Comments Add Comment

खेलकुदमन्त्रीको प्रश्न – खेल संघको नेतृत्वमा एउटै ब्यक्ति ३०-४० वर्ष रहिरहने ?

३० जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल संघहरुमा लामो समयदेखि एकै ब्यक्तिले नेतृत्व गर्ने प्रवृति रहेको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् ।

बिहीवार संसदको विधायन व्यवस्थापन समिति उनले भने, ‘एकै ब्यक्तिले ३०औं, ४०औं वर्षसम्म नेतृत्व गरिराख्ने हुनुहुन्न । यसलाई रोक्नुपर्छ । यो अहिलेको आवश्यकता हो ।’

तर, मन्त्री बिश्वकर्माले कुन संघमा कसले कति समयदेखि नेतृत्व गरिरहेका छन भन्ने संसदहरुको प्रश्नको भने जवाफ दिएनन । ‘कुन संघमा को कति वर्षदेखि नेतृत्वमा छन भन्ने तिर नलागौं । यसतर्फ गयौं भने ब्यक्ति हेरेर हामी प्रभावित हुने वा गराउने प्रयत्न हुन सक्छ ।’ मन्त्री विश्वकर्माले भने ।

सरकारले ल्याएको राष्ट्रिय खेलकुद विकास बिधेयक ०७५ मा खेल संघमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने प्राबधान राखिएको छ । ‘दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने प्राबधान’ ऐन लागू भएपछि गणना गर्ने कि यसअघिको कार्यकाललाई पनि गणना गर्ने भन्नेमा सांसदहरु एकमत छैनन ।

यसमा मन्त्री बिश्वकर्माले हाल नेतृत्वमा रहेकाहरुको हकमा समेत लागू हुने गरी ‘दुई कार्यकाल नेतृत्व गरेपछि तेस्रो कार्यकालका लागि निर्वाचित हुन नपाउने’ भन्ने प्राबाधन राखेर जान सकिने बताए ।

विधेयकमा रहेको खेल संघ दर्ता, खेल संघको स्वायत्तता लगायतका विषयमा पनि समिति टुंगोमा पुग्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद संघ दर्ता शाखाका अनुसार नेपालमा १८५ वटा खेल संघ दर्ता रहेका छन् ।

यो विधेयकका प्राबधानका सन्दर्भमा समितिले विभिन्न सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो । छलफलका क्रममा सरोकारवालाहरु र सांसदहरुबाट आएका सुझावलाई समेटेर खेल संघ दर्ता र खेल संघको स्वायत्तता लगायतका प्राबधानलाई परिमार्जनसहित ल्याउन समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई निर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment