Comments Add Comment

बजेट पुस्तिकामा देखिएको त्रुटि अर्थमन्त्रालयले सच्यायो

२३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा देखिएको त्रुटि अर्थ मन्त्रालयले सच्याएको छ ।

बजेटको अनुसूची १ र २ मा त्रुटि भएको र त्यसको गम्भीर अर्थ लाग्ने भन्दै नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले संसदमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सरकारले आगामी आर्थिक वर्ष चालु खर्च ७ सय ८३ अर्ब, पूँजीगत खर्च २ सय ७३ अर्ब र वित्तीय व्यवस्था १ सय ५३ अर्ब रुपैयाँ हुने संशोधित अनुमान गरेको छ । यसअनुसार चालु आर्थिक वर्षमा १२ खर्ब ८ अर्बको स्रोत साधन चाहिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए ।

सरकारले राजस्वबाट ८ सय ६० अर्ब राजस्व जम्मा हुन्छ भनेको थियो जुन राजस्वमध्ये १ सय २ अर्ब प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने हुन्छ । त्यसो गर्दा संघीय सरकारले खर्च गर्न पाउने राजस्व रकम ७ सय ५८ अर्ब रुपैयाँ हुन्छ ।

तर बजेट पुस्तिकामा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा जोडेर संघीय सर्वसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरेको थियो । जुन त्रुटि कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका रिजालले औल्याएका थिए ।

यो पनि पढ्नुहोस कांग्रेसले पत्ता लगायो बजेट पुस्तिकामा त्रुटि, अर्थमन्त्रीले दिए धन्यवाद

आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारले पाउने कुल राजस्वमा विदेशी अनुदान जोड्दा ८ सय ४ अर्ब सरकारको स्रोत साधन रहन्छ । जसबाट न्युन हुने ४ सय ४ अर्बमध्ये सरकारले विदेशी २ सय १० अर्ब र आन्तरिक ऋण १ सय ७२ रुपैयाँ उठाउने बताएको छ । तर अर्थमन्त्रीले बिगारेको हिसाबअनुसार चालु आर्थिक वर्षको बजेटमा २२ अर्ब रकम न्युन हुन जाने थियो ।

कांग्रेस सांसद रिजालले सरकारले संसदलाई झुक्याएर आन्तरिक ऋण धेरै उठाउन खोजेको आरोप लगाएका थिए । संसदले दिएको म्याण्डेटभन्दा बाहिर गएर आन्तरिक ऋण उठाउन नपाइने भन्दै उनले अर्थमन्त्रीको जवाफ माग गरेका थिए ।
अनुसूची २ को वर्तमान श्रोतबाट भन्ने शिर्षकमा समेत शिरदेखि पुछारसम्म सबै सच्याइएको छ । यो गल्ती पनि नेता रिजाले नै औल्याएका थिए ।

बजेट सम्बन्धी छलफल चलिरहेको बेला बैठकमा अर्थमन्त्री खतिवडाले रिजालले देखाएको त्रुटि सही भएको बताएका थिए । जवाफमा अर्थमन्त्री खतिवडाले सरकारले उठाउने कुल राजस्वबाट प्रदेश र स्थानीय तहले पाउने राजस्व घटाउनुपर्नेमा त्रुटिवश जोडिएको बताएका थिए ।

उनले आन्तरिक ऋण पनि १७२ अर्ब भन्दा बढी नउठाउने बताएका थिए । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले बजेटमाथि उठेका प्रश्नमाथि जवाफ दिँदै सबै त्रुटिहरु सच्याएको बताएका थिए । त्यस अनुसार बजेट पुस्तिका पनि सच्याएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment