Comments Add Comment

प्रधानमन्त्री भन्छन्– पार्टी फुटाउने प्रयास भइरहेको छ

१९ जेठ, काठमाडौं । आजका पत्रिकाहरु फरक–फरक विषयमा केन्द्रित भएर बजारमा आएका छन् । कतिपय नेकपामा सत्ता साझेदारीको बहसमा केन्द्रित छन् भने कसैले हाजिर गर्ने र घर फर्किने दैनिकी भएका न्यायाधीशहरुमाथि नजर लगाएका छन् ।

गोरखापत्र दैनिकले मुद्दा फैसलामा न्यायिक विचलन देखिएको अभियोगमा न्याय परिषदले काजमा तानेका ११ मध्ये ९ जना न्यायाधीशहरुको दैनिकीबारे समाचार लेखेको छ । उनीहरुको दैनिकी हाजिर गर्ने र घर फर्किनेमा सीमित छ ।

चार महिना बितिसके पनि विभिन्न प्रकरणमा काजमा तानिएका न्यायाधीशबारे न्याय परिषदले अन्तिम निर्णय लिन सकेको छैन । परिषदले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित आठ जनालाई काजमा राखेको छ । सुरुआतमा माघ ४ गते परिषदले विराटनगरका पाँच न्यायाधीशलाई छानबिन प्रक्रिया अघि बढाउने निर्णय गर्दै काजमा राखेको थियो । लगत्तै मुख्य न्यायाधीश भुर्तेलसहित तीन जनालाई पनि काजमा झिकाएको थियो ।

परिषदको काजमा डा. भुर्तेलसहित नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, शारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याल छन् । यस्तै न्यायाधीशहरु साधुराम सापकोटा, जनक पाण्डे पनि परिषदको काजमा छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ पनि काजमै छन् ।

पार्टी फुटाउन खोज्ने प्रयास

कान्तिपुर दैनिक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सत्ता साझेदारीको विषयमा भइरहेको बहसमै केन्द्रित छ । सत्ता साझेदारीको विषयलाई लिएर ओली र प्रचण्डका अभिव्यक्तिले नेकपाको शीर्ष तहमा दरार पैदा भएको संकेत गरेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले पोखरामा शनिबार आयोजित एक कार्यक्रममा पार्टीका शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढेको बताएका थिए । त्यसैलाई कान्तिपुरले मुख्य समाचार बनाएर छापेको छ । समाचारमा लेखिएअनुसार ओलीले पोखराको कार्यक्रममा भने, ‘एकता हुन नदिने, एकता भएकालाई पनि फुटाउन खोज्ने र पार्टीका शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढ्दै गएको छ ।’

विदेशीभन्दा स्वदेशी औषधि महँगो हुने, उद्योग बन्द हुने चिन्ता

राजधानी दैनिकले नेपाली औषधिको मूल्य १० प्रतिशतले बढ्ने समाचार लेखेको छ । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको भनिरहँदा औषधिको कच्चा पदार्थमा अतिरिक्त मूल्य कायम गर्दा आयातितको तुलनामा स्वदेशी औषधि महँगो हुने भएको हो । यसबाट स्वदेशी औषधि उद्योग बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायीहरु बताउँछन् ।

अन्नपूर्ण पोष्ट दैनिकले नेपालगञ्ज उपहानगरपालिका ८ रानीतलाउ नजिक सब्जीमण्डीका प्रहरी बिटमा मासु पसल सञ्चालन गरिएको तस्वीर मुख्य पृष्ठमा छापेको छ । प्रहरी बिटमा रिजवान कुरैसीले वर्षौंदेखि मासु पसल चलाइरहे पनि जिल्ला संयुक्त बजार अनुगमन समितिले शुक्रबार मात्र भेटेको थियो । रिजवानलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्नपूर्ण पोष्टमा कांग्रेसभित्रका गुटका समाचार पनि छन् ।

कारोबार दैनिकले औद्योगिक संस्थानहरुको नाफा घटे पनि लागत बढेको विषयलाई मुख्य समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment