१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको बचाउ गरेका छन् ।
बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा खतिवडाले जनप्रतिनिधिलाई विकासबाट विमुख गर्न नहुने तर्क गरे ।
अर्थमन्त्री खतिवडाले भने, ‘हामीले जनप्रतिनिधिमूलक व्यवस्था रोज्यौं, जनप्रतिनिधिलाई विकाससँगै जोडेर चुनाव लड्यौं’ उनले भने ‘जनमतलाई प्रतिविम्बित गर्ने जनप्रतिनिधिले नै हो । जायज कुरा नसुनेर जाने विधि प्रजातान्त्रिक विधि हुँदैन ।’
उनले अगाडि थपे ‘जनप्रतिनिधिलाई विकासबाट विमुख गराउनु लोकतन्त्रमा ठीक हुँदैन ।’
सरकारले स्थानीय विकास पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमलाई बढाएर आगामी आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ दिने अर्थमन्त्री खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।
राजनीतिक मुद्दाहरु सकिए, अब विकासको मुद्दा भनिरहेका बेला विकास गर्छु भनेर आएका सांसदलाई विकासका काममा सहभागी हुनबाट रोक्न नमिल्ने मन्त्री खतिवडाले बताए ।
‘जनप्रतिनिधि सहभागी नभई जनसहभागिता कसरी होला ?’ उनले प्रश्न गरे ‘राजनीतिक मुद्दा समाप्त भयो अब विकासको मुद्दा हो भन्ने अनि जनप्रतिनिधिलाई विकासमा जान पाउँदैनौं भन्नु ठीक हुँदैन ।’
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सांसदलाई आयोजना छनोट गर्ने र अनुगमनको अधिकार मात्र दिइएको भन्दै अर्थमन्त्री खतिवडाले कार्यान्वयन स्थानीय तहमा हुने बताए । ‘जनप्रतिनिधिले आयोजना छनोट गर्ने अधिकार पाउनुभएको हो । अरु केही पनि छैन । यसमा अलिकति भ्रम पनि परेको छ ।’
निर्वाचन क्षेत्रमा दिएको रकम दुरुपयोग हुन नदिन सबै चनाखो हुनुपर्ने पनि मन्त्री खतिवडाले बताए ।
यो पनि पढ्नुस्–
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4