Comments Add Comment

लालबन्दीको बीणा हल–‘कमजोर पर्दामा रमाएका छन् दर्शक’

शनिबार बिहानीको शो । सर्लाहीको बिणा चलचित्र मन्दिरमा चलचित्र ‘कप्स’ प्रदर्शन भइरहेको थियो । मोफसलको यही हलबाट चलचित्र विकास बोर्डले बक्स अफिसको सुरुवात गर्दै थियो । यो हलमा दर्शकको उपस्थिती निकै नै कम थियो ।स्पेशल सिटमा ४५ जना र बाल्कोनीमा ३० जना बसेर चलचित्र हेरिरहेका थिए ।

स्पेशलमा ४ सय सिट छन् । बाल्कोनीमा १ सय ५ । जम्मा ५ सय ५ वटा सिट । स्पेशलको टिकट दर ६० रुपैयाँ छ । बाल्कोनीमा बस्नेहरुले ८० रुपैयाँ तिर्नुपर्छ । अझ, विद्यार्थीलाई त छुट समेत छ । विद्यार्थी परिचयपत्र सहित हलमा कोही दर्शक आए भने उनीहरुलाई छुट छ । स्पेशल सिटमा बसेर चलचित्र हेर्दा उनीहरुले २९ रुपैयाँ मात्र तिरे पुग्छ ।

यस्तो अवस्थामा शनिबारको पहिलो शोबाट ‘कप्स’को कमाई कती त ? विद्यार्थी आएका थिएनन् भने चलचित्रको कमाई ५ हजार १ सय हुन्छ । यदि विद्यार्थी आएका भए त अझै कम । हलका व्यवस्थापक सुशिल दाहाल यो किसिमको दर्शकको उपस्थिती एकदमै झुर भएको बताउँछन् । उनले भने–‘शनिबारको दिन पनि यो किसिमको दर्शकको उपस्थिती त दुखलाग्दो कुरा नै हो ।’ चलचित्र राम्रो र चिनिएका कलाकार नभएका कारण हलमा दर्शक नआएको दाहालले बताए ।

हल भित्रका कुर्सीहरु हेर्दा पनि दर्शकलाई २ घन्टाको चलचित्र बसेर हेर्न सहज छैन । बाल्कोनीका सिट केही मात्र सहज देखिए । चलचित्र घरको पर्दा पनि निकै नै कमजोर । पर्दा हेर्दा भन्न सकिन्छ कि, हलले दर्शकमाथि अन्याय गरेको छ ।
अहिले दर्शकले पहिले जस्तो चलचित्र हेर्दा ताली बजाउने, हल्ला गर्ने जमाना गएको हल संचालक बताउँदै थिए । सायद, अहिले पर्दामा कलाकारको क्रेज पनि घटेको हुनुपर्छ ।

व्यवस्थापक दाहाललाई प्रश्न थियो,–‘यस्तो क्वालिटीको पर्दामा पनि दर्शकले चलचित्र हेर्न सक्छन् त ?’ उनले भने–‘यो पर्दा त हामीले राम्रो नै राखेका हौँ । तर, अब यहाँ केही कुराहरु मर्मत गर्नुपर्ने पनि भएको छ । अहिलेलाई दर्शकले यसैमा रमाइरहनु भएको छ ।’

त्यहाँको टिकट दर अन्य चलचित्र हलको भन्दा केही सहुलियत भएका कारण पनि दर्शकहरु त्यहाँ बढि जाने गरेको दाहालको बुझाई छ । बिणा चलचित्र मन्दिरका संचालक भने वितरक नरेन्द्र महर्जन हुन् । बिं स. २०५१ सालमा राजेश हमाल अभिनित चलचित्र ‘सिमाना’ प्रदर्शन गर्दै यो हलको औपचारिक उद्घाटन गरिएको थियो । राजेशको यही चलचित्रले उक्त हलमा धेरै दर्शक पनि तान्न सफल थियो । नरेन्द्र भन्छन्–‘पहिलो चलचित्रको व्यापार नै राम्रो भएको थियो ।’

बिणा चलचित्र मन्दिर पहिला निकै नाम चलेको हल हो । मोफसलमा रहेका अन्य हलबाट भन्दा यस हलबाट निर्मातालाई शेयर बढी नै आउथ्यो । नरेन्द्र भन्छन्–‘पूर्वमा कोसी(मेचीदेखि बारा पत्तलैयासम्ममा सबैभन्दा बढी व्यापार गर्ने हल हो । यहाँबाट निर्माताहरुले राम्रै पैसा लानुहुन्छ ।’

यो हलमा आजसम्म सबैभन्दा बढी व्यापार गरेको चलचित्र ‘छक्का पन्जा’ हो । महर्जनका अनुसार यो चलचित्रले ५ लाख हाराहारीको व्यापार गरेको थियो । उनले भने–‘यहाँ सबैभन्दा बढी व्यापार गर्ने चलचित्र ‘छक्का पन्जा’कै सिरिजहरु छन् ।’

पहिला यो हलमा छविराज ओझाले निर्माण गर्ने चलचित्रहरु बढी चल्ने गरेको व्यवस्थापक दाहालको भनाई छ । उनले भने, ‘पहिला(पहिला छविराज ओझाले निर्माण गर्ने चलचित्रहरु बढी चल्थे । अहिले त छवि बाको चलचित्र नै आउदैनन् ।’
‘छक्का पन्जा’ पछि ‘ए मेरो हजुर ३’को व्यापार पनि राम्रो भएको दाहालले बताए । उनले भने, ‘छक्का पन्जापछि त ए मेरो हजुर ३, कोहिनुर, कहाँ भेटिएला’ लगायतका चलचित्रले राम्रो व्यापार गरेका थिए ।’

एक्सन स्टारको छवि बनाएका निखिल उप्रेती सर्लाही जिल्लाकै रैथाने हुन् । ‘निखिलको चलचित्रले यहाँ राम्रो व्यापार गर्दैन र ?’ भन्ने प्रश्नमा व्यवस्थापक दाहालले उत्तर दिए, ‘पहिला पहिला राम्रै चल्थ्यो । अहिले पनि राम्रो चलचित्र बन्यो भने त चल्छ नै होला ।’

यो हलमा हिन्दी चलचित्रहरु पनि चल्छन् । तर, बेलुकीको शोमात्र । संचालक नरेन्द्रले भने, ‘बेलुकी शोमा नेपाली चलचित्रका दर्शक हुँदैनन् । टाढा टाढाबाट आउनुपर्ने भएकाले उनीहरु बेलुका आउँदैनन् । त्यसैले यहाँको लोकल दर्शकको लागि हिन्दी चलचित्र चलाउँछौ ।’

यो हलमा भोजपुरी चलचित्रलाई पनि स्थान दिइएको थियो । तर, दर्शक नआएपछि भोजपुरी चलचित्र चलाउन छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment