 
															२३ जेठ, काठमाडौं । आफ्ना दौंतरीहरूजस्तै हेमसागर बराललाई पनि आकाशमा बग्रेल्ती देखिने गिद्धहरूको खासै वास्ता थिएन त्यति बेला । हुन पनि सन् १९८० को दशकमा नेपालका प्रायः सबै क्षेत्रका आकाशमा गिद्ध देखिनु सामान्य नै थियो, ‘भँगेरा र कागजस्तै ।’
समय बित्दै जाँदा बराललाई नेपाली आकाशमा गिद्धको सङ्ख्या क्रमशः घट्दै गएको महसुस हुन थाल्यो । यहाँ केही समस्या रहेको उनले अनुमान लगाए ।
सन् १९९० को दशकको मध्यतिर पुग्दा बरालले आफूलाई चरा विशेषज्ञका रूपमा विकसित गराइसकेका थिए । त्यति नै बेला भारतका वैज्ञानिकले भारत मात्र नभएर दक्षिण एसियाका ९५ प्रतिशतभन्दा बढी गिद्धहरू हराइसकेको पत्ता लगाए । नेपाल पनि त्यो विपदबाट अछुतो नरहेको बराल लगायतका विशेषज्ञले पनि थाहा पाए ।
त्यो तथ्य उजागर भएको दुई दशकभन्दा पछि आज बराल पुनः खुसी साट्ने अवस्थामा फर्किएका छन् । आफू लगायतका विभिन्न व्यक्ति र संस्थाले गरेको प्रयास सार्थक भएको उनले ठानेका छन् किनकी हालसालैको एक अध्ययनले नेपालमा गिद्धको सङ्ख्या पुनः बढ्ने क्रममा रहेको देखिएको छ ।
अझ उत्साहलाग्दो कुरा त के छ भने नेपालको जस्तो वृद्धि दर दक्षिण एसियाका अन्य क्षेत्रमा हालसम्म पनि प्राप्त भइसकेको छैन ।
विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा हालै प्रकाशित अध्ययन प्रतिवेदनको निष्कर्ष छ कि नेपालको सिकाइ यस क्षेत्रका अन्य देशका लागि पनि उपयोगी हुन सक्छ । तर बरालजस्ता विद्वान् र अभियन्ता मात्र नभएर सरकारी तथा अन्तर्राष्ट्रिय निकाय र स्थानीय समुदायको समेत यसमा उल्लेख्य योगदान छ ।
‘आंशिक पुनर्प्राप्ति ’को बाटोमा
बराल आफैं पनि यो अध्ययन टोलीका सदस्य हुन् । टोलीले सन् २००२ देखि हरेक वर्षको वैशाख जेठमा नेपालको पूर्वपश्चिम राजमार्गलाई आधार मानेर एक सर्वेक्षण गर्दै आएको छ । सर्वेक्षणमा डङ्गर र सानोखैरो गरी दुई प्रजातिका गिद्धहरूको अध्ययन गरिन्छ ।

नेपालमा नौ प्रजातिका गिद्ध पाइने भए पनि प्रकृति संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइयुसिएनले उच्च जोखिममा रहेका भनी आफ्नो रातो सूचीमा समावेश गरेका यी दुई प्रजाति छनोट गरिएको हो ।
अध्ययनका अनुसार सन् २०१२–१३ सम्म दुबै प्रकारका गिद्धहरूको सङ्ख्या निरन्तर घट्दै गयो भने त्यसपछिको ग्राफ उकालो लागिरहेको छ ।
सन् २०१२–१३मा यी गिद्धको सङ्ख्या सन् २००२ को अनुमानित सङ्ख्याको २० प्रतिशतभन्दा पनि कम पुगिसकेको थियो । गत वर्षको वैशाखमा आइपुग्दा भने यो सङ्ख्या बढेर २००२ को अनुमानित सङ्ख्याको करिब ८० प्रतिशत पुगेको अध्ययनको निष्कर्ष छ ।
नेपालमा कुन प्रजातिका गिद्धको सङख्या कति छ भनेर अध्येताहरू औपचारिक रूपमा बोल्न चाहाँदैनन् किनकि उनीहरूको सर्वेक्षणमा सबै नभएर केही क्षेत्रका गिद्धको ‘स्याम्पल’ मात्र सहभागी छन् भने गिद्धहरू उड्ने जात भएकाले गन्न पनि सकिदैन ।
यद्यपि अनुभवका आधारमा उनीहरूले दिएको जानकारी अनुसार हाल १५ हजारदेखि २० हजार गिद्ध नेपालमा रहेका छन् । यसमध्ये डङ्गर गिद्धको सङ्ख्या करिब दुई हजार छ भने सानोखैरोको करिब ५० । बाँकी अन्य प्रजातिका छन् ।
अध्ययन टोलीका अर्का सदस्य कृष्ण भुसालका अनुसार हालकै वृद्धि दर कायम हुने हो भने आगामी तिनचार वर्षमा दुबै प्रजातिका गिद्धको सङ्ख्या सन् २००२ कै जति पुग्न सक्छ । समग्रमा डङ्गर गिद्धको वार्षिक वृद्धि दर २२ प्रतिशत र सानोखैरोको ४१ प्रतिशत रहेको छ । सन् २००२देखि २०१२सम्म यिनीहरूको सङख्या घट्ने दर क्रमशः १४ र २५ प्रतिशत रहेको छ । घट्ने क्रमभन्दा बढ्ने क्रम छिटो भएको देखिएकाले भुसाल आशावादी छन् ।
तर, नेपालले गिद्धहरूको सङ्ख्या सन् २००२को जत्तिकै पुर्याए पनि त्यो ‘आंशिक पुनर्प्राप्ति’ मात्र हुने बरालको भनाइ छ ।
कारण : सन् २००२भन्दा अगाडिका दुई दशकमै गिद्धको सङख्या ९७ प्रतिशतभन्दा बढीले कम भइसकेको थियो ।
नाटकीय क्षति र त्यसको कारण
बरालका अनुसार सन् १९८०को दशकको सुरुवातमा नेपालमा करिब १६ लाख गिद्ध रहेको अनुमान थियो । अर्थात् अब पनि गिद्धको कुल सङ्ख्या १६ लाखको छेउछाउ पुगेपछि मात्र नेपालले गिद्ध पुनर्प्राप्तिमा पूर्ण सफलता पाएको मानिने उनी बताउँछन् । यसका लागि दशकौं लाग्छ ।

त्यो दुई दशकको अवधिमा नेपालले करिब तीन प्रतिशत गिद्ध जोगायो भने भारतमा यो सङ्ख्या एक प्रतिशतभन्दा कम रह्यो ।
यस्तो नाटकीय क्षतिपछि अन्तर्राष्ट्रिय संरक्षण समुदायले यसको कारण खोजी गर्न सुरु गर्यो । ‘सन् २००३ तिर आइपुग्दा पत्ता लाग्यो कि किसानले पेनकिलरका रूपमा आफ्ना गाईबस्तुलाई खुवाउने डाइक्लोफेनाक नामक औषधी नै यसको मुख्य कारण रहेछ’, भुसाल सुनाउँछन् । यस्तो औषधी खुवाइएका गाइबस्तुको सिनो खाँदा नै धेरै गिद्ध मरेका रहेछन् ।
‘एक भायल (३० मिलिलिटर) डाइक्लोफेनाकले ३५०देखि ८०० गिद्ध मर्न सक्ने रहेछन्’, उनी भन्छन्, ‘त्यसैले अभियन्ताहरूले यसमा प्रतिबन्ध लगाउन माग गर्न थाले ।’
सन् २००६ मा भारत र पाकिस्तानसँगै नेपाल सरकारले पनि डाइक्लोफेनाकमा प्रतिबन्ध लगायो । यद्यपि पशु चिकित्सा बजारलाई यसबाट मुक्त हुन करिब पाँच वर्ष जति लाग्यो । यसै कारण सन् २०१२सम्म पनि गिद्धको सङ्ख्या घट्दो क्रममा रह्यो भन्ने भुसालको दाबी छ । त्यसपछिको वृद्धि पनि डाइक्लोफेनाक प्रतिबन्धकै असर रहेको उनको ठहर छ ।
पुनर्प्राप्तिको अन्तर्राष्ट्रिय अर्थ
गिद्धको कुल सङ्ख्या सन् २००२को अनुमानभन्दा उकालो लाग्दा पनि नेपालको सफलता ‘आंशिक’ मात्र हुने तर्क गर्ने बराल नेपालको संरक्षण समुदायका लागि पछिल्लो सर्वेक्षण नतिजा अत्यन्त अर्थपूर्ण रहेको कुरामा भने ढुक्क छन् ।

‘गिद्ध संरक्षणमा हामी हाम्रा छिमेकीभन्दा अगाडि छौँ भन्ने कुरा सर्वेक्षणले देखाएको छ । नेपालले यो क्षेत्रको नेतृत्व गर्दै छ’, बराल दाबी गर्छन्, ‘यसको सन्देश के हो भने नेपालको सिकाइलाई भारत र पाकिस्तान लगायत अन्यले पनि पछ्याउनुपर्छ ।’
हुन त भारतमा पनि पछिल्लो समय गिद्धको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको छ । यद्यपि सन् १९८० र ९०को दशकमा भएको क्षतिको अनुपातमा त्यो अत्यन्त कम रहेको बरालको भनाइ छ । भारतमा गिद्धको सङ्ख्यामा केकस्तो परिवर्तन आयो भन्ने विषयमा पछिल्लो समय कुनै आधिकारिक अध्ययन प्रतिवेदन बाहिर आएको छैन । ‘मलाई लाग्छ उनीहरूले यस्तो सुसमाचार सुनाउन अझै केही समय कुर्नुपर्ला’, बराल सुनाउँछन् ।
उता भुसालका अनुसार नेपालको सफलताले संरक्षणका पहलमा स्थानीय संलग्नताको महत्व कति छ भन्ने कुरा देखाउँछ । ‘नेपालका सात ठाउँमा जटायु (गिद्ध) रेस्टुरेन्ट सञ्चालित छन् र सबैतिर स्थानीय समुदाय संलग्न छन् । यी रेस्टुरेन्टमा गिद्धले स्वस्थ मासु खान पाउँछन् ।’
यसै गरी चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घ मिलेर चितवनमा सञ्चालन गरेको गिद्ध प्रजनन केन्द्रले पनि यसमा उल्लेख्य योगदान दिएको उनी बताउँछन् ।

दुई वर्ष अगाडिदेखि केन्द्रले कृत्रिम गर्भाधानद्वारा जन्माइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाड्न सुरु गरेको छ । हालसम्म १८ गिद्ध छाडिएका छन् । ती गिद्धहरूमा स्याटेलाइट ट्याग जडान गरिएको छ, जसले उनीहरूको वर्तमान ठेगाना थाहा दिन्छ । हाल ती गिद्ध पाकिस्तानसम्म पुगेको कुरा थाहा भएको छ ।
भुसालका अनुसार प्रजनन केन्द्रमा जन्माईहुर्काई प्राकृतिक बासस्थानमा गिद्ध छाडिएका विश्वका सुरुवाती घटनाहरूमध्ये यो घटना पनि पर्दछ ।
अबको बाटो
गिद्धको थप संरक्षणका लागि हाल अवलम्बन गरिएका उपायहरूलाई कायम राख्दै थप उपाय पनि पहिल्याउनुपर्ने भुसालको सुझाव छ । डाइक्लोफेनाक बाहेक अन्य केही औषधीले पनि गिद्धलाई मार्न सक्दछन् । त्यसैले पशु चिकित्साका क्षेत्रमा प्रचलित एसिक्लोफेनाक, किटोप्रोफेन र निमुसलाइडजस्ता औषधीमा प्रतिबन्ध लगाई मेलोक्सिकनजस्ता सुरक्षित औषधी प्रयोगमा ल्याइनुपर्ने उनको माग छ ।
कहिलेकाहीँ बिजुलीको तारमा अल्झिई करेन्ट लागेर पनि गिद्धहरूको मृत्यु हुने गरेको छ । यसबाट गिद्धहरूलाई बचाउन नाङ्गो तार रहेका क्षेत्रमा निगेटिभ र पोजिटिभ तारबीचको दूरी बढाइनुपर्छ ता कि गिद्धले एकै पटक दुबैलाई छुन नसकोस् ।
नेपाली किसानहरूमा एउटा अनौठो प्रचलन छ । बाघ र चितुवाजस्ता हिंस्रक जीवले आफ्ना गाइबस्तुलाई मारेर सिनो छाडेको भेटेमा उनीहरू सिनोमा विष हाल्दिन्छन् ।
उनीहरूलाई बाघ र चितुवाप्रति रिस उठिरहेको हुन्छ र पुनः सिनो खान आउँदा ती विष खाएर मरून् भन्ने आशा हुन्छ । तर छाडिएका सिनो खान बाघ र चितुवा प्रायः फर्कदैनन् । बरु आफैं सिकार नगर्ने निर्दोष गिद्धहरू यसबाट मरिरहेका छन् । यो समस्या समाधानका लागि समुदाय सचेत हुनुपर्ने भुसालको भनाइ छ ।
‘सहभागितात्मक संरक्षण सहितको एकीकृत दृष्टिकोणले ठूलो परिवर्तन ल्याउन सक्छ’ उनको भनाइ छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4