+
+
Shares

अख्तियारद्वारा विद्यालय निरीक्षक चौरसिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १२:०७

२० जेठ, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका विद्यालय निरिक्षक राजेश्वर चौरसियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले पक्राउ गरेको छ । अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा अख्तियारले चौरसियालाई आइतबार बेलुका पक्राउ गरेको हो ।

३५ जनाभन्दा बढी नक्कली शिक्षकलाई राहत, अस्थायी र करारमा नियुक्त गरेको घटनाका सम्बन्धमा छानबिन गरिरहेको अख्तियारले विद्यालय निरीक्षक चौरसियालाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रवक्ता देवकुमार राईले भने, ‘अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोप विद्यालय निरीक्षक चौरसियालाई लागेको छ, त्यसैको अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिएका हौं ।’

चौरसियालाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइने र केन्द्रले नै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रवक्ता राईको भनाइ छ ।

पर्सा जिल्लाका विभिन्न विद्यालयमा फर्जी तरिकाबाट शिक्षक नियुक्त गरी जगरनाथपुर गाउँपालिकामा सरुवा गरेर चौरसियाको सञ्जालले लाखौं रुपैयाँ कुम्ल्याएको आरोप लाग्दै आएको छ । यसअघि अख्तियारले जगरनाथपुर गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि बयान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?