Comments Add Comment

विशेष कक्षा बन्द हुँदा दृष्टिबिहीन विद्यार्थी मर्कामा

२५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२ छपकैयाका अफताब आलम र बहुदरमाई नगरपालिका-२ बैरियाविर्ता सिसयाडी टोल बस्ने फरजन अन्सारी दुवै जना दृष्टिबिहीन हुन् ।

उनीहरु आँखा देख्दैनन तर आवाज पहिचान गर्न सक्ने क्षमता गजबको छ । वीरगञ्जमा सञ्चालनमा रहेको विभिन्न रेडियोका आरजे, उनीहरुले चलाउने कार्यक्रम, समाचार वाचकको नाम र स्वर उनीहरुलाई कन्ठस्त छ । समय मिलेसम्म रेडियो सुनेर आफूहरुले धेरै कुरा सिक्ने गरेको उनीहरु बताउँछन् ।

तर, जेठ महिना लागेदेखि नै उनीहरु चिन्तित छन् । कारण उनीहरुले अध्ययन गर्ने विशेष कक्षा नै बन्द भएको छ ।

वीरगञ्ज चिनी कारखाना आवास क्षेत्र स्थित सिदार्थ माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिहीन विद्यार्थी लक्षित विशेष कक्षा बन्द गरिएको हो ।

विशेष कक्षा बन्द भएपछि आफूहरु शिक्षा पाउने अधिकारबाट वञ्चित भएको अफताब र फरजनले गुनासो गरे ।  दुवै जना कक्षा ७ मा अध्ययनरत थिए । उनीहरुका अनुसार विशेष कक्षामा बस्ने खाने र पढ्ने व्यवस्था थियो ।

शिक्षा मन्त्रालयले दृष्टिबिहीन विद्यार्थीलाई लक्षित गरेर सञ्चालन विशेष कक्षामा ८ जना विद्यार्थीहरु अध्ययन गरिरहेका थिए ।

दुईजना सानो भएकोले कहिलेकाही मात्रै अभिभावकले ल्याएर छोडिदिन्थे । बाँकी ६ जना नियमित विद्यालयमा हुन्थे ।

ब्रेल लिपीबाट अध्यापन गराउन बाराबाट चन्देश्वर महतो नामका शिक्षक पनि नियुक्त गरिएको थियो । ‘शिक्षक नहुँदा शिक्षक छैनन भने शिक्षक आएपछि अहिले पढाई नै बन्द भयो,’ अफताबले भने, ‘हाम्रो पढ्न पाउने अधिकारबाट वञ्चित भयौं । विद्यालय सञ्चालन भए हामीलाई राम्रो हुने थियो ।’

जिल्ला बाहिरको विद्यालयमा पढ्न जानका लागि समस्या हुने तर्क उनको छ । फरजनले पनि विशेष कक्षा सञ्चालन हुनुपर्ने बताए । ‘हामी जस्ता दृष्टिबिहीन साथीहरु जिल्लामा अरुपनि छन् । उनीहरुलाई पनि समेटेर विशेष कक्षालाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘अरु स्कुलमा पढ्दा आउन जान मात्रै नभएर लिपीको पनि समस्या हुन्छ ।’

विद्यालयमा ब्रेल लिपीका पुस्तक लगायत विशेष कक्षाका लागि आवश्यक सबै समान रहेको उनीहरुको भनाइ छ ।

सिद्धार्थ माविका प्रधानाध्यापक राजेश पाण्डेले भने विद्यार्थी नभएकै कारण विशेष कक्षा जेठ १ गतेदेखि बन्द गरिएको जानकारी दिए ।

उनले १४ वटै स्थानीय तहमा पत्राचार गरेर दृष्टिबिहीन विद्यार्थी ल्याइदिन आग्रह गरेको तर कसैले वास्था नगरेपछि बन्द गर्नुपरेको दावी गरे
१२ कक्षामा अध्ययनरत चन्देश्वर महतोलाई अध्यापनका लागि राखेको भए पनि विद्यार्थीले नटेरेका कारण फिर्ता पठाउनुपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment