Comments Add Comment

प्रधानसेनापतिलाई प्रश्न– मानार्थ लप्टनको सुविधा किन कम ?

सेनाको आधुनिकिकरणका लागि योजना तयार हुँदै

Photo Credit : नेपाली सेना, जंगीअड्डा

२४ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र रहेको गुनासो सुन्न नयाँ अभियान थालेका छन् । शुक्रबारदेखि थापाले ‘सिपाहीका साथ प्रधानसेनापति’ कार्यक्रम सुरु गरेका हुन् ।

नेपाली सेनाको जंगी अड्डाले संगठनकै इतिहासमा पहिलो पटक सकल दर्जाको पिरमर्का र समस्या सिधै प्रधानसेनापतिले सुन्ने कार्यक्रम थालिएको जनाएको छ । प्रत्येक त्रैमासिकमा गरिने कार्यक्रममा उपत्यकाका सैनिक जवान, पदिक, अधिकृत र अन्य उच्च सैनिक अधिकारी उपस्थित थिए ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा उपत्यकाबाहिर संयुक्त राष्ट्र संघको मिसनमा गएका अधिकृत पनि भिडियो कन्फरेन्समार्फत जोडिएका थिए । सैनिक स्रोतका अनुसार कार्यक्रममा उपत्यका बाहिरबाट ११ वटा जिज्ञासा राखिएको थियो ।

गुनासासँगै समाधानको पहल

कार्यक्रममा सहभागी एक अधिकृतका अनुसार सैनिक जवानले सेवा, सुविधादेखि लिएर कल्याणकारी कोषसम्मका विषयमा जिज्ञासा राखेका थिए । सेनामा मानार्थ लेप्टनको उपाधि दिइएको व्यक्तिले पाउने सुविधा सुवेदार मेजरभन्दा कम रहेको विषयमा पनि अधिकृतले गुनासो राखेका थिए ।

जवाफमा त्यो विषय मन्त्रालय तहबाट हल हुनुपर्ने बताउँदै पहलका लागि कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कल्याणकारी कोष अन्तरगत सैनिक विद्यालयमा पढाउने विषयमा पनि सुविधा थप गर्न प्रधानसेनापति थापासमक्ष माग गरिएको थियो ।

थापासँगै रहेका विभिन्न विभागका प्रमुखले समेत अधिकृतको प्रश्नको जवाफ दिएका थिए । संगठनभित्रको समस्यालाई समयमै हल गरेर निराशा फैलान नदिने उद्देश्यले कार्यक्रम गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् ।

सेनाको आधुनिकरणमा लाग्ने प्रतिबद्धता

कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सेनाको आधुनिकरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । सेनाको आधुनिकिकरण र आत्मनिर्भरता अभिवृद्धि गर्न दीर्घकालीन योजना तयार भइरहेको उनको भनाइ थियो ।

‘सेनाको दीर्घकालिन योजना स्वरुप नेपाली आर्मी भिजन–२०३० तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ’, थापाले भने, ‘सकल दर्जाको सकरात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीमा सुधारात्मक प्रवृत्ति देखिएको छ ।’

सेनाले सुरु गरेको परिवर्तनको संगठनभित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment