+
+
Shares

कसरी नष्ट हुन्छ मान्छेको दुःख  ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते ९:३५

तपाईं दुःखी हुनुहुन्न ? तपाईंसँग दुःख छैन ? तपाईंको कष्ट छैन ? तपाईं समस्याले घेरिनुभएको छैन ? सांसरिक जीवनमा हामीसँग अथाह दुःख छ । पिर छ । समस्या छ । कष्ट छ ।

हामी हरक्षण कामना गर्छौ, प्रयास गर्छौ, ‘मेरा दुःख सकियोस् ।’ भगवानसँग पुकारा गर्छौ, ‘मेरो दुःख नष्ट गरिदेउ ।’ आफुले मानेको, बुझेका, हुनेखानेसँग हामी याचना गर्छौ, ‘मेरो दुःख टारिदेउ ।’

दुःख कसरी नष्ट हुन्छ ?

खासमा हामीले दुःखलाई जति जटिल सम्झिएका छौ, त्यती जटिल भने छैन । हामीले दुःखलाई अन्त्यहिन सम्झेका छौ, त्यसो पनि होइन । हाम्रा जीवनमा आइलाग्ने यी सारा समस्या, दुःखहरु अस्थायी हुन् । यी हाम्रै कारण आउँछन् र जान्छन् । हामीलाई न भगवानले न, धनाड्यले, न विद्वानले दुःखबाट पार लगाइदिनसक्छ । यसका लागि त हामी स्वयम् जागरुक हुनुपर्छ । हामी स्वयम् प्रयत्नसिल हुनुपर्छ । किनभने आफ्नो जीवनबाट दुःखलाई लखेट्ने काम हामी आफै गर्न सक्षम छौ ।

श्रीमदभागवत गीतामा यस्तो लेखिएको छ, ‘नियमित आहार विहार गर्ने, कर्मको नियमित प्रयास गर्ने, नियमित सुत्ने, नियमित जाग्ने, व्यक्ति अनुशासनमा हुन्छ । उसका सबै दुःख नाश हुन्छन् ।’

मनलाई जितेर हेर

हामी दुःखी यसकारण छौ कि, हामीले मनलाई आफ्नो जीवनको सिंहासनमा राखेका छौ । मनले जे भन्छ, हामी त्यही गर्छौ । मनको आदेश चुपचाप शिरोपर गर्छाै । जबसम्म हामी मनलाई जित्न सक्दैनौ, तबसम्म हामी दुःखकै भूँमरीमा फसिरहन्छौ ।

भनिन्छ, जसले मनलाई जितेको छ, निसन्देह मन उनको मित्र हो । जसले आफ्नो मनलाई जितेको छैन, उसको मनले सत्रुले झै दुःख दिइरहन्छ ।

जब हामी मनमाथि लगाम कस्छौ, तब हामी स्वस्थ्य र सन्तुलित जीवनशैलीमा प्रवेश गर्न सक्छौ । खानामा, हिँडडुलमा, सोंच-चिन्तनमा हामी अनुशासित हुन्छौ । यी सबै कर्म विवेकपूर्ण ढंगले गरिन्छ । तब हामी दुःखबाट पार पाउँछौ ।

श्रीमदभागवत गीतामा भनिएको छ, ‘जसले मनद्वारा आन्तरिक रुपमा सबै कर्मको त्याग गरेको छ र प्रकृतिलाई आफ्नो वशमा पारेको छ, यस्तो व्यक्ति कुनै कर्म नगरी र कुनै कर्म नगराई सुखपूर्वक बाँच्छ ।’

इष्या  र दम्भ

अरुको प्रगतिमा हामी उमंगित हुनुपर्ने हो, तर हामी दुःखी हुन्छौ । दुःखी यसकारण हुन्छौ कि आफुभन्दा उसले बढी उन्नती गर्‍यो । आफुसँग दाँजेर नै हामीले अरुको उन्नती, दुर्गतीलाई नियाल्छौ । आफैलाई दुःखी बनाउने अर्को कारण यो पनि हो ।

जब तपाईं मनबाट इष्र्या भन्ने भाव त्याग्नुहुन्छ, तपाईंको एउटा दुःख किनारा लाग्छ । तपाईंको एउटा जलन किनारा लाग्छ ।

यसैगरी हामीलाई आफुभित्रको दम्भले निकै सताउँछ । दम्भ यस्तो विकार हो, जसले हाम्रा सद्गुणलाई छायाँमा पारिदिन्छ । दम्भले हामीलाई उग्र र कठोर बनाउँछ । यो पनि दुःखको अर्को कारण हो ।

हामी धेरै कारणले दुःखी छौ । अरुले जस्तो पैसा नकमाएकोमा दुःखी छौ । अरुले जस्तो नाम नकमाएको दुःखी छौ । अरुले जस्तो बैभव आर्जन नगरेकोमा दुःखी छौ । यी दुःखको स्रोत हामी भित्रबाटै उब्जिएको हो । हामीभित्रको विकार नै दुःखको भकारी हो । इष्र्या, मोह, अहंकार, वासना, ढोंग । यी सबै दुःख उब्जाउने विकार हुन् ।

दुःखबाट छुटकारा

हामीभित्रको विकारलाई पखालेपछि हाम्रो धेरै दुःख नष्ट हुन्छ । त्यससँगै उचित आहार, उचित विहार र उचित विचारले हामीलाई दुःखबाट छुटकारा दिन्छ ।

जे कुरा शरीरलाई चाहिने हो, त्यही खानुपर्छ । दिनचर्या सन्तुलित हुनुपर्छ । सोंच-चिन्तन सकारात्मक हुनुपर्छ । जीवनप्रति आशावादी हुनुपर्छ ।

सही समयमा, सही ढंगले गरिने सही कामले पनि दुःख नष्ट गर्छ ।

सत्कर्म सबैभन्दा ठूलो शक्ति हो । यसले दुःख, कष्टलाई जीवनको नजिक आउन दिदैन । कर्मले नै मान्छेलाई श्रेष्ठ बनाउँछ । कर्म हरेक समस्याको हल पनि हो । कर्मठ एवं कर्मयोगीहरु कहिल्यै दुःखी हुनुपर्दैन । उनीहरु दुःखलाई छिचोलेर एक तह माथि पुगिसकेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?