Comments Add Comment

इन्धनमा अनियमितता रोक्न निगमको ट्याङ्कर जाँचिने

२० जेठ, काठमाडौं । गुणस्तर तथा नापतौल विभागले नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ । निगमको डिपोबाट तोकिएको परिमाणभन्दा थोरै मात्रामा तेल डिलरहरुमा पठाइएको गुनासापछि ट्याङ्कर जाँच गर्न लागिएको विभागले जनाएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले निगमको थानकोट कार्यालयलाई परिपत्र गर्दै निगमको थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न भनेको छ । निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद छ । निगमको डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको विद्यमान मापदण्डले आफूहरुलाई अन्याय भएको गुनासो व्यावसायीहरुले गर्दै आएका छन् ।

भारतीय क्यालिब्रेसनले ट्यांकरहरुमा एक सय लिटरसम्म कम इन्धन हुने गरेको व्यवसायीको दावी छ । हरेक वर्ष इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन गर्नुपर्ने नियम भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले यो नियम पालना गरेका छैनन् । भारतीय क्यालिब्रेसन नेपाली मापदण्डको नहुने भएकाले नेपाली मापदण्डका लागि नेपालमै क्यालिब्रेसन अगाडि बढाइएको बिभागका निर्देशक विश्वबावु पुडासैनीले बताए ।

भारतमा अण्डर क्यालिब्रेसन गरेर इन्धन ढुवानी भएको हुनसक्ने आशंकालाई नापतौलको क्यालिब्रेसनले चिर्ने पुडासैनीको विश्वास छ । इन्धन भरिएको ट्यांकरमा तोकिएको मात्रामा इन्धन छ कि छैन भनेर नाप लिइने प्रविधिलाई क्यालिब्रेसन भनिन्छ । गुणस्तर तथा नापतौल विभागले दुई वर्षदेखि यो प्रविधि प्रयोगमा ल्याएको थियो ।

नेपालमै क्यालिब्रेसन गरिने भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले भारतीय क्यालिब्रेसनको कागज देखाउँदै आएका थिए । निगमको डिलरबाट पम्पमा पुग्ने ट्यांकरमा क्यालिब्रेसन गरिँदा इन्धन चोरी हुने समस्याबाट व्यवसायीले मुक्ति पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment