 
																			१७ जेठ, हेटौंडा । प्रदेश–३ सरकारको आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमलाई प्रदेशसभाले बहुमतले पारित गरेको छ ।
नीति तथा कार्यक्रममाथि बिहीबार र शुक्रबार प्रदेशसभामा छलफल भएपछि शुक्रबार पारित भएको हो । छलफलका क्रममा सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको प्रशंसा गरेका थिए भने प्रतिपक्षलगायतका दलका सांसदहरुले नीति तथा कार्यक्रम प्रचारमुखी सुन्नका लागि मात्र राम्रो भएको आरोप लगाएका थिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील नेपाली दल, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राखेका थिए । मुख्यमन्त्री डोरमणि पौडेलले स्पष्ट कार्यनयन गर्ने जवाफ नदिएको प्रतिपक्षीले फिर्ता लिन मानेनन् ।
सांसद रमेश पौडेल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य, नरोत्तम बैध, रजनी अमात्य बिजया श्रेष्ठ केसी, भीमसेन खत्रीले नीति तथा कार्यक्रममा ‘बोक्साबोक्सी’, महानगरमा खरको छानो हटाउने कार्यक्रम, प्रदेश सरकारमा महिला मन्त्रीको अभाव, स्वयंसेवक परिचालन सहितका बिषय उठाउँदै संशोधन दर्ता गराएका थिए ।
सबै बिषय समेटेर बजेट आउँछ : मुख्यमन्त्री पौडेल
मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमको सबै बिषयलाई समेट्ने गरी बजेट आउने बताएका छन् । दुई दिन सांसदहरुले दिएको सुझाव र आलोचना सुनेका मुख्यमन्त्री पौडेलले संसदीय अभ्यास भन्दा पनि पुर्वाग्रही ढंगबाट सुझाव आएको भन्दै सबै बिषयलाई समेटेर सरकारले बजेट ल्याउने बताए ।
उनले सरकारको काममा कमजोरी भन्दा पनि कटाक्ष गर्ने बानी परेको टिप्पणी गरे । ‘सरकारले काम गरेको केही महिना मात्र भयो, संरचना बनेको कुरालाई हेरेर आलोचना गर्नु उचित हैन’ उनले भने ।
बिभिन्न कारणले सरकारले काम गर्न नसकेझै देखिए पनि आर्थिक बर्षको अन्त्यसम्म आशालाग्लो किरण भेटिने उनले सभामा सांसदहरुलाई बिश्वास दिलाए । उनले अन्य प्रदेशका सरकारको भन्दा आफूहरुले बढी काम गरेको पनि जिकिर गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4