Comments Add Comment

शेयर बजारलाई गिराउने प्रवृति रोक्न अर्थमन्त्रीको बोर्डलाई निर्देशन

२५ जेठ, काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

सनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिए ।
मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उनले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजार देखिने भएकाले शेयर बजारलाई उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि बोर्ड सँधै चनाखो हुनुपर्ने बताए ।

मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैंक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गरे ।

बैंकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क उने गरे ।

कोमोडिटी मार्केटलाई अझै पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औल्याए ।

लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारद्धारा नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भूमिका प्रभावकारी बन्न नसकेको गुनासो हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment