Comments Add Comment

विश्वकप क्रिकेट : पाकिस्तानसँग इंग्ल्यान्ड पराजित

२१ जेठ, काठमाडौं । पाकिस्तानले विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको हो ।

३४९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्रै बनाउन सक्यो ।

इंग्ल्यान्डले हारे पनि दुई खेलाडीले भने शतक हाने । जोइ रुटले १०४ बलमा १०७ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै, जोस बुटलरले १०३ रन बनाए । ७६ बलको सामना गर्दै ९ चौका र दुई छक्का प्रहार गरेका बुटलरले उत्कृष्ट प्रदर्शन गरे पनि आफ्नो टिमलाई जिताउन सकेनन् । रुट र बुटलरले १३० रनको साझेदारी गर्दै जिततर्फ लगेका थिए । तर बुटलर र रुट आउट भएसँगै इंग्ल्यान्ड पराजित भएको हो ।

पाकिस्तानका लागि वाहब रियाजले तीन र मोहम्मद अमिर शादब खानले समान २–२ विकेट लिए ।

ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएपछि इंग्ल्यान्डले ठूलो लक्ष्य पाएको हो । पाकिस्तानका लागि ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेले ।

मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment