Comments Add Comment

पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने

Photo Credit : NASA

२५ जेठ, काठमाडौं । पर्यटकहरु आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने छ ।

स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक कामको लागि खुला गर्न लागिएको अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्राष्ट्रिय स्पेस स्टेशन जान पाउने बीबीसीले जनाएको छ ।

अन्तरर्राष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोबिन गेटेन्सले भनेका छन्, हरेक वर्ष छोटो अवधिको लागि निजी अन्तरिक्ष मिशन पठाइने छ । यस मिशनको खर्च निजी कम्पनीले व्यहोर्ने छ ।

नासाका अनुसार निजी अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जानका लागि ३० दिन लाग्ने छ । उनीहरुलाई अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गराइने छ ।

अन्तरर्राष्ट्रिय स्पेस स्टेशन बाहिरी अन्तरिक्षमा अवस्थित छ । अन्तरिक्षसँग सम्बन्धी अनुसन्धान गर्नका लागि विकसित गरिएको थियो । यो पृथ्वीको नजिकको कक्षमा स्थापित छ । यो स्टेसन एक प्रकारको कृत्रिम उपग्रह हो, जहाँ मानिसहरु बस्छन्, काम गर्छन् र धेरै प्रकारका प्रयोग गर्दछन् ।

मुख्य लेखा अधिकारी जेफ डेविटले भनेका छन्- नासा अन्तरर्राष्ट्रिय स्पेस स्टेशनलाई व्यवसायिक अवसरका लागि खुला गरिँदै छ । हामीले यस्तो पहिलोपटक गर्न गइरहेका छौं ।

निजी कम्पनीले नै क्रूमा को-को रहने भन्ने तय गर्ने छ र उसैले नै अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

नासाले यस कामका लागि इलोन मस्कको स्पेसएक्स र बोइङ्ग नामका दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । स्पेसएक्सले आफ्नो ड्रागन क्याप्सुल प्रयोग गर्ने छ भने बोइङ्गले स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइ रहेको छ । यी कम्पनीले कुनै निजी अन्तरिक्ष यात्रीसँग त्यति नै भाडा लिने छ, जति उसले नासाका अन्तरिक्ष यात्रीहरुसँग लिने गरेको छ । अर्थात् हरेक उडान उसले ६ करोड डलरभन्दा बढी भाडा लिने छ ।

नासाको पहिलो पर्यटक

यसअघि नासाले स्पेस स्टेशनलाई कुनै व्यवसायिक प्रयोगमा रोक लगाएको थियो र उसका अन्तरिक्ष यात्री अन्य कम्पनीको अनुसन्धानमा भाग लिन पाउँदैनथे । यद्यपि नासा यस स्टेशनको मालिक होइन ।

अमेरिका र रुस मिलेर सन् १९९८ मा यसको निर्माण सुरु गरेका थिए ।

सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जाने पहिलो पर्यटक थिए । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर बुझाएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पेश गरेको बजेटमा सन् २०२५ सम्म स्टेशनलाई सरकारी रकमबाट चलाउन बन्द गर्नुपर्ने उल्लेख गरेका थिए ।

यसै सन्दर्भमा नासाले गरेको यो नयाँ घोषणालाई स्टेशन पूर्णरुपमा निजीकरण गर्ने कदमको रुपमा लिइएको छ ।

यसैबीच स्पेस एजेन्सीले हालै सन् २०२४ सम्म फेरि चन्द्रमामा जाने योजना बनाइरहेको छ । यस पटक पहिलो महिला र दशकौंपछि पहिलो पुरुषलाई नासामा पठाइने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment