Comments Add Comment

पिलर र छड विनै ‘नमूना मुसहर बस्ती’

सीडीओ भन्छन्- आत्तिनुपर्दैन, घर बलियो बन्छ

२७ जेठ, वीरगञ्ज । पछिल्लो समयमा तराई मधेसमा जलवायु परिवर्तनको असर देखा पर्दैछ । दुई दशकदेखि अचानक शीतलहरको सामना गरिरहेको तराई मधेसमा गत चैत १७ गते टोनार्डो आयो । जसले बारा पर्सामा ठूलो धनजनको क्षति पुर्‍यायो । यसले घरलाई अझै सुरक्षित र बलियो बनाउनुपर्ने संकेत गरेको छ । तैपनि तराई मधेसमा अझै चेत खुलेको छैन ।

व्यक्तिगत पैसामा बनाउने घर मात्रै नभएर संसदीय पूर्वाधार कोष र महानगरपालिकाको लगानी भएको ‘नमुना मुसहर बस्ती’ निर्माणमा समेत स्तरीय घर निर्माण हुन सकेको छैन ।

वीरगञ्ज महानगरपालिका वडा न. २२ मनियारीमा निर्माणाधिन नमुना मुसहर बस्तीमा सकेसम्म बलियो घर बनाउनुपर्नेमा त्यसो नगरेको पाइएको छ । ४२ वटा निर्माण गर्ने तयारीका साथ काम शुरु गरिएको भए पनि अहिलेसम्म १४ वटाको हाराहारीमा घर निर्माणाधीन छ ।

स्थानीय सुरेन्द्र माझीको शौचालय सहितको दुई कोठे पक्की घर बन्दैछ । तर घरमा छड र पिलर नहालेका कारण उनलाई यो भन्दा फुसकै ठिक हुन्थ्यो भन्ने लागेको छ । ‘फुसकै घर ठिक हुन्थ्यो, ढल्यो भने पनि खासै क्षति पुग्दैनथ्यो घाउ चोट मात्रै लाग्थ्यो । तर यसमा त इट्टाको पर्खाल छ । कस्तो कस्तो घर त ढलिरहेको छ । पिलर र छड नभएको घर पक्कै बलियो हुँदैन ।’ यसबारेमा सम्बन्धित निकायमा धेरै पटक भनेको भएपनि समस्याको समाधान हुन नसकेको उनको भनाइ छ ।

मनियारीमा घर निर्माणमा खटिएका मिस्त्री वीरगञ्ज ३२ परसवाका सुरज माझी पनि बलियो घर बन्नेमा आशंका गर्छन् । ‘ के भन्नु, घर जस्तो बनाउनु भनेका छन् त्यस्तै बनाएका छौं, कमाएर खाने मान्छे । जसो भन्छन, त्यसै गर्नैपर्छ ।’ उनी भन्छन् ‘बलियो घर बनाउन पिलर लगाउनुपर्छ । यसमा पिलर नै बनाएको छैन, बरु ६ वटा नहाली ४ वटा रड हाले हुन्थ्यो ।’

पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादवको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम र वीरगञ्ज महानगरपालिकाको सयुंक्त लगानीमा मनियारीमा ४२ वटा घर निर्माण गर्न लागिएको छ । १०/१० फिटका २ वटा कोठा र एउटा शौचालय सहितको घरमा पिलर त परेको कुरा एउटा छडसमेत नहाली घर निर्माण भइरहेको छ । स्थानीय सन्तुरियादेवि अरुको घर बनेको देख्दैमा आत्तिन थालिसकेकी छन् । उनले घर बन्दै गरेको हो वा सामुहिक चिहान ठम्याउन नसकेको बताइन् ।

‘हावाहुरीले पक्का घर पनि भत्काइरहेको छ, तर यहाँ बनाउँदै गरेको पक्की घरमा पिलर त परको कुरा एउटा छड पनि हालेको छैन,’ उनले भनिन् ‘घर सुरक्षाका लागि बनाउँदैछन् कि केका लागि ? विना छड, विना पिलरको घर सुरक्षित हुन्छ र ? मार्नका लागि काम भइरहेको छ कि बचाउनका लागि ?’

कमजोर घर, मनको डर

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ९० लाख र वीरगञ्ज महानगरपलिकाको ३० लाख गरी १ करोड २० लाख रुपैयाँ मुसहर बस्ती निर्माणमा खर्च गर्न लागिएको छ । १० प्रतिशत श्रमदान भनिएको छ । तर, स्थानीयले त्यसरी श्रम सहयोग गरेका छैनन् । उपभोक्ता समितिले जसो तसो त्यो रकमको व्यवस्थापन गरिरहेको छ ।

वीरगञ्ज महानगरपालिकाका इन्जिनियर अखलाख सिद्धिकी स्रोत साधन अनुसार घरको डिजाइन बनाइएको बताउँदै तैपनि घर कमसल नबन्ने दाबी गर्छन् । ‘जस्ता लगाउने घरमा पिलर नभए पनि फरक पर्दैन, १० इन्चको वाल छ । भवन कमशल बनेको छैन’ उनले भने ‘३ लाख भित्रै घर बनाउन भनिएको छ, स्रोत साधन जति छ, त्यतिमै बनाउने हो । घरलाई मेन्टेन गर्न सक्यो भने ५० वर्षसम्म टिक्छ । आरसीसी घर बनाउन कम्तिमा १०/१२ लाख चाहिन्छ ।’

यस वर्ष २६ वटा घर बनाउने लक्ष्य राखेर काम शुरु गरिएको भए पनि स्थानीयले जग्गा खाली नगरि दिँदा घर निर्माणमा समस्या भईरहेको उनको भनाई छ ।

आत्तिनुनपर्ने प्रजिअ भट्टराईको भनाइ

सांसद यादवले फागुन १ गते सामुदायिक दलित भवनको शिलान्यास गरेपछि नमुना मुसहर बस्ती निर्माणको काम शुरु गरिएको थियो । त्यसबखत नमूना मुसहर बस्ती भवन निर्माण पछि जगदम्बा सिमेन्टका सञ्चालक राजेश अग्रवालले बस्तीमा स्कुल बनाइदिने आश्वासन दिएका थिए ।

यसैवीच जिल्ला विपद व्यवस्थापन समिति पर्साको संयोजक समेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निर्माणाधीन घरको निरीक्षणसमेत गरेका छन् । उनले विज्ञ इञ्जिनियरले नै घरको नक्सा तयार पारेकाले आत्तिन नपर्ने बताए ।

‘दुई/तीन तला बनाउने र छतको लोड धान्नका लागि मात्रै छड र पिलरको आवश्यकता पर्ने हो, प्रजिअ भट्टराईले भने, ‘जस्ताको छानो हाल्ने भएपछि जस्तालाई हुकले राम्रोसँग बाँधेपछि बलियो नै बन्छ । कति लोड खप्न सक्छ भनेर अध्ययन गरेर नै घर निर्माण कार्यको थालनी गरिएको हो । फूसको घरभन्दा निकै बलियो बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment