Comments Add Comment

आगामी आवमा ३ खर्ब वैदेशिक ऋण थप्ने सरकारको योजना

कुन देशबाट ल्याइर्ंदैछ कति ऋण र अनुदान ?

२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १५ खर्बभन्दा बढिको बजेट सार्वजनिक गर्‍यो । तर, बजेटको प्रमुख स्रोतका रुपमा रहेको राजश्वबाट भने ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ मात्र प्राप्त हुने अनुमान गरिएको छ । बाँकी अपुग रकमका लागि सरकारले वैदेशिक अनुदान र ऋणमा भर पर्नुपर्ने हुन्छ ।

सरकारले वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाउने बताएको छ । राजस्व र बैदेशिक अनुदानबाट जुटाइने रकमपछि बजेटमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ अपुग हुनेछ । जसको पूर्तिका लागि २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ वैदेशिक ऋण लिने सरकारी लक्ष्य छ । त्यसबाट पनि अपुग हुने १ खर्ब ९५ अर्ब रुपैयाँ भने सरकारले आन्तरिक ऋण उठाउने छ ।

कहाँबाट कति ? 

सरकारले आगामी वर्ष आईडीए (वर्ल्ड बैंक) बाट १ खर्ब १९ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ र एशियाली विकास बैंक (एडीबी) बाट ७९ अर्ब ८० करोड ८० रुपैयाँ ऋण तथा अनुदान लिने बताएको छ ।

यसैगरी भारतबाट ६८ अर्ब ९५ करोड २३ लाख, राष्ट्रसंघबाट १ अर्ब ९६ करोड ९५ लाख, चीनबाट १५ अर्ब ८० करोड, फिनल्याण्ड संयुक्त कोषबाट १ अर्ब ४ करोड रुपैयाँ, जर्मनीबाट १ अर्ब ४५ करोड रुपैयाँ, जापानबाट १४ अर्ब ४९ लाख रुपैयाँ ऋण तथा अनुदान लिने योजना अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएका छन् ।

यसैगरी कोरियाको एक्जिम बैंकबाट २५ करोड रुपैयाँ, कुवेतको कुवेत विकास कोषबाट १ अर्ब ६० करोड ६७ रुपैयाँ, स्वीजरल्याण्डको एसडीसीबाट २ अर्ब ७४ करोड ०६ लाख रुपैयाँ, साउदी अरबको साउदी विकास कोषबाट ३ करोड ३४ करोड ३९ लाख रुपैयाँ, बेलायतबाट १ अर्ब ५१ करोड ०३ लाख रुपैयाँ, अमेरिकाबाट ६ अर्ब ४० करोड १० लाख रुपैयाँ, युरोपियन युनियन ५ अर्ब २७ करोड ८२ लाख रुपैयाँ र दाताको संयुक्त कोषबाट ७ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ उपलब्ध गराउने सरकारी योजना छ ।

आगामी आर्थिक वर्षका लागि ल्याउने भनिएको वैदेशिक ऋण तथा अनुदानका लागि केही सम्झौता नै भइसकेको र केहि प्रतिवद्धता आएको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए ।

उनले भने, ‘बजेटमा हचुवामा लेखिएको होइन, सामान्य छलफल मात्रै भएको आधारमा बजेटमा समावेश गरिएको छैन ।’

वैदेशिक ऋण मात्र २ खर्ब ९८ अर्ब

सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि वैदेशिक ऋण मात्रै २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ लिने घोषणा गरेको छ । विश्व बैंकबाट १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ र एशियाली विकास बैंक ७५ अर्ब ६४ करोड २७ लाख रुपैयाँ ऋण लिने सरकारको योजना छ ।

बजेटमा उल्लेख गरिएअनुसार भारतको एक्जिम बैंकबाट ५८ अर्ब ७० करोड ४३ लाख रुपैयाँ, चीनको एक्जिम बैंकबाट समेत गरी चीनबाट १० अर्ब २१ करोड २० लाख रुपैयाँ, जर्मनीबाट २० करोड रुपैयाँ र जापान जाइकाबाट ६ लाख ८८ करोड ९९ लाख रुपैयाँ ऋण लिने बताइएको छ ।

यसैगरी कोरियाको एक्जिम बैंकबाट २५ करोड रुपैयाँ, कुवेतको विकास कोषबाट १ अर्ब ६० करोड ६७ रुपैयाँ, साउदी विकास कोषकाट ३ करोड ३४ करोड ३९ लाख रुपैयाँ, युरोपियन युनियनको इन्भेष्टमेन्ट बैंकबाट ऋण ३ अर्ब रुपैयाँ ऋण लिने सरकारको योजना छ । उता दाताको संयुक्त कोष जम्मा ७ अर्ब ८७ करोड ४३ लाखमध्ये ३ अर्ब ९७ करोड रुपैयाँ ऋण लिने बजेटमा उल्लेख गरिएको छ ।

अनुदान ५७ अर्ब ९९ करोड

आगामी आर्थिक वर्ष २०७६/७७ मा अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ । बजेट बक्तव्यमा एशियाली विकास बैंक -एडीबी) ले ४ अर्ब १६ करोड ५३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अनुदानस्वरुप वल्र्ड बैंकले ६ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ यूएनले १ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ, चीनले ५ अर्ब ६८ करोड ८० लाख रुपैयाँ र फिनल्याण्ड संयुक्त कोष अनुदान १ अर्ब ०४ करोड रुपैयाँ उपलब्ध हुने जनाएको छ । यसैगरी अनुदानस्वरुप जर्मनीको केएफडब्ल्यूले १ अर्ब २५ करोड रुपैयाँ र भारतले १० अर्ब २४ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने आशा गरिएको छ ।

बजेटमा उल्लेख गरिए अनुसार आगामी आर्थिक वर्षमा जापानको जाईकाबाट उपलब्ध हुने ८ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ मध्येमा अनुदान १ अर्ब ७५ करोड रुपैयाँ हुने छ । जापानकै केआर-२ ले पनि १३ करोड रुपैयाँ अनुदान दिने उल्लेख गरिएको छ ।

यसैगरी स्वीजरल्याण्डको एसडीसी २ अर्ब ७४ करोड ०६ लाख रुपैयाँ, बेलायतले १ अर्ब ५१ करोड ०३ लाख रुपैयाँ, अमेरिकाले ६ अर्ब ४० करोड १० लाख रुपैयाँ, अमेरिकाकै यूएसएडबाट ३६ करोड ९१ लाख रुपैयाँ र मिलिनियम च्यालेन्ज कर्पोरेशनबाट ६ अर्ब ०३ करोड १९ लाख अनुदान उपलब्ध हुने बजेटमा उल्लेख गरिएको छ ।
युरोपियन युनियनबाट २ अर्ब २७ करोड ८२ लाख रुपैयाँ र दाताको संयुक्त कोषबाट ३ अर्ब ९० करोड ४३ लाख रुपैयाँ उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment