+
+
Shares

खुमनका सांगीतिक यात्रा : एकै दिन १० वटा गीत रेकर्ड गराएको त्यो क्षण

दीप्सन लुइटेल दीप्सन लुइटेल
२०७६ जेठ २४ गते ११:४१

कथा जस्तो लाग्छ, खुमन अधिकारीले एक दिनमै १० वटा गीत रेकर्ड गराएका थिए । त्यसबखत उनी करियरको उत्कर्षमा थिए । स्याङ्जाली ठिटोको खुबी र माग कस्तो थियो भन्ने कुरा त्यही आँकडाले बताउँछ ।

प्रेम विरहका ठेट भाकामा उनी औधी रुचाइए । त्यही कारण त उनले विश्राम पाएनन्, अविछिन्न गाउनुपर्‍यो  । यो करियरको पूर्वाद्धको कुरा हो ।

संयोग कस्तो थियो भने, रेकर्डिङ स्टुडियो छिरेको पहिलो दिन नै उनको आवाजबाट तीनवटा गीत रेकर्ड गराइयो । ‘पढेर शिक्षक बन्छु’ भन्दै स्याङ्जाका घर छाडेका उनी लोक दोहोरी गायनको जादुगर पो निस्किए ।

उनको भाकामा जादु नै थियो । ‘तिम्रो घरमा नौमती बजाउँदा’, ‘सिलाइ दिऊला भोटो’, ‘कपाल कोर्ने काइयो’, ‘रुमाल चिनो लैजाऊ बैनालाई’जस्ता गीतको थुप्रो लगाएका खुमनको सांगीतिक आरोह–अवरोह भने कम्ता घतलाग्दा छैनन् ।

स्याङ्जाको धुन

स्याङ्जा गीत–संगीतको लागि उर्वर लाग्छ, खुमन अधिकारीलाई । उनी त्यही जन्मिए, त्यही हुर्किए । त्यसैले त उनमा पनि संगीतको घर्षण भयो ।

घाँस दाउरा गर्न गएकाहरु बनपाखा थर्काउँदै गीत गाउँथे । खुमनलाई लाग्थ्यो, स्याङ्जाको त रुख पनि गाउँछ । खोँच र पहाड पनि गाउँछ ।

खुमन पनि त गुनगुनाउथे ।

सुन्नेहरु भन्थे, ‘तेरो स्वर त मीठो छ ।’ यसो भन्नेमा छिमेकका दौतरी हुन्थे, विद्यालयका सहपाठी हुन्थे । यस्तै उक्साहटले उनीभित्र ‘गायक बन्ने’ भोक जगाइदिएको थियो ।

खुमन भन्छन्, ‘स्कुलमा हुने कार्यक्रममा पनि म गीत गाउथेँ । हरेक ठाउँमा म प्रथम हुन्थेँ ।’

तर, खुमनको आमाबुवा चाहन्थे, छोरो मास्टर (शिक्षक) बनोस् । केटाकेटीलाई पढाओस् । गाउँमा इमान–इज्जत राखोस् ।

बुवाआमाको सदीक्षालाई मनको कुनामा पालेर खुमन काठमाडौं आए । डेरा लिए । शिक्षा संकायमा कलेज भर्ना भए । पढ्न थाले । गाउँबाट प्लस टु सकाएका थिए । काठमाडौंमा स्नातक गर्नु थियो । यो ०६२ सालको कुरा ।

डेरा थियो, अनामनगरमा । कलेज ताहचल क्याम्पस । हिँडेर कोठा र कलेज आउजाउ गर्थे । गाडी चढ्ने खर्च पुग्दैनथ्यो । दुःख गरे । पढे । तर, शिक्षक भएनन् ।

बाटो मोडियो

त्यो समय पुरानो बसपार्कमा रहेको सिटी मार्केटको अन्डरग्राउन्डमा दोहोरी साँझ रेष्टुरेन्ट थियो । त्यही सडक किनार भएर हिँडिरहँदा दोहोरी साँझमा घन्कने गीतहरुले उनको ध्यान भंग गथ्र्यो । कलेजतर्फ लम्किएको उनको पाइलाको चाल एकाएक रोकिन्थ्यो । उनी केही क्षण उभिएरै सुन्थे ।

तर, कहिलेसम्म मनलाई बाँधेर राख्नु ? बेलाबखत उनी दोहोरी साँझको रमझम हेर्न सुटुक्कै सिंढीबाट ओर्लन्थे । हेर्थे । मख्ख पर्थे । एकदिन उनले मुख बार्न सकेनन्, आफूलाई पनि गाउन मन लागेको कुरा भनिदिए ।

साहुनी थिइन् । उनले स्वीकृतिको टाउको हल्लाइन् । तर, यसका लागि ट्रायल पास गर्नुपर्ने भयो । ट्रायलका लागि उनले तीन दिन गाउनुपर्ने । पहिलो दिन प्रत्यक्ष गायनमा उनलाई भीम कलाले साथ दिइन् । उनलाई त्यहाँ गाएको दोहोरी अझै याद छ । खुमन भन्छन्, ‘त्यहाँ उहाँले गाउनु भएको दोहोरी र मैले दिएको उत्तर सबै याद छ मलाई ।’ त्यहाँ उनीहरुले राजु परियार र लक्ष्मी न्यैपानेले गाएको ‘गोरखनाथ मनकामना’ बोलको गीतमा दोहोरी गएका थिए ।

खुमनको गायकीले दोहोरी साँझका सञ्चालकलाई तान्यो । उनले जागिर पाए । खुमन सम्झन्छन्, ‘त्यहाँ जागिर पाएको दिन छुट्टै खुसी मिलेको थियो । एक त मेरो रहर पूरा गर्ने ठाउँ पाएको थियो । अर्को कुरा कोठाको भाडा अब घरबाट माग्नु पर्दैन भन्ने खुसी थियो ।’

खुमनले त्यहाँ १ वर्षसम्म काम गरे ।

त्यसपछि उनर्ले ‘भन्ज्याङ दोहोरी साँझ’मा काम सुरु गरे । यस्तैमा खुमनको भेट सीता पौडेलसँग भयो । दोहोरीमा नै आएकी सीता खुमनको स्वरबाट प्रभावित थिइन् । उनले खुमनलाई गीत गाउनको लागि अफर गरिन् । खुमन भन्छन्, ‘गीत गाउने रुचि भइरहेको मलाई गीत गाउने मौका दिनुहुँदा त्यो खुशी नै अर्कै थियो नि ।’

पहिलो गीत रेकर्ड गराउँदा

सीतालाई भेटेको केही दिनमा नै खुमनले गीत रेकर्ड गराउने अवसर पाए । गीतको बोल थियो, ‘इश्वर पनि देब्रे परेछ’ । उक्त गीत रेकर्ड गराउन गएका खुमनले त्यहीँ दिन तीन वटा गीत रेकर्ड गरेर फर्किए ।

खुमन सम्झिन्छन्, ‘स्टुडियोमा मैले गीत रेकर्ड गराउँदा अरु दुई गीत रेकर्ड गर्न एक चर्चित गायकलाई उहाँहरु कुरिरहनु भएको रहेछ । मैले ईश्वर पनि देब्रे परेछन गाएको सुनेर ती दुई गीत पनि मैले गाउन पाएको थिएँ ।’ खुमनले तीन वटा गीत गाएर झण्डै ५ हजार रुपैयाँ लिएर फर्किएका थिए ।

गीत गाउने रहर सपना जस्तै थियो, खुमनको लागि । अवसर पाए । खुमनको लागि अवसर पाउनु नै ठुलो कुरा थियो । त्यो माथि पहिलो दिनको रेकर्डमा नै तीन वटा गीत गाए । आहा ! खुमनको मन फुरुङ्ग थियो ।

गीत रेकर्ड गराएपछि खुमन हत्तारिएर कोठामा आइपुगे र आमालाई फोन गरे, ‘आमा मैले गीत गाएँ । अब तपार्इंहरुले मेरो स्वरको क्यासेट किनेर सुन्न पाउनुहुन्छ ।’
छोराको यो खुशीमा आमा पनि खुशी नै थिइन् । तर, बुवालाई भने छोराको पढाइको पनि चिन्ता थियो । बुवा भन्थे, ‘रहर पूरा गर्न पाइस् । पढ्ने पनि गर है बावु ।’ खुमनले उत्तरमा ‘हस्’ बोल्थे ।

खुमनले रेकर्ड गराएको तीनवटै गीत एकै समय रिलिज भयो । जतिले खुमनको स्वर सुने सबैले प्रशंसा गरे । बजारमा नयाँ गायकको प्रवेश भएको हल्ला मच्चियो । खुमन भन्छन्, ‘जतिले पनि सुन्नुभयो उहाँहरुले मेरो प्रशंसा नै गर्नुभयो ।’ ती तीन गीत रिलिज भएपछि खुमनलाई धेरै गीत गाउने अफर आए ।

दिनमा १० वटा गीत रेकर्ड

खुमनको व्यस्तता निकै बढ्यो । एकै दिनमा १० वटासम्म गीतको रेकर्ड गराएका छन् उनले । उनी भन्छन्, ‘मैले एकै दिनमा प्रिज्म स्टुडियोमा ३, काठमाडौं स्टलमा ३ , त्रिवेणीमा २ र परिवेशमा २ वटा गीत रेकर्ड गराएको छु ।’ त्यो समय अहिलेको जस्तो युट्युबको जमना थिएन । क्यासेट बनाएर बजारमा बेचिन्थ्यो । त्यो समय खुमनको एउटै गीतको ५० हजार क्यासेट बिक्री हुन्थे ।

त्यो समय पनि खुमनले दोहोरीमा पनि काम गरिरहेका थिए । पछि भने दिनमा ३–४ वटा गीत रेकर्ड गराउनु परेपछि उनले दोहोरी छाडे । उनी भन्छन्, ‘दोहोरीमा काम गर्दा मलाई निकै रमाइलो लाग्थ्यो । पछि बाध्यताले छोड्न पर्‍यो ।’

शिक्षक बन्ने सोच बनाएर पढ्नका लागि काठमाडौं आएका खुमन एकाएक चर्चित गायक बने । यो उनको लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । खुमन भन्छन्, ‘यो त असोचनीय नै थियो नि । त्यो दोहोरीमा नजोडिएको भए मात्र पनि अहिले म शिक्षक भएर पढाइरहेको हुन्थेँ ।’

जब क्यासेटको बजार पत्तासाफ भयो

२०६७–०६८ सालपछि लोकगीतका क्यासेटहरु बिक्री हुन छाडे । दुईतर्फी रेकर्ड भएर बिक्री हुने प्रचलन टुंगियो । अब एक गीत मात्र रेकर्ड गराउने चलन सुरु भयो । खुमनलाई यो तरिका मन परेन । उनी भन्छन्, ‘जाबो एक गीत रेकर्ड गराएर के हुने हो र भन्ने लागेर रेकर्ड कम गरे ।’

त्यहीँ समय मेला महोत्सवमा कलाकारलाई बोलाउने चलन बढ्यो । खुमन पनि भ्याइ नभ्याइ मेला महोत्सवमा उपस्थित हुन थाले । रेकर्डिङको काम ठप्प भयो । केही वर्ष उनी मेला महोत्सवमा नै व्यस्त रहे ।

तर, एक दिन खुमनको मनमा नराम्रो कुराले स्थान बनायो । उनले आफू रेकर्डिङमा पनि लाग्नुपर्ने सोच पलायो । उनी सम्झिन्छन्, ‘मैले पहिला राम्रो राम्रो गीत रेकर्ड गराएको थिएँ र पो अहिले मेला महोत्सवमा गाउने मौका पाइरहेको छु । यदि मैले त्यो पहिलाको जस्तो सफल गीत गाउन सकिनँ भने त यो पनि हुन्न भन्ने लाग्यो र रेकर्डिमा पनि समय दिन थालेँ ।’

रेकर्डिङमा फर्किएका खुमनको सुरुवाती गीतहरु सफल हुन सकेनन् । तर, जब खुमनले ‘देख्न मन लाको छैन् र’ बोलको गीतमा स्वर दिए । उक्त गीतले सीडीमा भिडियो बनेर सार्वजनिक हुने लोकगीतमा राम्रो स्थान पायो । उक्त गीतको सफलता पछि केही सुस्ताएका खुमन फेरि माथि उठे । उनी पुनः दैनिक जस्तै गीत रेकर्डिङ सुरु गर्न थाले । खुमन भन्छन्, ‘उक्त गीतले पुनरस्थापाना गर्‍यो भन्दा फरक नपर्ला ।’

युट्युबको जमनामा

अहिले क्यासेट र सीडीको जमना सकिएको छ । अहिले गीत संगीतलाई दर्शकमाझ छिटो र सजिलो तरिकामा पुर्याउन युट्युबले निकै ठूलो सहयोग गरेको छ । खुमनले पनि यसलाई बुझेका छन् । उनी भन्छन्, ‘अहिले त क्या सजिलो छ । भिडियो बनायो युट्युबमा हाल्यो । दर्शक कति आए, रुचाए रुचाएनन् सबै एकैछिनमा थाहा पाइन्छ ।’
पछिल्लो समय लोक गीतमा निकै सफल भएको गीत ‘सालको पात’ले दोहोरी गीतमा दर्शक फर्काएको कुरामा पनि खुमन विश्वास गर्छन् । उनी भन्छन्, ‘हरेक समय एउटा ट्रेण्ड चेन्ज गर्ने गीत हुन्छ । सालको पात पनि ट्रेण्ड चेन्ज गर्ने गीत हो । यसले दोहोरीको दर्शक फर्काएको छ ।’

अहिले खुमनले गाएको नयाँ गीत ‘कोइली कराउने’ पनि युट्युबमा निकै लोकप्रिय छ । यस गीतले युट्युबमा ३३ लाख बढी भ्युज पाएको छ । खुमनको अर्को गीत ‘१४ अञ्चल ससुराल’ पनि निकै लोकप्रिय बनेको छ । खुमन भन्छन्, ‘युट्युबमा भिडियो हेर्ने वा लोकगीत सुन्ने नयाँ दर्शकको लागि पनि खुमन अधिकारी भनेर सर्च गर्नुपर्ने अवस्था मैले बनाइसकेको छु । त्यो पहिलाको लोकप्रियता फेरि पाउनेमा म ढुक्क नै छु ।’

हालै मात्र खमनले दुई वटा गीत रेकर्डसमेत गराइसकेका छन् ।

चलचित्रको गीतमा पनि

अहिले नेपाली चलचित्रमा पनि लोकगीतलाई विशेष स्थान दिइन्छ । लोकगीत नभएको त चलचित्र नै छैन् भने पनि हुन्छ । यस्तैमा खुमनले पनि चलचित्रमा गीत गाउने अवसर पाएका छन् । खुमनले ‘काउसो’ नामक चलचित्रका लागि रेकर्ड पनि गराइसकेका छन् भने अन्य दुई गीत रेकर्डको तयारीमा छन् ।

खुमन भन्छन्, ‘आखिर गीत त गीत नै हो । त्यहीँ पनि चलचित्रमा पनि गाउने ठूलो रहर नै थियो । त्यो अहिले पूरा भएको छ । अब भने निरन्तर अफर आयो भने चलचित्रको गीत पनि गाउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?