Comments Add Comment

पोखरेली नाटक ‘घेरो’ काठमाडौंमा प्रदर्शन हुने

२४ जेठ, पोखरा । पोखरामा हिजोआज एकपछि अर्को नाटक मञ्चन भइरहेको छ । पछिल्लो पटक पोखरेली नाटक पोखराको घेरो नाघेर काठमाडौंमा मञ्चन हुँदैछ । युथ क्रियसन थिएटरले तयार पारेको ‘घेरो’ शुक्रबार काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन हुँदैछ ।

‘घेरो’ लोक नाटक घेरो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा मञ्चन हुन लागेको युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिए ।

बालनको शैलीलाई पछ्याउँदै भजनमार्फत कथा वाचन हुने नाटक पोखरेलीले खुब मन पराए । यही नाटक मञ्चन गर्न युथ क्रियसनको टोली सुर्खेत पुग्यो । रारा राष्ट्रिय नाटक महोत्सवमा समेत यसले दर्शकको मन जित्यो ।

गण्डकी क्षेत्रमा बोलिने भाषा र लवजलाई कलाकारले टपक्क टिपेर नाटकमा उतारेका छन् । यो नाटक पोखरामा १८ शो चल्यो ।

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन भएको ‘घेरो’ यसपटक काठमाडौं मञ्चन गर्न पाउँदा उत्साही छन्, अध्यक्ष कपिल शर्मा । शर्मा आफैंले नाटक निर्देशन गरेका हुन् । अनुभवी रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोक नाटकको स्वरूप दिएका थिए ।

केदार पौडेलले लेखेको नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । नाटकको भजन रचना मधुसुदन पौडेलले गरेका हुन् ।

‘घेरो’ पुरातन र रुढीवादमाथिको प्रहार रहेको निर्माण पक्षको दाबी छ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र शर्मिला बस्नेतले दम्पतीको अभिनय गरेका छन् भने ममता मञ्जुलले फुरुमैको अभिनय गरिकी छन् ।

नाटकमा सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुनलगायतले अभिनय गरेका छन् भने मधुसुदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् ।

जाग्दै, सुस्ताउँदै गरेको पोखरेली रंगमञ्च ७० को दशकमा युथ क्रियसन थिएटरको पहिलो प्रस्तुति नाटक ‘अन्तराष्ट्रिय रक्सी भट्टि’ बाट फेरि जागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment