+
+
Shares

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको छ : कार्यकारी निर्देशक श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको बताउनुभयो ।
  • उहाँले १० भदौको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निमाणलाई पहिलो प्राथमिकता दिने र ट्रान्समिसन तथा डेब्रिज सफाइ अघि बढाउने बताउनुभयो ।
  • उहाँले सुनकोशी–३ जलविद्युत् आयोजनाको विस्तृत डिजाइन र इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको जानकारी गराएका छन् ।

बुधबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

सुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरूलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य शुरु भइसकेको समेत उनको भनाइ छ ।

‘हामीले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनको लागि विकल्प समेत सोचिरहेको अवस्था छ । यसको लागि ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले टास्क फोर्स नै गठन गरेको छ । हामी जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन दिँदैनौँ । जनतालाई सेवा सुविधा, र गुणस्तरीय बिजुली दिने कुरा नै मेरो प्राथमिकतामा रहन्छ,’ उनले भने ।

बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाणको लागि तत्कालीन र दीर्घकालिन रणनीति निर्माणमा जुट्ने समेत उनले बताए ।

उहाँले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि जानकारी दिए । बाढीका कारण चिलिमे हबमा हाल सञ्चालनमा रहेको १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर गएको छ । नागरिकलाई सहज तथा गुणस्तरीय बिजुली वितरण गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘१० भदौको रसुवाको भोटेकोशी बाढीले राज्य र नेपा विद्युत प्राधिकरणलाई पनि ठूलो क्षति पुर्‍याएको छ । हामीले यसबाट हामी उठ्नको लागि तत्कालीन र दीर्घकालीन योजना बनाइरहेका छौँ । शुरुमा त अहिले क्षति भएका ट्रान्समिसनलाई नै पुन:स्थापना गर्ने नै हो । अहिले चल्न सक्ने प्लान्टहरू चिलिमे हबमा मात्र १ सय ३५ मेगावाट रहेको छ,’ उनले भने, ‘अन्य दुई चार वटा हाइड्रो पावर प्लान्ट्स, राष्ट्रिय प्रणालीमा जोड्ने नै हाम्रो सबभन्दा पहिलो टार्गेट हुनेछ । यसको लागि प्राधिकरणले काम पनि गरिसकेको अवस्था छ । हाइड्रोपावरमा भएको डेब्रिजहरू सफा गर्ने, त्यो डेब्रिज सफा गरिसकेपछि त्यसको चाहीँ ड्यामेज एसेसमेन्ट गरेर चाहीँ त्यसलाई पुन: निर्माणको योजना चाहीँ अगाडि बढाउने भन्ने नै हाम्रो रणनीति रहेको छ ।’

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले बुधवार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका थिए ।

असोज २ मा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?