Comments Add Comment

मानव अधिकार आयोगले भन्यो– गुठी समस्याको समाधान वार्ताबाट खोज

३० जेठ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा देखिएको असन्तुष्टिको समाधान वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ ।

गुठीसम्बन्धी विधेयकलाई लिएर संघर्षमा उत्रिएकाहरुलाई सरकारले बल प्रयोग गरेपछि आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादमार्फत असन्तुष्टि हल गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका निर्देशक डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । घाइतेको स्वास्थ्य उपचार गर्न र दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता गर्न पनि आयोगले सरकारसँग माग गरेको छ ।

सरकारले सङ्घीय संसद्मा दर्ता गराएको गुठीसम्बन्धीे विधेयक खारेजीको माग गर्दै जेठ २६ गते गुठीयारले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी घाइते भएका थिए ।

साथै आयोगले विरोधका कार्यक्रम संयमित भएर सञ्चालन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ ।

सांस्कृतिक अधिकार मानवअधिकारकै अभिन्न अङ्ग भएको स्मरण गराउँदै आयोगले परम्परादेखि चलिआएको विभिन्न वर्ग तथा समूहका मानवहरुको संस्कृति लोप हुने अवस्था आउन नदिनेतर्फ संवेदनशील हुन सरकारलाई सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment