सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ । स्मारक मुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिका क्रममा खिचिएका तस्वीर राखिएका छन् । दोस्रो तलामा नेपालको संविधानसँग सम्बन्धित विषयवस्तु राखिएको छ ।

संग्रहालय सजाउने जिम्मा पाएको राष्ट्रिय कला परिषदले फोटोग्राफर नारायणप्रसाद जोशी, गोपाल चित्रकार, मीन बज्राचार्य, सागर श्रेष्ठ, नरेश श्रेष्ठ, श्री डंगोल, श्रुति श्रेष्ठलगायत १२ जनाले खिचेका तस्वीरहरु राखेको छ ।

गणतन्त्र स्मारकमा संग्रहालयसमेत छ । संग्रहालयमा विक्रम संवत् २००७ सालअघिको मुक्तिमोर्चाको कारवाही, २००७ सालको क्रान्ति र प्रजातन्त्र घोषणा, २०१५ सालको आमनिर्वाचन र शपथ, २०३६ सालको जनमतसंग्रह घोषणा र आमसभा, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलनका तस्वीरसमेत अवलोकन गर्न पाइन्छ ।

२०६२/६३ को आन्दोलनको जगमा नै वंश परम्परामा आधारित २८० वर्षे राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । त्यसपछि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह नारायणहिटी छाड्न बाध्य भएका थिए ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार आर्थिक वर्ष २०६५/०६६ को बजेटमै गणतन्त्र स्मारक बनाउने घोषणा गरिएको थियो । २०६९ चैतदेखि निर्माण सुरु भएको गणतन्त्र स्मारक २०७२ मंसिरमा सम्पन्न गर्ने लक्ष्य थियो । तर, २०७२ वैशाखको गोरखा भूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको थियो ।

गणतन्त्र स्मारक बनाउन सुरुमा ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय सरकारले गरे पनि सुरक्षा संवेदनशीलताका कारण ३५ रोपनीमा निर्माण गरिएको हो । स्मारक बनाउन सुरुमा ४२ करोड खर्च हुने अनुमान गरिए पनि हाल लागत बढेर ४५ करोड पुगेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment