Comments Add Comment

हाम्रो जीवनशैलीः अल्छे तिघ्रो, स्वादे जिब्रो

एकपटक हाम्रो दैनिकी नियालौं । बिहान उठ्छौ । निद्रा खुल्नसाथ मोवाइलमा हात पुग्छ । फेसबुक, ट्वीटर हेर्छौ । चिया-कफि पिउँछौ । झोंक चले चुरोट तान्छौ । पत्रपत्रिका पढ्छौ । नुहाई-धुवाई गर्छौ । खानपिन गर्छौ । खानामा मुख बार्ने चलन छैन । मिठो छ भने पेट चर्कनेगरी खाइन्छ ।

त्यसपछि कार्यथलो जान्छौ । सकेसम्म एकै ठाउँ बस्न पाए हुन्छ । काम खासगरी शारीरिक काम गर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । बसीबसी अरुलाई काम अह्राउन पाए आनन्द लाग्छ ।

घर फर्केपछि फेरी मोवाइल, टिभी आदिमा समय विताउँछौ । बेलामौकामा मदिरापान गर्छौ । राती आफुखुसी सुत्छौ, जतिबेला निद्रा लाग्छ । मुड चल्यो भने मध्यरातसम्म जागा बस्छौ ।

अब सोच्नुहोस् त,

यस किसिमको जीवनशैलीलाई शरीरले कहिलेसम्म थेग्न सक्छ ? खानामा नियन्त्रण छैन । जथाभावी खाइएको छ । कहिले आवश्यक्ताभन्दा बढी खाइएको छ । कहिले भोकै बसिएको छ । सुत्ने तालिका नियमित छैन । मन लाग्दा चुरोट, चिया, कफी, मदिरा पिइएको छ । स्न्याक्सको नाममा चिल्लो, पिरो, अमिलो खाइएको छ ।

हाम्रो पेट डस्बिन त होइन । तर, हामीले चाहिने, नचाहिने सबैकुरा पेटमा पठाउँछौ । जिब्रोलाई स्वाद लागेपछि पुग्छ । जबकी त्यो खानेकुरा शरीरभित्र पुगेपछि कस्तो प्रतिक्रिया होला ? पाचन यन्त्रले कसरी काम गर्छ होला ? हामी सोच्दैनौ । खान पाए पुग्छ ।

एकातिर खानपानको यस्तो शैली छ । अर्कोतिर ऐश-आरमको जीवन खोज्छौ । शारीरिक श्रम गर्नै नपरे हुन्थ्यो भन्ने सोच्छौ । सानो भन्दा सानो काम गर्न पनि अल्छी मान्छौ । शारीरिक रुपले निस्क्रिय छौ । न व्यायाम गर्छौ, न शारीरिक काम नै ।

अब के होला,

एकातिर निस्क्रिय  जीवन । अर्कोतिर लथालिंग दिनचर्या । यस्तो अवस्थामा हामी निरोगी र तन्दुरुस्त रहन सक्छौ ?

अल्छे हुनु, स्वादे हुनु दुबै रोगलाई निमन्त्रणा गर्नु हो । शरीरलाई रोग भण्डार बनाउनु हो । किनभने जथाभावी खानपानले यसैपनि पाचन यन्त्रलाई बोझ दिइरहेको हुन्छ । त्यसमाथि निस्क्रिय बसियो भने समग्र शरीरमाथि नै अन्याय हुन्छ । शरीरका भित्री अंगहरुको कार्यक्षमता कमजोर हुँदै जान्छ । सबै काम चुस्त र दुरुस्त हुँदैन ।

यसबाट मोटोपनको समस्या सुरु हुन्छ । त्यसपछि मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु थपिदै जान्छ । एकपछि अर्को रोगले शरीरलाई कमजोर, शिथिल र जीर्ण बनाउँदै जान्छ ।

यसो गरौं कि,

तपाईंसँग व्यायाम गर्ने समय छैन । भएर पनि तपाईंले व्यवस्थापन गर्नुभएको छैन । त्यसो हो भने खानपानमा अनुशासित हुन सक्नुहुनेछ । सही र सन्तुलित खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य हुनुपर्छ ।

सकेसम्म सागपात, गेडागुडी, सलाद, फलफूल, जुस, दही, मोहीलाई आफ्नो दैनिक खानपानमा समावेश गरौं । एकै पटकमा भरपेट होइन, बरु पटक-पटक खाने गरौ ।

यी त भए खानपानको कुरा ।

अब आफ्नो कार्यशैलीलाई पनि थोरै बदल्ने प्रयास गरौं । बिहान उठेर मोवाइल खेल्नका साटो यताउता टहल्ने वा घरकै सानोतिनो काम गरौं । खाना पस्कने, जुठो भाँडा वर्तन उठाउने, सफा गर्ने काम आफै गरौं । लुगाफाटो मिलाउने, कोठा सफा गर्ने जस्ता काममा पनि हात बढाऔं । फूल रोप्ने वा सामान्य रुपमा सागसब्जी रोप्ने, गोड्ने, स्यहार्ने काम गरौं ।

कार्यलय एवं कार्यथलोमा कतिपय शारीरिक काम आफै गरौं । छोटो यात्रा गर्नु छ भने पैदल हिँड्ने प्रयास गरौं ।

यसरी थोरै मात्र जीवनशैली परिवर्तन गर्ने हो भने हाम्रो जीवन भद्रगोल हुनेछैन । कम्तीमा खानपान र जीवनशैलीबीच तालमेल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment