Comments Add Comment

स्वास्थ्यमा बजेट १२ अर्ब बढ्यो, धेरैजसो पुरानै कार्यक्रम

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि स्वास्थ्य क्षेत्रले गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी बजेट पाएको छ । गत वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन हुदाँ यो वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४. ४८ प्रतिशत हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रका कतिपय पुराना कार्यक्रमलाई नै निरन्तरता दिएका छन् । केही कार्यक्रम मात्र गत वर्षको  भन्दा फरक छ । स्वास्थ्य बीमा, स्थानीय तहका कार्यक्रम तथा एक प्रदेशमा एक विशिष्ट अस्पताल गत वर्षकै कार्यक्रमको निरन्तरता हो । अर्थमन्त्री खतिवडाले पुरानै वर्षको कतिपय कार्यक्रमलाई यसपाला पनि ‘कपीपेस्ट’ गरेका छन् ।

गत आर्थिक वर्षझै यो वर्ष पनि स्वास्थ्य बीमा कार्यक्रम छुटेको छैन । गत आर्थिक वर्षमा ७० वर्ष नाघेका वृद्धहरुलाई १ लाखको स्वास्थ्य बीमा गरिदिने कार्यक्रम थियो भने यो वर्ष स्वास्थ्य बीमा योजना सञ्चालन गर्न ६ अर्ब विनियोजन गरिएको छ। मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा योजना पुर्‍याइने उल्लेख छ।

आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्ने गत वर्षकै कार्यक्रमले यो वर्षपनि निरन्तरता पाएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाइने कार्यक्रमका बुँदा गत वर्षको भन्दा कुनै फरक छैन ।

गत वर्ष अटिजम भएका बालबालिका तथा सामाजिक काम गर्नेहरुको कामको मुल्यांकन गरी अनुदान दिने बताइएको थियो यो वर्ष भने  महिलाहरूमा बढ्दो सर्भाइकल र स्तन क्यान्सरजस्ता घातक रोग पहिचानको लागि बजेट विनियोजन गरिएको छ । क्यान्सरका लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकल क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने बताएका खतिवडाले विनियोजन गरेको बजेटको रकम भने खुलाएका छैनन् ।

उनले हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरिनेसमेत बजेटमा उल्लेख गरेका छन् । यो कार्यक्रम पनि गत वर्षकै निरन्तरता हो।

गत वर्ष वृद्धवृद्धाको लागि सन्तानले अनिवार्य हेरचाह गर्ने कानुन ल्याइने बताएका खतिवडाले यस वर्ष  विपन्न नागरिकको नि:शुल्क उपचारका लागि अनुदान बढाएर २ अर्ब २० करोड अनुदान पुर्‍याएका छन् । उक्त अनुदान ८ प्रकारका जटिल र असाध्य रोगका बिरामीले पाउनेछन्। यसअअघि पनि ८ प्रकारका जटिल रोगका बिरामीले अनुदान पाएका थिए।

खतिवडाले गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्चका लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ । बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको छ।

खतिवडाले महिला स्वास्थ्य स्वयमसेविकाको यातायात खर्च स्वरुप वार्षिक तीन हजार उपलब्ध गराउन १५ करोड विनियोजन गरेका छन् । गत वर्ष थारु समुदायमा देखिएको सिकल सेल एनेमियाको उपचारको लागि अध्यन अनुसन्धान गरिने बताएका उनले यो वर्ष उक्त रोग रोकथाम गर्न बजेट विनियोजन गरेका छन् । विनियोजन गरेको बजेटको रकम भने खुलाएका छैनन् ।

क्षयरोग, एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ८२ करोड रुपैयाँ  विनियोजन भएको छ । त्यस्तै स्थानीय तह, प्रदेश र विभिन्न संघ संस्थासँग स्वास्थ्य सेवाका कार्यक्रमहरु साझेदारीमा सञ्चालन गर्न १ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । यो गत वर्षको कार्यक्रमकै निरन्तरता हो ।

गत वर्षझै  स्थानीय तहमा कम्तीमा एक प्राथमिक अस्पताल स्थापना गरी सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सकको व्यवस्था गरिने यो वर्षको बजेटमा परेको छ । यो वर्ष त्यसैको लागि ५ अर्ब बजेट विनियोजन गरिएको छ।

निर्माणाधीन अस्पतालहरुको भवन निर्माण सम्पन्न गर्न ५ अर्ब ५७ करोड बजेट विनियोजन भएको छ । त्यस्तै पन्ध्र सैय्याको प्राथमिक अस्पताल स्तरोन्नती गर्न १ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुरुप १ अर्ब विनियोजन भएको छ ।

कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पताल यो बजेटले स्तरोन्नती हुने खतिवडाले बताएका छन् । त्यस्तै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ ।

राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड रुपैयाँ विनियोजन भएको छ । भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारको लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ । गत वर्षको बजेटमा पनि वीर अस्पताल समावेश थियो ।

गत वर्षझैं यो वर्ष पनि आयुर्वेदिक‚ होमियोप्याथिक‚ युनानी‚ अक्कुपञ्चर‚ आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान, विकास र उपयोगमा जोड दिइने खतिवडाले बताएका छन् ।

प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन शिक्षा पद्धतिमार्फत् २४ सै घण्टा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने गत वर्षकै बजेट भाषणको अंश हो ।

सार्वजनिक स्थल र सवारी साधनहरुमा ध्रुमपान तथा मध्यपान पूर्ण रुपमा निषेध गरिने लगायत स्थानिय तहलाई छुट्याएका कार्यक्रम गत वर्षकै निरन्तरता छ ।

मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रास्प्लान्ट केन्द्रको पूर्वाधार निर्माण र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन यो वर्षको बजेटका प्राथमिकता हुन् ।

सिराहामा क्यान्सर अस्पताल निर्माण गरी वीपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका खतिवडाले विनियोजन रकम भने खुलाएका छैनन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेष्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको समेत खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।

अस्पतालको स्तरोन्नति र अस्पताल स्थापना गर्न छुट्याइएका बजेट मात्र स्वास्थ्य क्षेत्रमा यो वर्षका नयाँ कार्यक्रम हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment