Comments Add Comment

सप्तरीमा हात्ती आतंकबारे प्रदेश सांसदको चासो

१७ जेठ, जनकपुरधाम । सप्तरीमा हात्तीले व्यापक क्षति गर्न थालेपछि प्रदेश सांसदहरुले यसबारे चासो व्यक्त गरेका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिमा आबद्व प्रदेश सांसदहरुले कोशी टप्पु वन्यजन्तु आरक्ष पुगी हात्ती आतंकको बिषयमा जानकारी लिएका हुन् ।

सांसदहरुको टोली शुक्रबार कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीसँग हात्ती आतंकको बिषयमा जानकारी लिएका हुन् । सांसदहरुसँग छलफल गर्दै वार्डेनले आरक्षको क्षेत्रफल सानो भएको र चरिचरण क्षेत्र अव्यवस्थित भएकाले हात्ती ग्रामीण क्षेत्रमा पुगिरहेको बताएको समितिका सदस्य एवं सांसद विदेश्वर यादव ‘विक्की’ ले बताए ।

यस्तै आरक्षको वनमा हात्तीका लागि आहाराको अभाव, आरक्षको चारैतिर धेरै बाटोघाटो भएको र गाउँवस्ती कृषि भूमिले घेरिएका कारण हात्ती वस्तीमा पुगिरहेको वार्डेनले बताएको उनको भनाइ छ । यस्ता बिषयहरुमा अति नै कम प्रचार–प्रसार भएकाले हात्ती आतंकको समस्या रहेको वार्डेन चौधरीले बताए ।

खोलानालाको धार परिवर्तन समस्या

प्रदेश २ अन्तर्गतको प्राकृतिक श्रोत तथा वातावरण समितिद्वारा प्रदेश अन्तर्गतको बिभिन्न खोलानालाको पनि अनुगमन गरिएको छ ।

नदी र खोलाहरुको अनुगमन गर्दै समितिका पदाधिकारी प्रदेश सांसदहरुले यसतर्फ सरकारले चाँडै ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले नदी र खोलाहरुको प्रत्येक बर्षामा बहाब परिवर्तनले गर्दा समस्या आउने गरेको बताउँदै बहाब परिवर्तन हुन नदिन सरकारले ध्यान दिनुपर्ने बताए ।

समितिका पदाधिकारीहरुले शुक्रबार प्रदेश अन्तर्गतका धनुषा, सिरहा र सप्तरीका खोलानाला र वनको अनुगमन गरेका छन् । उनीहरुले धनुषाको धनुषाधामस्थित वन क्षेत्र, सिरहाको कमला नदी, सप्तरीको चुरे क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षसहित साना नदीको अनुगमन गरेका छन् । अनुगमनका क्रममा स्थानीयले नदी र खोलाको बहाब परिवर्तन हुँदा समस्या भएको गुनासो गरेका समिति सभापति रामचन्द्र मण्डलले बताए ।

नदी र खोलाको पुल पनि कमजोर भइसकेको पाइएको बताउँदै उनले यसबारे प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताए । समितिका सभापति रामचन्द्र मण्डल नेतृत्वमा सांसद विदेश्वर यादव ‘विक्की’, डा. मनोज सिंह, उपेन्द्र कुसवाहा, सन्तमाया मोक्तान र सिता गुरुङ्ले खोला, नदीको अनुगमन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment