Comments Add Comment

फेसबुक संस्थापक जुकरबर्गलाई विश्वासको मत, अध्यक्षबाट हट्नु परेन

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक कम्पनीको अध्यक्ष तथा सीईओको आफ्नो पद जोगाउन सफल भएका छन् ।

फेसबुकको वार्षिक बैठकका क्रममा भएको नयाँ नेतृत्वसम्बन्धी चुनावका क्रममा जुकरबर्गले आफ्नै नेतृत्वलाई निरन्तरता दिने पक्षमा विश्वासको मत आर्जन गर्न सफल भएका हुन् ।

जुकरबर्गले कम्पनीको अध्यक्षको पद छाड्नुपर्ने भनी आवाज उठिरहेको समयमा जुकरबर्गका लागि यो सफलताले राहत मिलेको छ ।

एउटै व्यक्तिमा अत्यधिक धेरै शक्ति केन्द्रित गर्दा जोखिम बढेको भन्दै फेसबुक कम्पनीका कतिपय ठूला शेयरहोल्डरहरुले जुकरबर्गलाई अध्यक्ष पदबाट हटाउनुपर्ने आवाज उठाएका थिए । फेसबुकको एउटा मुख्य लगानीकर्ता ट्रिलियम एसेट म्यानेजमेन्ट नामक कम्पनीका अधिकारीले पनि कुनै एक व्यक्तिमा कम्पनीको अत्यधिक शक्ति केन्द्रित हुन नहुने सबै शेयरहोल्डरहरुको चासाको विषय रहेको बताएका छन् ।

जुकरबर्गले विश्वासको मत प्राप्त गर्न सफल भएको उक्त बैठकमा सहभागी एक अर्का लगानीकर्ताका अनुसार कम्पनी बोर्डको अध्यक्ष र सीईओ फरक–फरक व्यक्ति हुनु सामान्य नीति नै रहेको बताए । उनका अनुसार, फेसबुकको व्यवस्थापनमा रहेको गम्भीर अव्यवस्था तथा काण्डहरुको गलत व्यवस्थापनका कारण फेसबुकको प्रतिष्ठा, शेयरहोल्डरको मूल्य तथा लगानीकर्ताको आत्मविश्वास नै उच्च जोखिममा परेको छ ।

जुकरबर्गलाई अध्यक्ष पदबाट हटाउने बिहीबारको बैठकमा भएको प्रयास सफल नहुनुलाई असामान्य रुपमा हेरिएको छैन । किनकि फेसबुक कम्पनीमा रहेको शेयर हिस्साको हिसाबले जुकरबर्गसँग ५८ प्रतिशत भोटिङ अधिकार रहेको छ ।

क्यालिफोर्नियाको मेन्लो पार्कस्थित एक होटलमा भएको उक्त बैठक सुरु हुनुअघि विभिन्न अधिकारवादी समूहहरुले प्रयोगकर्ताका गोपनियता तथा डाटाहरुमाथि खेलवाड गरिएको भन्दै जुकरबर्गलाई फेसबुकको नेतृत्वबाट हटाउन माग गरी प्रदर्शन गरेका थिए ।
एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment