Comments Add Comment

गत वर्ष विज्ञको बजेट, अहिले राजनीतिज्ञको बजेट : सुरेन्द्र पाण्डे

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले अर्थमन्त्री युवराज खतिवडाले गतवर्ष विज्ञको रुपमा र यसवर्ष राजनीतिज्ञको रुपमा बजेट ल्याएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले भने, ‘गतवर्ष सफल अर्थ विज्ञको रुपमा बजेट आएको थियो । यो वर्ष राजनीतिज्ञको रुपमा बजेट ल्याउनुभएको छ । यसका लागि म शुभकामना दिन चाहन्छु ।’

गतवर्ष सत्तारुढ दलका सांसदहरुले नै बजेटप्रति असन्तुष्टी जनाएको उल्लेख गर्दै उनले थपे, ‘गत वर्ष बाटोमा, सदनमा सत्तापक्षका माननीयहरुले यो अर्थमन्त्रीले डुबायो भनेर रोदन गर्नुहुन्थ्यो । यो वर्ष तछाडमछाड गरेर एकदम राम्रो गराउनु भयो भनेर प्रशंसा गरिरहनुभएको छ । यसबर्ष सत्तापक्षको मन जित्न सक्नुभएछ ।’

बजेटले सबै पक्षलाई सन्तुष्ट पार्ने कोसीस गरेको तर, कार्यान्वयन हुनेमा सांसद पाण्डेको आशंका छ । ‘यो बजेट पुरा कार्यानवयन हुन सक्दैन । गत वर्ष बिचैमा परिमार्जज गरियो यो वर्ष पनि त्यो अवस्था आउँछ’, पाण्डे भन्छन्, ‘यही बजेटले आर्थिक समृद्धि आउँछ कि आउँदैन ? यो पनि सोच्नुपर्ने भएको छ ।’

बजेट कार्यान्वयन गर्नका लागि सरकारलाई प्रशासनिक क्षमता बढाउन उनको सुझाव छ । ‘हामीले प्रशासनिक क्षमता बढाउन सकिरहेका छैनौं । प्रावधिक पक्ष पनि दोषी छ । यसलाई सुधार गर्नुपर्ने मैले देखेको छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment