 
																			१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा अहिले १५ औं महाधिवशेनबारे आन्तरिक किचलो बढेको छ । २८ असोजबाट सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशन कहिले गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरू आगामी मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा मुखरित भएका छन् । तर, बैठकमा महाधिवेशनको कार्यतालिका भने पेस हुन सकेको छैन ।
नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री गगनकुमार थापा बिहीबारको बैठकमा सहभागी नै भएनन् ।
कांग्रेस संस्थापन पक्षले ललितपुरको धोविघाटमा लगातार दुई दिन समूहको छलफल बोलाएर ‘मंसिरमा महाधिवेशन नगर्ने, चुनावमा केन्द्रित हुने रणनीति’ बनाएको छ ।
संस्थापन पक्षले मंसिरमा महाधिवेशन नगरे विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा महामन्त्री थापा देखिन्छन् । कांग्रेसमा चुलिएको पछिल्लो विवादबारे केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलसँग गरिएको कुराकानी ।
गत भदौमा जेनजी पुस्ताले गरेको आन्दोलनपछिको अवस्थामा नेपाली कांग्रेस खासमा कता जान खोजिरहेको हो ?
अब कांग्रेसमा एउटा भोक चाहिँ यो सुधार गरेर जानुपर्छ भन्नेमा छ । चाहना सबैको त्यस्तो देखिन्छ । किनभने सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आएर बोलेको भाषणदेखि यो जेनजी आन्दोलनभन्दा अगाडि डा. शेखर कोइरालाका मन्तव्य, वक्तव्यहरू र दुवै महामन्त्रीहरू हेर्दा जेनजीको ‘मुभमेन्ट’ लाई, जेनजीका एजेन्डालाई पार्टीले ‘सिरियस’रूपमा लिएको देखिन्छ ।
तर, त्यसलाई संस्थागत रूपमा निर्णय गर्नलाई भने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट अलि ढिलो–ढालो भइराखेको छ ।
केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । एक थरीले विशेष अधिवेशनको माग गरेर हस्ताक्षर पार्टीमा बुझाउनुभएको छ । एकथरी नेताहरू नियमित अधिवेशन गर्नुपर्छ पनि भनिराख्नु भएको छ । संस्थापन पक्षका नेताहरू चुनावको तयारी गर्नुपर्ने भएकाले वैशाखमा अधिवेशन गर्ने भनिरहनुभएको छ । कसरी निष्कर्षमा पुगिन्छ ?
हैन, त्यस्तो छैन । अहिले त्यो हस्ताक्षर गर्नेहरूको पनि पहिलो माग नियमित महाधिवेशन नै छ । यदि नियमित नभए बल्ल विशेषमा जाने भनेको छ । र त्यहाँ केन्द्रीय कमिटीमा बोल्ने संस्थापन पक्षका धेरै मान्छेहरूले पनि नियमितमै जोड दिनुभएको छ ।
यसरी हेर्दाखेरि तपाईंले समग्र मान्छेको बोलेको हेर्नुहुन्छ भने सबैको मत अहिले बिस्तारै नियमित महाधिवेशनतिर गइरहेको छ । जुन दुई वर्ष अगाडिदेखि शेखर कोइरालाले जुन दबाब दिनु भएको थियो, त्यही लाइनमा गएको छ ।
अब एक–दुई जना नेताले आफ्नो व्यक्तिगत विचार राख्नुभएको छ । उहाँहरूको पनि ‘जस्टिफिकेसन’ छ । अहिले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी वडादेखि नै तीन गुट, चार गुट हुन्छ, अहिले निर्वाचन (अधिवेशन) गरेर गयो भने निर्वाचन (संसदीय) मा फेरि हराउँछन् भन्ने उहाँहरुको आफ्नै तर्क छ ।
तर, धेरै मान्छेहरूले वडादेखि माथिसम्मै नयाँ नेतृत्व लिएर जानुपर्छ, अहिलेको परिवर्तित सन्दर्भमा र वडादेखि माथिसम्म निर्वाचन गर्दा, क्रियाशील सदस्यता बाँड्दा नयाँ पुस्तालाई बाँड्यो भने उनीहरूले पनि प्रतिस्पर्धी भएर यो पार्टीको संरचनामा समावेश भएर आफ्ना एजेन्डाहरू ल्याउन सक्छन् भन्ने धारणा राखेर नियमित महाधिवेशन नै हुनुपर्छ भन्ने धेरैहरूको जोड छ ।
तर, विशेष महाधिवेशन भनेको नियमित महाधिवेशन नगरेर सार्यो भनेमात्रै गर्ने भनिएको हो । हस्ताक्षरकर्ताहरूको माग त्यो हो । त्यसैले मेरो विचारमा पार्टी भित्र एजेन्डा स्थापित हुनुपर्छ, जेनजीको ‘डिमान्ड’लाई सम्बोधन गर्नुपर्छ भन्ने चाहना एक–दुई जना नेताबाहेक सबैको छ । जुन तपाईंहरूले ‘पब्लिक स्टेटमेन्ट’ मा पनि हेर्न सक्नुहुन्छ ।
अब कसैले अहिले गर्ने, कसैले पछि गर्ने पनि भन्छन् उनीहरू । त्यसकारण अब यसमा संस्थागत निर्णय हुन ढिलाइ भइरहेको छ । किनभने पार्टीमा छलफल भइरहेको छ, विचारहरू आइराखेका छन् ।
नेपाली कांग्रेसको नियमित अधिवेशन कहिलेसम्म गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ यहाँहरूलाई ?
सबैको अब मंसिर मसान्त म्याद हो । तर,प्रक्रियामा जाँदै गर्दा एक–डेढ हप्ता ढिलो हुनसक्छ । हिजो (बिहीबार) मात्रै विश्वप्रकाशजी (महामन्त्री विश्वप्रकाश शर्मा) ले पनि पुस १६ देखि केन्द्रीय महाधिवेशन गरौँ भन्नुभयो ।
यसरी हेर्दाखेरि अब मंसिर मसान्तमा होइन कि पुस मसान्तभन्दा अघि महाधिवेशन गरियो भने भने हामी निर्वाचनमा भाग लिन पनि सक्छौँ, नयाँ नेतृत्व पनि आउँछ वडादेखि केन्द्रसम्म भन्ने छ । धेरैको अलिकति लचकता चाहिँ १० देखि १५ दिनले के फरक छ र भन्ने किसिमले गइराखेको छ ।
संस्थापन पक्षका कतिपय नेताहरू वैशाखमा अधिवेशन गर्ने भनेर बोलिराख्नु भएको छ । उहाँहरूले केन्द्रीय कार्यसमितिबाट बहुमतको आधारमा निर्णय गराउन खोज्नुभयो भने तपाईंहरूको विचार समूहको ‘स्ट्यान्ड’ ? कता उभिनु हुन्छ तपाईंहरू ?
मलाई जहाँसम्म लाग्छ त्यस्तो अवस्था आउँदैन । महाधिवेशनको प्रक्रिया उहाँहरूले मंसिरमै सुरु गर्नुहुन्छ । दुईटा कुरा हुन्छ, एकथरिले यसलाई टुङ्ग्याउँछ भन्ने एकथरिले पछि लैजाने भन्ने गर्लान्, मेरो अनुमानमा । तर, यसलाई पुस भित्रै टुंग्याउनु पर्छ भन्ने बहुमत हुन्छ ।
कथम् कदाचित पुसमा महाधिवेशन गर्ने कुरो टुङ्गिएन भने विशेष महाधिवेशन पक्षधरले भेला बोलाउँछन् । भेलाबाट कांग्रेस पार्टी फुट्न सक्छ भन्ने अनुमानहरू पनि त भइरहेको छ नि ?
कांग्रेसमा अहिले विशेषगरी देवराज चालिसे, गुरू घिमिरे, भरत खड्का, जनकराज गिरीलगायतको टोलीले विशेष महाधिवेशनको आह्वान गर्नुभएको छ । र एउटा बाहिर भ्रम पनि छ, यो विशेष महाधिवेशनको आह्वान गर्ने महाधिवेशन प्रतिनिधिहरूको अधिकार हो ।
यो विशेष महाधिवेशन बोलाउनु भनेकै केन्द्रीय समितिका केन्द्रीय सदस्य हामीहरू र केन्द्रीय पदाधिकारीहरूप्रतिको अविश्वास हो । केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूले काम गर्न सकेनन् भन्ने हो । त्यसकारणले पार्टी विधानको धारा १७ (२) महाधिवेशन प्रतिनिधिको विशुद्ध अधिकार हो ।
यसमा केन्द्रीय सदस्य अथवा पदाधिकारी कसैको भूमिका हुँदैन प्रत्यक्ष रुपमा । त्यहाँ जानलाई हामीले राजीनामा दिनुपर्छ । राजीनामा गरेर हस्ताक्षर ‘क्याम्पेन’ मा जानुपर्छ ।
त्यसकारण विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गर्नु भनेको हामीप्रतिको अविश्वास हो । उहाँहरूले आफ्नो अधिकार संस्थागत रूपमा, विधिगत रूपमा, प्रक्रियागतमा ल्याउनु भएको छ । त्यसलाई पार्टीले नजरअन्दाज गर्न सक्दैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4