Comments Add Comment

कक्षा एकमा शिक्षामन्त्री, विद्यार्थीले पढाए कखरा

२४ जेठ, विराटनगर । चैत पहिलो साता शिक्षामन्त्री गिरिराजमणि पोखरेल जागृति आधारभूत विद्यालयमा छड्के अनुगमन गर्न पुग्दा २–४ जना मात्र विद्यार्थी थिए । शिक्षक थिएनन् ।

दुई महिनापछि त्यही विद्यालयमा पुग्दा १५० विद्यार्थी भेटेपछि शिक्षामन्त्री पोखरेल दंग परे । स्कुलले गरेको मेहनतबारे चासो मात्र दिएनन्, दुई घन्टा विद्यार्थी बनेर कक्षामा बसे । शिक्षामन्त्री पोखरेल विद्यार्थी बनेर बस्दा शिक्षक भने कक्षा १ कि एक छात्रा बनेकी थिइन् । उनले ए, बी, सी, डी र कखरा पढाइन् ।

दुई घन्टा पढेपछि विद्यार्थीहरुको खाजा खाने बेला भयो । विद्यार्थीहरु खाजा खान घर जाने थाहा पाएपछि उनले दिवा खाजा उपलब्ध गराउने आश्वासन दिएर फर्किए ।

दुई महिनाअघि शिक्षामन्त्री छड्केमा आउँदा स्कुलको प्रध्यानाध्यापक गणेश अधिकारी थिए । निजी स्कुल सञ्चालन गरिरहेका अधिकारीको सरुवा भएपछि दधीराम नेपाल प्रध्यानाध्यापक भए । १५ वैशाखमा हाजिर भएका नेपालले अभिभावकसँग घरदैलो गरी ४ जना विद्यार्थीबाट १४८ जना पुर्‍याएका छन् ।

ऋषिदेव समुदायका विद्यार्थी मात्र अध्ययन गर्ने स्कुलमा वृहत राष्ट्रिय शिक्षा अभियानले पनि काम गरिरहेको छ । अभियानले विराटनगरका पाँचसहित देशभरका १० वटा विद्यालयमा शिक्षा सुधारको काम गरिरहेको अभियानका सहसंयोजक श्रीमन्त भट्टराई बताउँछन् । ‘मन्त्रीज्यू फर्किहाल्नुहुन्छ जस्तो लागेको थियो तर, दुई घण्टा बस्नुभयो’ उनले भने, ‘विद्यार्थीसँगै पढ्नुभयो ।’

निजी जस्तै बनाउने बाचा

काज सरुवा लिएर जागृति स्कुलमा हाजिर भएका नेपालले ४ जना मात्र विद्यार्थी भेटेका थिए । विद्यार्थी कम भएपछि खोरिया क्षेत्रमा घरदैलो अभियान चलाए र विद्यार्थीको संख्या १५० कटाए ।

‘व्यागमा चकलेट बोकेर विद्यार्थी लिन घरघर पुगेको छु’ उनी भन्छन्, ‘चकलेट दिएर विद्यार्थीलाई फकाएँ । अभिभावकलाई एक वर्ष पठाइदिनू, बोर्डिङको जस्तो बनाउने बाचा गरेको छु ।’

अभिभावकलाई पढाई सुधार गर्ने बाचा गरेका नेपालको आफ्नै कहिले सरुवा हुने टुंगो छैन । ‘काज सरुवा भएर आएको मन्त्रीलाई पनि सुनाएको छु’ प्रधानाध्यापक नेपालले अनलाइनखबरसँग भने, ‘यही राखिदिए स्कुल बनाएर देखाउँछु भनेको छु ।’

मन्त्रीले पनि काम गर्न दिने आश्वासन दिएका छन् । बालदेखि तीन कक्षा पढाई हुने विद्यालयमा नेपालसँगै दुई बाल शिक्षिका र दुई सहयोगी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment