Comments Add Comment

ट्रमामा लोकेशको चित्कार : हजुरबालाई लौरोले हान्यो, हजुरआमालाई झम्टियो

मुखमा ‘निबुलाइजार माक्स’ जोडिएको छ । हातमा सलाइन पानी चढाइएको  । ट्रमा सेन्टरको  ‘बेड नम्बर ५२६’ मा एकजना किशोर घरि यता पल्टन्छन् त घरि उता । ‘गर्मी भयो’ भन्ने संकेत गर्दै ‘निबुलाइजर माक्स’ खोल्न खोज्छन् । अनुहारबाट खलखली पसिना आइरहेको छ ।

एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका उनी अझै त्रासमा देखिन्छन् । अस्पतालको शैय्यामा देखाएको गतिविधिबाट आत्तिएको र उकुसमुकुस भएको प्रष्ट हुन्छ ।

होसमा आउँदा यत्ति मात्र बोल्न सक्छन्, ‘ढोका खोल्नासाथ हजुरबुवालाई हिर्कायो । उहाँ ढल्नुभयो । हजुरआमालाई हिर्कायो, हजुरआमा पनि ढल्नुभयो । म भाग्न खोज्दा मलाई नि हिर्कायो, म पनि ढलेँ ।’

पाँच दिनअघि (गत शनिबार)

दार्चुला जिल्ला । महाकाली नगरपालिलका । जाख गाउँ ।

लोकेश महरा हजुरबुवा वीरमान र हजुरआमा द्रौपतीसँगै पसलमा थिए । साँझ झमक्क परेपछि खाना खाएर सुते । राति भएपछि सुत्नु र बिहान सबेरै उठ्नु उनीहरुको दैनिकी थियो । तर, त्यो दिनबाट उनीहरुको दैनिकी बिग्रियो । बिहान सबेरै वीरमानले पसल खोल्न सकेनन् । द्रौपतीले चिया उमाल्न पाइनन् । किनकी, सदाझैँ उनीहरु सकुशल ब्युझिएनन् । एक लयमा चलिरहेको जिन्दगीमा अकस्मात ‘ब्रेक’ लाग्यो ।

त्यस्तो घटना त्यो क्षेत्रमा घटेको ‘रेकर्ड’ थिएन । घटना देखेर पुरै गाउँका मानिसहरु त्रसित थिए ।

७५ वर्षीय वीरमान र ७० वर्षीया द्रौपतीको हत्या गर्नुपर्ने कारण के थियो त ? मानिसका आआफ्नै अड्कल थिए । घटना प्रकृति हेर्दै उनीहरुले गरेको अड्कल डरलाग्दो थियो । घटना पनि त कम विभत्स थिएन !

शनिबारको दिन । मध्यरात । गाउँ सुनसान भइसकेको थियो । सदाँझै लोकेश हजुरबा/हजुरआमासँगै पसलमै सुतेका थिए । उनको बुवा रोजगारको लागि दिल्लीमा थिए । आमा पसल नजिकै गाउँमा । पसलमा हरेक दिन उनीहरु तीन जनामात्रै सुत्थे ।

मध्यरातमा कसैले टिनको छानोमा ढुंगा बर्सायो । छानो बजेपछि वीरमान उठे । केही क्षणमै ढोकामा ढुंगो बज्रियो । वीरमानले ढोका खोले । ढोका खोल्नासाथ उनको टाउकोमा अजगंको चिर्पट बज्रियो । उनी चिच्याउन थाले ।

हजुरबाको चिच्याहटले लोकेश ब्यूँझिए । हजुरआमा पनि अत्तालिँदै ढोकामा पुगिन् । हजुरआमामाथि पनि चिर्पट बज्रियो । हजुरबा हजुरआमाको अवस्था देख्दा लोकेश तर्सिए । अर्धनिध्रामा रहेका उनी त्यहाँबाट भाग्न खोजे । उनको टाउकोमा पनि चिर्पट बज्रियो । त्यसपछि उनी बेहोश ।

आइतबार बिहान, साढे सात बजे

लोकेशकी हजुरआमा बिहान उठेर नजिकै रहेको घर जान्थिन् । लोकेश पनि स्कुल जानको लागि सबेरै घर पुग्थे । त्यो दिन अबेरसम्म उनीहरु घर पुगेनन् ।

लोकेशको बहिनी पसल पुगिन् । पसल खुल्लै थियो । हजुरबुवा, आमा र लोकेश लडिरहेका थिए । वीरमानको शरीरभरि चोट नै चोट । टाउको क्षतविक्षत । रगत लत्पतिएर हेर्न सकिने अवस्था थिएन । हजुरआमाको अवस्था पनि त्यो भन्दा फरक थिएन । कान लुछिएर रक्ताम्याए थियो भने शरीरभरि नै निलडाम । घटनास्थल नजिक चिर्पट थियो ।

लोकेशको बहिनी त्यो देखेर अत्तालिदै घर पुगिन् । गाउँभरी हल्लाखल्ला मच्चियो । सबै जना पसलमा भेला भए । प्रहरीहरु आएर मुचुल्का उठाए । द्रौपतीको घटनास्थलमै मृत्यु भइसकेको थियो भने दार्चुला जिल्ला अस्पतालमा पुर्‍याएपछि वीरमानले पनि प्राण त्यागे ।

लोकेशको होस अस्पताल पुगेपछि मात्र आयो । दार्चुला जिल्ला अस्पतालले त्यही दिन लोकेशलाई सेती अञ्चल अस्पताल धनगढी ‘रिफर’ गरिदियो । टाउको र छातीमा गहिरो चोट भएका कारण उनले उपचार सम्भव भएन । लोकेश मानसिक रुपमा पनि विक्षिप्त थिए ।

आइबार साँझ ५ बजे लोकेश काठमाडौंको ट्रमा सेन्टरमा भर्ना भए । त्यहाँ राखेको पाँच दिन भइसक्दा पनि लोकेश अर्धचेत अवस्थामै छन् । होसमा आउँदा बरबराइरहन्छन्, केही सोध्नासाथ झर्किएर रुन थाल्छन् ।

‘यस्तो घटनामा हाम्रो दार्चुलामा पहिले कहिल्यै देखेको थिइन,’ लोकेशसँगै काठमाडौं आएकी दिदी पूजाले भनिन्, ‘यो घटना देखेर गाउँका सबै अचम्ममा परेका छन् ।’

पूजा महरा लोकेशको ठुलो बुवाको छोरी हुन् । २१ वर्षीया उनी लोकेशको उपचारको लागि दार्चुलादेखि सँगै छिन् । पूजाका अनुसार लोकेशकी आमा गाउँमा अर्धचेत छिन् । रोजगारीका लागि दिल्ली गएका बुवा दार्चुला फर्केर काजकिरिया गर्दै छन् । यहाँ लोकेशको साहारा पूजा मात्रै। उनै पूजाले घटनाको बेलिविस्तार लगाइरहेकी छिन्।

अस्पतालको शैय्यामा टुलुटुलु निराश भएर लोकेशलाई हेरिरहेकी उनी भन्छिन्, ‘निदाएको बेलामा घरिघरि तर्सिन्छ । ‘बचाउँ बचाउँ…’ भन्दै अत्तालिन्छ, हातगोडा फ्याँकेर असिन पसिन हुन्छ । भाइको अवस्था देखेर मलाई डर लागिसक्यो ।’

यसरी डराउँदै अस्पताल बसेको चार दिन भइसक्यो । लोकेशको अवस्था सुध्रिएको छैन । कञ्चटतिर अझै पनि निलडाम उस्तै देखिन्छ । हात र गोडा पनि राम्रोसँग तङ्ग्रिएका छैनन् । डाक्टरले ठीक हुने सान्त्वना दिइरहेका छन् ।

लोकेश अत्तालिँदै रुन खोज्दा पूजा सम्झाउँछिन्, ‘नरो नरो ठीक हुनलाई यस्तो भएको हो । ठीक हुने बेला यस्तै हुन्छ । अत्तालिनु हुन्न ।’

तर, लोकेशको हातगोडा चल्न बन्द हुदैन । ‘नेबुलाइजर माक्स’ निकाल्न हात पुर्‍याइरहन्छन् । अनि असिन पसिन हुँदै एउटै कुरा दोहोर्‍याउँछन्, ‘हजुरबालाई नि हान्यो, हजुरआमालाई नि हान्यो । मलाई नि छोडेन ।’

लोकेशको कुरा सुन्दा मात्र पूजाको आङ जिरिङ्ग हुन्छ । घटनास्थलको दृश्य सम्झँदा दिमाग रन्थनिन्छ । अस्पतालमा भाइको अवस्था हेरिरहँदा रुन मात्र मन लाग्छ ।

तर, अभिभावक बनेर अस्पताल आएकी उनी सम्हालिन्छिन्।

त्रसित भावमा बोल्छिन्, ‘त्यो रात बुढा हजुरबा, हजुरआमा कति छटपटाए होलान्, कति चिच्याए होलान् ? बाँच्नको लागि कति संघर्ष गरे होलान् ? भाइले कसरी हेर्न सक्यो त्यो दृश्य ? धन्न यत्तिको छ भाइ ।’

लोकेशकी दिदी पूजा ।

उनी यति बोलेर सुस्केरा हाल्छिन् । शैय्यामा निदाइरहेको लोकेशको हात सुमसुम्याउँछिन् । कपाल मुसार्छिन् र टोलाउन थाल्छिन् । लोकेशको स्वास्थ्य अवस्था बुझ्न आएकी नर्सले उनको ध्यान भंग गर्छिन् । नर्स भन्छिन्, ‘अब सिटी स्क्यान गर्नुपर्छ । तयारी अवस्थामा रहनू ।’

अस्पताल ल्याएदेखि भाइको स्याहारमा जुटिरहेकी पूजाको खाने, बस्ने ठेगान छैन । आएदेखि अस्पतालमै छिन् । काठमाडौंमा रहेका आफन्तहरु अस्पताल पुगिरहेकाले केही सजिलो भएको छ । तर, एक्लै हुदाँ डर लागिरहन्छ । अनि भाइसँग गफिन खोज्छिन् तर भाइको अवस्था ठीक भए पो ! केही सोध्यो कि रोइहाल्छ । कतिपय अवस्थामा रुदैँ केही सुनाउँछ । भाइको कुरा सुनेर उनी झनै झसँग हुन्छिन् ।

हिजो मात्र उनले लोकेशलाई सोधिन्, ‘के भएको थियो भाइ त्यो रात ?’

सुरुमा लोकेशले जवाफ दिएन । झर्को मान्दै रोइरहे । त्यसपछि घटनाको बेलिबिस्तार लगाए । लोकेशले भनेको कुरा पूजाले जस्ताको तस्तै बेलिविस्तार लगाइन् ।

 त्यो मान्छे घरभित्र छिर्दा एउटा हातमा लौरौ जस्तो केही थियो । एउटा हातमा सानो पिलपिल बल्ने टर्च लाइट । हजुरबुवालाई लौरोले हानेपछि उ हजुरआमातिर झम्टियो । हजुरआमालाई हानेपछि कान लुछ्यो । त्यो बेला घम्साघम्सी भयो । त्यो देखेर म डरले भागे । मलाई नि टाउकोमा लौरोले हिर्कायो । त्यसपछि मलाई केही याद छैन ।

पूजालाई लोकेशले सुनाएको यत्ति हो । घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई आक्रमण गर्ने व्यक्तिको नाम थाहा छैन । अनुहार सम्झन सक्दैनन् । विक्षिप्त अवस्थामा रहेका उनी १४ वर्षका मात्र छन्।

पूजा भन्छिन्, ‘टाउको, हात खुट्टा र छातीमा नमज्जाले कुटेछ । अब त मर्‍यो नै भनेर छोडेको होला सायद तर, बेहोस भएकाले बाँच्यो । हजुरबा हजुरआमाको टाउको फुटेर रक्ताम्य थियो । हामीले त हेर्नै सकेका थिएनौँ ।’

पूजाका अनुसार उनीहरुको पसल गाउँबाट अलि पर थियो । त्यो ठाउँमा अरु घर थिएन । बाटोको छेउ भए पनि सुनसान नै थियो । पसलमा हजुरबुवा—आमाले किराना सामान र चिया नास्ता बेच्ने गर्थे । गाउँमा कसैसँग झगडा भएको पूजालाई याद छैन । शत्रुता कोहीसँग नभएकाले शंका लाग्ने व्याक्ति कोही नभएको बताउँछिन्।

भन्छिन्, ‘हजुरआमाको कान र घाँटीको गहना थिएनन् । कान लुछिएका थिए । पक्कै चोर हुनुपर्छ । साढे दुई तोलाको गहनाको लोभले हत्या गरेको हुनुपर्छ ।’

***

ट्रमा सेन्टरमा लोकेशको उपचारमा खटेका न्युरो सर्जन डा. राजन शर्मा लोकेशको अवस्था अस्पताल ल्याउँदा भन्दा नबिग्रिएको बताउँछन् । दाहिने कञ्चटमा रगत जमेकाले बिरामी विक्षिप्त देखिएको उनको कथन छ ।

टाउकोमा रगत जमेका बिरामीको मानसिक अवस्था सामान्य नहुने उनी सुनाउँछन्।

‘हिजो सिटी स्क्यान गर्दा २५ एमएल रगत कञ्चटमा जमेको भेटियो । ३० एमएल भन्दा बढी रगत जमेको भए अपरेशन गर्नुपर्थ्यो,’ डा. शर्माले भने, ‘अहिले औषधि चलाइरहेका छौं । औषधिले ठीक भएन भने केही दिनमा अपरेशन गर्छौं ।’

शंकाको घेरामा तीन जना

यता लोकेश अस्पतालमा छटपटाइरदा उता प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धान जारी रहे पनि हत्यारा पत्ता नलागेको दार्चुलाका डीएसपी दीपेन्द्र शाही बताउँछन् ।  लोकेशले प्रारम्भिक बयानमा १ जना आएको बताए पनि शंकाको घेरामा तीन जना रहेको प्रहरीले बताएको छ ।

घटनास्थलमा कुनै शंकास्पद वस्तु फेला नपरेकाले निष्कर्षमा पुग्न नसकेको उनको कथन छ।

‘घटना बारेमा देख्ने, त्यहाँको गतिविधि थाहा पाउने मान्छे नै छैनन् । बाँचेको एउटा बच्चो राम्रोसँग बयान दिन सक्दैन । त्यसैले हामीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ’ शाहीले भने, ‘उनीहरुको झैझडा, पारिवारिक नाता सम्बन्ध हेरेर अनुसन्धान गरिरहेका छौं ।’

त्यस क्षेत्रका तीनजना युवा सम्पर्कमा नआएकाले प्रहरीले उनीहरूको खोजि गरिरहेको उनले बताए । भने, ‘अरु पनि धेरै शंकाको घेरामा छन् । हत्यारा चाँडै पत्ता लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment